शिवम् सिमेन्टको अध्यक्ष हुँदा सुरेन्द्र गोयलसहित ४ जनाले गरे ६३ करोडको गैरकानुनी सेयर कारोबार



काठमाडौं । शिवम् सिमेन्टको अध्यक्ष पदमा रहँदा सुरेन्द्रकुमार गोयलसहित उनको परिवारका ४ जनाले धितोपत्र ऐनविपरीत करोडौं मूल्यको सेयर कारोबार गरेको पाइएको छ । उत्पादनमूलक र सेवामूलक उद्योग (रियल सेक्टर)लाई सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लगाएर पुँजी बजारको विकास गर्ने सरकारको नीतिलाई नै असफल बनाउने गरी शिवम् सिमेन्टमा गैरकानुनी सेयर कारोबार भएको तथ्य फेला परेको हो ।

गोयल स्थापना कालदेखि नै कम्पनीका कार्यकारी अध्यक्ष थिए । गोयल आफू अध्यक्ष भएको समयमा २७ लाख ४३ हजार ९ सय कित्ता सेयर कानुनविपरीत परिवारका सदस्यका नाममा नामसारी गरी बिक्री गरेको प्रमाण क्लिकमान्डुलाई प्राप्त भएको छ । प्राप्त प्रमाणका आधारमा घटनाको विश्लेषण गर्दा निकै ठूलो वित्तीय अपराध भएको देखिन्छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्वले अपराध भएको देख्दादेख्दै पनि मौनता साँधिरहँदा गोयल परिवारलाई अहिलेसम्म कुनै पनि कारबाही हुन सकेको छैन ।

कम्पनीको अध्यक्ष भएको समयमा सुरेन्द्र गोयलसँग ४६ लाख ४६ हजार ४ सय कित्ता सेयर थियो । उनले २७ लाख ४३ हजार ९ सय कित्ता सेयर परिवारका सदस्यमा नामसारी गरेपछि अहिले उनीसँग १९ लाख ९ हजार ५ सय कित्ता सेयर बाँकी छ ।

गोयल अध्यक्ष रहेका बेला २०७८ चैत २३ गते जेठो दाजु विश्वनाथ गोयलका नाममा अंशवण्डामार्फत २४ लाख २८ हजार ९ सय कित्ता र सोही दिन अनिता गोयलका नाममा ३ लाख १५ हजार कित्ता नामसारी भएको छ ।

सुरेन्द्रले अनिता र विश्वनाथलाई नामसारी गरेको सेयर उनीहरुले बिक्री गरेका छैनन् । अहिले पनि अनितासँग सुरेन्द्रले नामसारी गरेर दिएको सेयर ३ लाख १५ हजार कित्ता र विश्वनाथलाई दिएको २४ लाख २८ हजार ९ सय कित्ता सेयर बाँकी नै छ ।

उनीहरुले नामसारी भएर आएको सेयर बिक्री नगरेको भए पनि अनिता र विश्वनाथले आफूसँग भएको सेयर सुरेन्द्र अध्यक्ष भएको समयमै बिक्री गरेका छन् ।

यस्तो छ कारोबारको जालो

सुरेन्द्रले आफू अध्यक्ष भएको समयमा उनको एकाघरका परिवारको सदस्य भित्रकी (दाजु स्वर्गीय अशोककुमार गोयलकी श्रीमती अर्थात सुरेन्द्रकी भाउजू) अनिता गोयलले २०७६ वैशाख ३० गते आफूसँग भएको ५ हजार ६४० कित्ता सेयर प्रतिकित्ता ४८७ देखि ४९४ रुपैयाँका दरले २७ लाख ६१ हजार ५९० रुपैयाँमा बिक्री गरेको पाइएको छ । उनले उक्त ५ हजार ६४० कित्ता सेयर २०७५ चैत ५ गते प्राथमिक सेयरमार्फत पाएकी हुन् ।

यस्तै अनिता गोयलले २०७८ चैत २९ गतेदेखि २०७९ साउन १७ गतेसम्म प्रतिकित्ता ६९० रुपैयाँदेखि १ हजार ११ रुपैयाँसम्म ४ लाख ७२ हजार ९९५ कित्ता सेयर ३९ करोड १२ लाख ४४ हजार २७७ रुपैयाँमा बिक्री गरेको पाइएको छ ।

