फेरिएको व्यवसायको शैलीः पसल होइन, अनलाइनबाटै व्यापार

इन्टरनेटको अवस्था र डिजिटल प्लेटफर्महरुले उद्यमशीलतालाई धेरै साथ दिएको छ



काठमाडौं । ऋचा लुइँटेलको एक वर्षअघिको जीवन र अहिलेको जीवनमा धेरै फरक छ । त्यसबेला उनको व्यस्तता अर्कै खालको थियो । उनी नेपालगन्जको एक निजी अस्पतालको प्रशासनमा काम गर्थिन् । मासिक तलब ३५ हजार रुपैयाँ थियो। दैनिक काममा जान्थिन्, आउँथिन् र घरमा पनि उत्तिकै व्यस्त हुन्थिन् ।

तर, अहिले उनको दिनचर्या फेरिएको छ । उनको आम्दानी पनि फेरिएको छ । र, आम्दानीको स्रोत पनि । ‘झन्डै एक वर्षअघि अनलाइनबाटै व्यापार गर्न सुरु गरें,’ उनले भनिन्, ‘अहिले आफूसँगै प्रत्यक्ष र अप्रत्यक्ष गरेर ६-७ जनालाई रोजगारी दिएको छु ।’

ऋचा अहिले घरैबाट काम गर्छिन् । लगानी पाँच हजार थियो । जेडी बिजनेस सेन्टर नामबाट सुरु भएको उनको व्यवसाय अहिले एक वर्ष पुरानो भएको छ । ऋचाले कृत्रिम गहनाहरुको व्यवसाय गरिरहेकी छन् । अनलाइन वा इन्टरनेटको प्रयोग गरी उनले व्यवसाय सुरु गरेकी थिइन् ।

मुख्यतः टिकटकमा उनका छोराले बनाएको आईडीमा कृत्रिम गहनाहरुको भिडियोहरु राखेर उनले व्यावसाय सुरु गरेकी थिइन्। आज अनलाइन र भौतिक रुपमा उनको घरमै आएर पनि सामान लिनेहरु कयौं छन् । ‘मैले डाइरेक्ट अनलाइनबाट गरेको हुँ,’ उनले भनिन्, ‘घरमै एउटा कुनाबाट सुरु गरेको हुँ । नेपालगन्जको आफ्नो घरबाट व्यवसाय गरेकी थिएँ ।’

उपत्यकाबाहिर भए पनि उनले अनलाइनमै आधारित रहेर उनले व्यवसाय सुरु गरेकी थिइन् । वर्षौंसम्म नेपालगन्जको कान्ति आरबी अस्पतालमा काम गरेकी उनको जीवन यो व्यवसायले पूर्णरुपमा परिवर्तन भएको छ ।

उनी भन्छिन्, ‘दौडधुप धेरै हुने । घरमा बस्नै नपाइने । १७ वर्षदेखि काम गरिरहेको थिएँ । बच्चा पनि हुर्किरहेको थियो । उसलाई पनि समय दिन पाइरहेको थिइन् । त्यसैले केही गरौं भनेर बुझ्दै जाँदा यो व्यवसायबारे थाहा पाएर यसैमा सुरुवात गरें ।’

ऋचाले कालान्तरमा जागिर छाडिन् । सुरुवातबाट नै उनको व्यवसाय एकनासको भएको थियो । अहिले पनि छ । छोराले खोलेको टिकटक आईडी रिनेम गरेर जेडी कलेक्सन नाम बनाएर व्यवसाय सुरु गरेकी उनको धेरैसँग चिनजान थियो । झन्डै दुई दशकको काम गरेको अनुभवले भएकाले धेरैमाझमा उनको नयाँ व्यवसायको चर्चा भयो । त्यसैको प्रभावले पनि केही विज्ञापन भयो ।

अहिले अनलाइन र घरमै आएर सामान किन्ने मान्छेहरुको संख्या लगभग उस्तै छ । ऋचा भन्छिन्, ‘अनलाइनबाट पनि र घरमै आएर पनि सामान किन्नेहरुको संख्या उस्तै छ, अनलाइनमा टिकटकमा देखेर मान्छेहरु आउनुहुन्छ ।’

