व्यवसायी खुमाप्रसाद अर्यालको दुई कम्पनीले गरे ९ महिनामा पौने २ अर्ब रुपैयाँ व्यापार

231
Shares

काठमाडौं । व्यवसायी खुमाप्रसाद अर्यालको दुई कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पौने २ अर्ब रुपैयाँ व्यापार गरेका छन् ।

अर्यालको लर्ड बुद्ध एजुकेशनल एकेडेमी र सन्जिवनी कलेज अफ मेडिकल साइन्सले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँ व्यापार गरेका छन् ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमीले चालु आवको ९ महिनाको अवधिमा १ अर्ब १५ करोड ६० लाख रुपैयाँ र सन्जिवनी कलेज अफ मेडिकल साइन्सले ६९ करोड ८० लाख रुपैयाँको व्यापार गरेका छन् ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी

सन् १९९६ मा डाक्टरहरूको समूहद्वारा स्थापित लर्ड बुद्ध एजुकेशनल एकेडेमीले मेडिकल सम्बन्धी शैक्षिक सेवा अर्थात् मेडिकल साइन्स र स्वास्थ्य सेवा दिँदै आएको छ ।

एकेडेमीले सन् १९९७ देखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याई व्यावसायिक यात्रा सुरू गरेको कम्पनीले गत आवमा २ अर्ब १ करोड २० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ८१ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ४० करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।

एकेडेमीको व्यापार गत आवमा मेडिकल कलेजबाट भएको जनाएको छ । चालु आवको ९ महिनाको अवधिमा हस्पिटलको अकुपेन्सी अनुपात ५०–५५ प्रतिशत रहेको छ । एकेडेमीले गत आवमा १५ प्रतिशत सञ्चालन मार्जिन गरेको थियो । सन् २०२४ मा ९ प्रतिशत गरेको थियो ।

एकेडेमीले कोहलपुरको हस्पिटल ५ सय शय्या क्षमतामा सञ्चालन गर्दै आएको छ । चालु आवको ९ महिनाको अवधिमा गरेको व्यापारमध्ये ३५ प्रतिशत हस्पिटलबाट र ३४ प्रतिशत मेडिकल कलेजबाट गरेका छन् । बाँकी आम्दानी फार्मेसी र अन्य सेवा दिएवापत भएको उल्लेख छ ।

कम्पनीको गियरिङ अनुपात गत आवमा ०.४६ गुणा रहेको छ । कम्पनीको गत आवमा ब्याज कभरेज अनुपात ७.५८ गुणा थियो । चालु आवको ९ महिनाको अवधिमा ब्याज कभरेज अनुपात १७.८७ गुणा पुगेको छ । कर्जा सेवा कभरेज सूचकमा सुधार हुनुमा सञ्चालन नाफा र कम ब्याजदरका कारण भएको उल्लेख छ । कम्पनीको गत आवमा कुल नगद सञ्चिती ४.४० गुणा थियो ।

एकेडेमीले कोहलपुरमा शिक्षण अस्पताल सञ्चालन गरिरहेको छ । नेपालगञ्जको सम्पत्ति सहायक कम्पनी सन्जिवनी कलेज अफ मेडिकल साइन्स प्रालिलाई बिक्री गरेको छ । हाल सहायक कम्पनीमार्फत् कारोबार गर्दै आएको छ । खुमाप्रसाद अर्याल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।

सन्जिवनी कलेज अफ मेडिकल साइन्स प्रालि

सन् २०२४ मा लर्ड बुद्ध एजुकेशनल एकेडेमीबाट सम्पत्ति हस्तान्तरण गरेको यो कम्पनीले गत आवमा २१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले ३ सय १७ वटा शय्याको हस्पिटल निर्माण गरेको छ । कम्पनीले बीएससी नर्सिङ, बीएन र बीपीएच अध्ययनका लागि पूर्वाञ्चल विश्वविद्यालय र सीटीईभीटीबाट अनुमति पाइसकेको छ ।

कम्पनी नेपालगञ्ज हस्पिटल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालिसँग सन् २०२४ को जुलाईमा मर्ज भएको थियो । चालु आवको ९ महिनाको अवधिमा १८.१९ प्रतिशत नाफा मार्जिन रहेको यो कम्पनीको पुँजी संरचना मध्यम स्तरमा रहेको छ ।

चालु आवको ९ महिनाको अवधिमा कम्पनीको समग्र गियरिङ अनुपात १.४९ गुणा रहेको छ । कम्पनीको ब्याज कभरेज अनुपात ४.९० गुणा रहेको छ । गत आवमा ९.३६ गुणा थियो । कम्पनीको कुल नगद सञ्चिती सुधार भई ४.४० गुणा रहेको छ । गत आवमा ७.०२ गुणा थियो । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६८ करोड रुपैयाँको रेटिङ गराएको छ ।