अनिताले २०७९ वैशाख २२ गते प्रतिकित्ता ८४६ रुपैयाँदेखि ८५१ रुपैयाँका दरले ४ हजार कित्ता सेयर ३३ लाख ९४ हजार २ सय कित्ता सेयर खरिद गरेको पाइएको छ । उनले यो अवधिमा अधिकतम ८५१ रुपैयाँमा सेयर किनेर अधिकतम मूल्य १ हजार ११ रुपैयाँमा समेत बिक्री गरेको पाइएको छ ।

यस्तै, सुरेन्द्र गोयलकी श्रीमती पुनम गोयलबाट पनि २०७८ चैत २३ गते १९ लाख ४५ हजार २ यस कित्ता सेयर अनिता गोयलको नाममा नामसारी भएको छ । सोही दिन प्रकाश गोयलको नाममा पनि नामसारी भएको छ ।

विश्वनाथ गोयलले पनि २०७६ वैशाख २९ गते ५ हजार ६४० कित्ता सेयर प्रतिकित्ता ४५० देखि ४५२ रुपैयाँका दरले २५ लाख ४३ हजार २८० रुपैयाँमा बिक्री गरेको पाइएको छ । उनले उक्त ५ हजार ६४० कित्ता सेयर २०७५ चैत ५ गते प्राथमिक सेयरमार्फत प्राप्त गरेका हुन् ।

यस्तै उनले २०७८ जेठ २० गतेदेखि २०७८ पुस २९ गतेसम्म २ हजार ५९० कित्ता सेयर प्रतिकित्ता १ हजार ५ सयदेखि १ हजार ७९९ रुपैयाँका दरले ४१ लाख ३८ हजार ३२० रुपैयाँमा बिक्री गरेका छन् । उनले यो अवधिमा आफूसँग भएको सेयर बिक्रीमात्रै गरेका छैनन्, किनेका पनि छन् ।

विश्वनाथले २०७७ माघ २२ देखि २०७८ असोज १९ सम्म २ हजार ५९० कित्ता सेयर प्रतिकित्ता १ हजार ३८० देखि १ हजार ६४० रुपैयाँसम्म ४० लाख २२ हजार ५७५ रुपैयाँमा खरिद गरेका थिए । उनले अधिकतम १ हजार ६४० रुपैयाँसम्म किनेको सेयर १ हजार ७९९ रुपैयाँसम्म बिक्री गरेका छन् ।

यस्तै सुरेन्द्रकुमार गोयलकी श्रीमती पुनम गोयलबाट पनि २०७८ चैत २३ गते २३ लाख १४ हजार कित्ता सेयर प्रकाश गोयलको नाममा नामसारी भएको छ ।

प्रकाशले २०७५ चैत ५ गते प्राथमिक सेयरमार्फत ५ हजार ६४० कित्ता सेयर पाएका छन् । उनले उक्त सेयर प्रतिकित्ता २०७६ जेठ २ गते प्रतिकित्ता ५४० देखि ५४४ रुपैयाँसम्म बिक्री गरेको पाइएको छ । उक्त सेयर ३० लाख ६१ हजार ६०० रुपैयाँमा बिक्री भएको पाइएको छ ।

प्रकाशले २०७९ साउन १८ देखि मंसिर १९ सम्म प्रतिकित्ता ५८८ देखि ८३० रुपैयाँका दरले ३ लाख ३१ हजार ५ कित्ता सेयर २२ करोड ३१ लाख ४३ हजार ९१९ रुपैयाँमा बिक्री गरेका थिए ।

विश्वनाथकी श्रीमती शशी गोयलले २०७६ वैशाख ३० गते ५ हजार ६४० कित्ता सेयर प्रतिकित्ता ४९३ देखि ४९५ रुपैयाँका दरले २७ लाख ८५ हजार ८ सय रुपैयाँमा बिक्री गरेको पाइएको छ । २०७६ वैशाख २९ देखि २०७९ मंसिर १९ सम्म विश्वनाथ र उनकी श्रीमती शशी, अनिता गोयल र भाइ प्रकाश गोयलले ८ लाख २९ हजार १५० कित्ता सेयर ६२ करोड ९६ लाख ७८ हजार ७८७ रुपैयाँमा बिक्री गरेका छन् ।