ऋचा प्रतिनिधि पात्र मात्रै हुन् । यसरी डिजिटल प्लेटफर्मको प्रयोग गरेर व्यवसाय गर्ने हजारौं छन् । परम्परागत रुपमा हुने गरेको व्यवसायमा अहिले रुपान्तरण भएको छ । अहिले धेरैले आफ्नो व्यवसायलाई महँगो भाडामा सहरको केन्द्रमा ठाउँ बहालमा लिएर साजसज्जा गरेर चलाइरहेका छैनन् । टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता डिजिटल प्लेटफर्महरुको सहजताले उनीहरु आफ्नो व्यवसायलाई स्थापित गरिरहेका छन् ।

विश्वव्यापी रुपमा इन्टरनेटको सुरुवात सन् १९९५ मा भयो । त्यही बेलादेखि नै विश्वभरमा अनलाइनबाट हुने व्यवसाय सुरु भएको थियो । अमेजोनजस्ता ठूला कम्पनी सुरु भए । पछिल्लो दशकमा नेपालमा पनि ई-कमर्स फस्टाएको छ । मार्केटप्लेसका रुपमा दराज, सस्तोडिलजस्ता प्लेटफर्महरु खुलेका छन् ।

तर, यस्ता मार्केटप्लेसका सीमितता छन् । कतिपयमा कमिसन दिनुपर्नेदेखि अन्य झन्झन्ट हुन्छ । यस्तोमा सामाजिक सञ्जालकै माध्यमको प्रयोग गरेर वा आफ्नै ई-कमर्स वेबसाइट तथा प्लेटफर्म निर्माण गरेर व्यवसाय गर्नेहरुको जमात पनि बढ्दै गएको छ।

व्यापारविद् पुरुषोत्तम ओझाको बुझाइमा सीमित लगानीमा व्यवसाय गर्नेलाई पनि अनलाइन प्लेटफर्महरुले सहजता प्रदान गरेको छ । उनी भन्छन्, ‘स्टोर राखेर, स्पेस लिएर, मान्छे राखेर व्यवसाय गर्दा खर्च धेरै हुन्छ । यो सबै आवश्यकता पूरा नै नगरी पनि व्यवसाय गर्न सकिन्छ भन्ने अवसर डिजिटल प्लेटफर्ममार्फत पाइएको छ । यसले ग्राहकलाई पनि सस्तोमा सामान पाइनेदेखि व्यवसाय गर्नेलाई पनि अनावश्यक खर्च नगरी व्यवसाय गर्न सक्ने अवस्था सिर्जना भएको छ ।’

उनी पश्चिमा देशहरुको उदाहरण दिँदै त्यहाँ भौतिक रुपमा पसलमात्रै राखेर सञ्चालन हुने गरेका व्यवसायमा आएको सिफ्टिङ र कतिपय बन्द भएको अवस्था रहेको बताउँछन् । भन्छन्, ‘अहिले पश्चिमा देशमा पनि पसल राखेर हुने व्यवसाय बन्द हुँदै छ र अनलाइनमा केन्द्रित भइरहेको छ । नेपालमा पनि यो रुपान्तरण देखिएको छ । र यो सकारात्मक छ ।’

यस्तै रुपान्तरणलाई आत्मसात् गर्दै खुलेको व्यवसाय हो ‘भित्री’ । ‘भित्री’ एक इनरवेयर उत्पादन तथा बिक्री गर्ने ब्राण्ड हो । यसका संस्थापक अजय पाण्डेय भन्छन्, ‘हामीले भित्री औपचारिक रुपमा सुरु गरेको दुई महिना भयो । पूर्णरुपमा अनलाइनबाटै काम गरिरहेका छौं ।’

पाण्डेय अनलाइन माध्यमहरुले परम्परागत व्यवसायमा हुने खर्चलाई कटौती गरेर उत्पादनमै खर्च गर्ने अवस्था सिर्जना गरेको बताउँछन् ।  भित्री औपचारिक रुमपा सुरु भएको दुई महिना भएको छ । पाण्डे अनलाइनमै आधारित भएर व्यवसाय सुरु गर्नुको कारणबारे खुलाउँदै भन्छन्, ‘फिजिकल रुपमा जाँदा रेन्टदेखि स्टाफसम्मको खर्च हुन्छ । अनलाइनबाट गर्दा त्यो खर्च हुँदैन । मार्केटिङ र एडका लागि खर्च हुन्छ । तर, पसल राख्दा खर्च धेरै हुन्छ । यो सबै कारणले गर्दा अनलाइनमै आधारित भएर काम गर्ने सोचसहित गरिरहेका छौं ।’