यस्तै विश्वनाथ र अनिता गोयलले २०७७ माघ २२ देखि २०७९ वैशाख २२ सम्म ६ हजार ५९० कित्ता सेयर ७४ लाख १६ हजार ७७५ रुपैयाँमा खरिद गरेको पाइएको छ । यो अवधिमा ६३ करोड ७० लाख ९५ हजार ५६२ रुपैयाँको सेयर किनबेच भएको छ । त्यसबेला सुरेन्द्र गोयल कम्पनीको कार्यकारी अध्यक्ष थिए ।

कम्पनीले २०७८ असोज २४ गते २९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । यस्तै २०७७ मा २४.२१ र २०७६ मा १५.७८ प्रतिशत नगद लाभांश दिएको थियो । यो लाभांश करसहितको हो ।

कम्पनीका अध्यक्ष आफैँले आफ्नो नाममा भएको सेयर एकाघरका परिवारको सदस्यको नाममा नामसारी गर्दै बिक्री गर्न थालेपछि २०७९ मसिंर २७ गते धितोपत्र बोर्डमा शिवम् सिमेन्टका सञ्चालकहरुले सेयर बिक्री गरेकाले त्यसको छानविन गरिपाऊँ भन्दै उजुरीसमेत परेको थियो ।

उजुरी परेपछि अध्यक्ष सुरेन्द्र गोयल २०७९ पुस २९ गते कम्पनीको सातौं साधारण सभापछि कार्यकारी अध्यक्ष छोड्न बाध्य भए । उक्त सभाले निर्वाचन गरेर गौरव गोयललाई अध्यक्षको जिम्मेवारी दिइएको छ । तर, गौरव गोयल विश्वनाथका छोरा अर्थात् तत्कालीन अध्यक्ष सुरेन्द्र गोयलका भतिज हुन् ।

सुरेन्द्रले नामसारी गरेर दिएको सेयर एकाघरका परिवारका सदस्यले बिक्री गरेपछि उनले कम्पनीको अध्यक्ष छोड्नुपरेको हो । यस विषयमा धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ । बोर्डको प्रारम्भिक अनुसन्धानमा शिवम् सिमेन्टमा सुरेन्द्र गोयलसहित उनको परिवारका ४ जनाले गरेको सेयरको नामसारी र किनबेच गैरकानुनी भएको निष्कर्ष निकाल्दै कारबाही गर्न सिफारिस गरिएको छ ।

कानुनमा कुनै पनि व्यक्तिले पदमा रहँदा गरेको कसुरबाट पद छाड्दैमा उन्मुक्ति नमिल्ने स्पष्ट व्यवस्था छ ।

यसरी भयो गैरकानुनी कारोबार

‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को दफा २२ को १ (क)मा आयोजना प्रभावित, कर्मचारी वा संस्थापकको रुपमा वा अन्य कुनै प्रकारबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपूर्व संगठित संस्थाको सेयर प्राप्त गरेको सेयरधनी र (ख)मा संस्थापक सेयरधनीका एकाघरको सदस्यले दरखास्त दिन नपाउने व्यवस्था’ छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ४६ को उपनियम ८ मा धितोपत्र खरिदका लागि कसैले अनधिकृत तवरबाट आवेदन दिएको पाइएमा वा झुटा विवरण पेस गरेको पाइएमा निष्कासन तथा बिक्री प्रबन्धकले त्यस्तो आवेदन रद्द गरी सो आवेदनबापतको रकम जफत गरी बोर्डले तोकेको खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यसरी जम्मा भएको रकम बोर्डले पुँजी बजारको विकास एवं प्रवर्धन गर्ने कार्यमा मात्र प्रयोग गर्नुपर्छ । यो व्यवस्थाविपरीत सेयर बिक्री भएको छ ।

बोर्डले यो व्यवस्था कार्यान्वयन गर्न आँट गर्ने हो भने विश्वनाथ, शशी, अनिता र प्रकाशले प्रारम्भिक सार्वजनिक निष्कासनबाट पाएको सेयरको १ करोड ११ लाख ५२ हजार २७० रुपैयाँ पुँजी बजारको विकास एवं प्रवर्धन गर्ने कार्यमा मात्र प्रयोग गर्न सक्ने छ । तीन जनाले प्राथमिक सार्वजनिक निष्कासनमार्फत सेयर प्राप्त गरेको देखिएको छ । उनीहरुले ५ हजार ६४० कित्ताका दरले सेयर पाएका छन् ।

सुरेन्द्र गोयल अध्यक्ष रहेको समयमा जेठो दाजु विश्वनाथ र भाउजू शशी गोयलबाट दोस्रो बजारमा भएको कारोबार ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्था विपरीत’ रहेको अध्ययनले देखाएको छ ।

यस्तै सुरेन्द्र अध्यक्ष भएको समयमा स्व. दाजु अशोककुमार गोयलकी श्रीमती अनिता गोयलले विभिन्न मितिमा गरेको कारोबार पनि ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्था’ विपरीत रहेको अध्ययनले देखाएको छ ।

यस्तै सुरेन्द्र अध्यक्ष भएको समयमा उनका भाइ प्रकाश गोयल (जो उक्त समयमा कम्पनीको व्यवस्थापकसमेत थिए) ले पनि गरेको कारोबार ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्थाविपरीत’ रहेको अध्ययनले देखाएको छ ।

यस्तै सुरेन्द्र कम्पनीको अध्यक्ष भएको बेलामा उनकी श्रीमती पुनम गोयल शिवम् सिमेन्टमा व्यवस्थापक पदमा रहेको पाइएको छ । व्यवस्थापक पदमा रहेको समयमा आफूसँग भएको ४२ लाख ५९ हजार २ सय कित्तामध्ये अनिता गोयलको नाममा १९ लाख ४५ हजार २ सय कित्ता र प्रकाश गोयलको नाममा २३ लाख १४ हजार कित्ता सेयर अंशवन्डामार्फत नामसारी भएको थियो । जुन धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्थाविपरीत रहेको अध्ययनले देखाएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालनिकट स्रोतबाट प्राप्त तथ्यअनुसार कम्पनीका तत्कालीन अध्यक्ष सुरेन्द्रकुमार गोयल, श्रीमती पुनम गोयल, भाइ प्रकाश गोयल, दाजु विश्वनाथ गोयल र भाउजू अनिता गोयलले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ उपनियम १ को (क) मा भएको व्यवस्थाविपरीत सेयर कारोबार गरेको भन्दै सबैलाई धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (७) बमोजिमको कारबाही गर्न सिफारिस’ भएको छ ।

ऐनको दफा १०१ को दण्ड सजाय खण्डको उपदफा (७)मा ‘यस ऐनअन्तर्गत बनेका नियम वा विनियम वा सो अन्तर्गत जारी कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका सर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले २५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ व्यवस्था छ ।

बोर्डले चाहेमा कारबाही तत्काल गर्न सक्छ । बोर्डले गरेको शिवम् सिमेन्टको कारोबारलाई भित्री कारोबार भएको आशंका पनि गरिएको छ । भित्रि कारोबार अझ ठूलो वित्तीय अपराध हो ।

२०७८ चैत २३ गते सुरेन्द्र कुमारले विश्वनाथलाई २४ लाख २८ हजार ९ सय कित्ता, अनितालाई ३ लाख १५ हजार कित्ता र पुनमले अनितालाई १९ लाख ४५ हजार २ सय कित्ता तथा प्रकाशलाई २३ लाख १४ हजार कित्तासहित ७० लाख ३ हजार १ सय कित्ता सेयर हस्तान्तरण गरेको पाइएको छ ।

उनीहरुका परिवारले २०७८ चैत २९ देखि २०७९ मंसिर १९ सम्म ६१ करोड ४३ लाख ८८ हजार १९७ रुपैयाँको सेयर ८ लाख ४ हजार कित्ता सेयर बिक्री भएको पाइएको छ । यस्तै सोही अवधिमा ४ हजार कित्ता सेयर ३३ लाख ९४ हजार २ सय रुपैयाँको सेयर खरिद-बिक्री भएको पनि पाइएको छ ।

२०७८ चैत २३ गते एकाघरका परिवारका सदस्यको नाममा सेयर नामसारी हुनुअघि २५ हजार १५० कित्ता सेयर १ करोड ५२ लाख ९० हजार ५९० रुपैयाँको बिक्री र २ हजार ५९० कित्ता सेयर ४० लाख २२ हजार ५७५ रुपैयाँमा खरिद भएको पाइएको छ । सुरेन्द्र अध्यक्ष भएको समयमा नै परिवारका सदस्यले करिब २ करोड रुपैयाँबराबरको सेयर किनबेच गरेको तथ्यले पुष्टि गरेपछि यो कारोबारलाई भित्री कारोबार भएको आशंका गरिएको छ ।

त्यसका लागि धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०३ तथा बोर्डसम्बन्धी नियमावली २०६४ को नियम १७ मा भएको व्यवस्थाबमोजिम तहकिकात अधिकारी तोकी आवश्यक छानबिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

ऐनको १०३ मा भित्री कारोबार, जालसाजीयुक्त कारोबार, झुटो कारोबारलगायतका कारोबार गरेमा बोर्डले तहकिकात गर्न कुनै अधिकृतलाई तोक्ने व्यवस्था छ । तर, बोर्डले अहिलेसम्म यो काम गरेको छैन ।

धितोपत्र बोर्डका अध्यक्ष हमालले उक्त विषयमा बोर्डमा अनुसन्धान भइरहेको र अनुसन्धानले गल्ती देखेमा कसैलाई पनि नछोड्ने बताएका छन् । अनुसन्धान भइरहेको विषयमा योभन्दा बढी आफूले केही बोल्न नमिल्ने र अनुसन्धान पनि सबै सार्वजनिक हुने उनले बताए ।

‘यस विषयमा धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ, गल्ती देखिए कानुनबमोजिम कारबाही हुन्छ भन्नेमा म तपाईंलाई विश्वास दिलाउन चाहन्छु,’ अध्यक्ष हमालले क्लिकमान्डुसँग भने ।

यस्तो छ सेयर संरचना

कम्पनीमा संस्थापक सेयर ८८ प्रतिशत र उद्योग प्रभावित स्थानीयसहित सर्वसाधारणको १२ प्रतिशत सेयर स्वामित्व छ ।

शिवम् सिमेन्टले २०७५ फागुन ६ देखि अंकित मूल्यमा २ सय रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता ३ सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । सुरुमा कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियम थप गरेर ४ सय रुपैयाँमा सेयर निष्कासन गर्न खाजेको थियो ।

पछि ४ सयमा बिक्री नहुने देखेपछि तत्कालीन एनआईबीएल एस क्यापिटलले जसले अन्डरराइटिङ गरेको थियो, त्यसले सेयर जारी गर्न नमानेपछि १ सय रुपैयाँ घटाएर सर्वसाधारणका लागि ३ सयमा सेयर निष्कासन भएको हो ।

यसबाहेक कम्पनीका कर्मचारीका लागि २ लाख २० हजार र आयोजना प्रभावितलाई ८ लाख ८० हजार कित्ता छुट्याइएको थियो । उद्योग प्रभावित मकवानपुरमा स्थानीयले २ लाख २४० कित्ताका लागि मात्रै आवेदन दिए । बाँकी रहेको सेयर सर्वसाधारणका लागि थप गरेर निष्कासन गरिएको थियो ।

शिवम् सिमेन्टले सेयर निष्कासन गरेपछि बुक विल्डिङ विधिबाट सेयर निष्कासन गर्ने भनेर लहड नै चल्यो । सरकारले वास्तविक क्षेत्रलाई पुँजी बजारमा ल्याउने भनेको धेरै समय भएको थियो । सरकारले तत्कालीन समयमा बजेटदेखि धितोपत्र बोर्डले हरेक वर्ष आफ्नो नीति तथा कार्यक्रममा वास्तविक क्षेत्रलाई सेयर बजारमा आउन प्रोत्साहन गर्ने भनेको थियो ।

सरकारले भनेअनुसार नै शिवमले सर्वसाधारणलाई प्रिमियम मूल्यमा १२ प्रतिशत सेयर निष्कासन गरेको छ । प्रिमियम मूल्यमा सेयर जारी गरेर सञ्चालक भने विभिन्न वहानामा सेयर बिक्री गरेर सञ्चालकबाट बाहिरिएका छन् ।

शिवमले निष्कासन गरेको मुस्किलले मात्रै सबै बिकेको थियो । पछि दोस्रो बजारमा सेयर मूल्य बढेर १ हजार ७ सय रुपैयाँभन्दा बढी पुग्यो । त्यसपछि सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट उक्त विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा छन् ।

अहिले शिवम् सिमेन्टको सेयर मूल्य घट्दै गएपछि सर्वोत्तम चुप लागेर बसेको छ । सर्वसाधारणले शिवमको बदमासी थाहा पाएपछि अरु कम्पनीको सेयर नै नबिक्ने जोखिम पनि छ ।


सोभित थपलिया