व्यवसायलाई प्रमुख रुपमा चाहिने कुरा ग्राहकको विश्वास मानिन्छ । चाहे कुनै स्थानमा लाखौं खर्च गरेर सजाइएको पसल भए पनि ग्राहकको विश्वास नभएमा त्यसको नकारात्मक प्रचार अवश्यै हुन्छ । यस्तै कुरा अनलाइनबाट हुने व्यवसायमा पनि लागू हुन्छ । आफैं ब्राण्डिङको क्षेत्रमा पनि संलग्न रहेका पाण्डेय भन्छन्, ‘मान्छेको विश्वासको कुरा हो । हाम्रोमा नियमित रुपमा आउने ग्राहक धेरै हुनुहुन्छ । एकपटक किनेपछि विश्वास भएपछि आफ्ना साथीभाइलाई भन्नुहुन्छ ।’

अनलाइनबाट व्यवसाय गर्दा ब्राण्डेड नरहेका सामानमा जोखिम बढी हुने उनी बताउँछन् । गुणस्तरलाई ख्याल गरेर काम गर्न सकेमा केही समयमा नै ग्राहकको विश्वास जित्न सकिने र त्यसले गर्दा एकदेखि अर्कासम्म पनि व्यवसायको विज्ञापन हुने उनी बताउँछन् । उनी भन्छन्, ‘ब्राण्डकै उत्पादन हुँदा विश्वासले ठूलो महत्व राख्ने भएकाले अनलाइनबाट गर्दा पनि ग्राहकको विश्वास पाउने गरी काम हुन्छ ।’

अनलाइनबाट हुने व्यवसायले उद्यमशीलता बढाउँछ । सीमित खर्च, सीमित स्रोत र सीमित साधनका बीच पनि कसैले कुनै नयाँ व्यवसायको सुरुवात गर्छु भनेमा अहिलेका विभिन्न डिजिटल प्लेटफर्मले साथ दिन्छन् । टिकटक, फेसबुक, इन्स्टाग्राम वा कम्पनीको वेबसाइट नै बनाएर पनि व्यवसाय गर्ने अवस्था अहिले सिर्जना भएको छ ।

पाण्डेय अहिलेको इन्टरनेटको अवस्था र डिजिटल प्लेटफर्महरुले उद्यमशीलतालाई धेरै साथ दिएको बताउँछन् । व्यवसाय गर्ने मान्छेले भौतिक पसल नराख्दा आफ्नो उत्पादन र इन्भेटरीमा काम गर्न सक्ने उनको बुझाइ छ । भन्छन्, ‘पसल राख्ने भनेको भाडामा राख्ने मात्रै होइन, सजाउनेदेखि सबै कुरामा गर्दा लाखौं खर्च हुन्छ । तर, पसल नहुँदा त्यो खर्चलाई अन्य क्षेत्रमा गर्न सकिन्छ । अनलाइनबाट गर्दा धेरै सहज भएको छ । जो सुकैले पनि मजाले आफ्नो ब्राण्ड बनाउनका लागि काम गर्न सक्छ ।’

पाण्डेय स्वयंकै कम्पनीले पनि अहिले आफ्नो ब्राण्डको सामग्री किन्ने ग्राहकलाई चकलेट गिफ्टका रुपमा दिइरहेको छ । यसले ग्राहकलाई पनि विश्वास गर्न र उनीहरुलाई आकर्षित गर्न सहयोग गरेको उनी बताउँछन् । भन्छन्, ‘अहिले मान्छे स्टोर कहाँ छ भन्दा पनि सहजै घरसम्म आउने विकल्प खोजिरहेका छन् ।’

नयाँ व्यवसायमा मात्रै होइन, विगतमा भौतिक रुपमा नै पसल सञ्चालन गरिएका व्यावसायमा पनि अहिले अनलाइनमा आफ्नो उपस्थिति देखाउनुपर्ने अवस्था आएको छ । कतिपय अवस्थामा भौतिक रुपमा सञ्चालन गरिरहेका पसल विविध कारणले बन्द गर्नुपर्ने हुँदा डिजिटल प्लेटफर्मको सहायताले त्यो व्यवसायलाई पूर्णरुपमा बन्द हुनबाट बचाएको छ ।

गणेश सुवेदी यसका उदाहरण हुन् । ‘फिनिक्स चरा’ जस्तै कोभिडको समयमा दुई वटा बेकरीका पसलहरु बन्द गरे पनि अहिले उनी पुनः व्यवसायलाई गतिशीलता प्रदान गरिरहेका छन् । गणेशको कम्पनी कप एण्ड केक्स नेपाल अहिले कारखानाबाट उत्पादन र अनलाइन तथा चिनजानकाहरुबाट आउने अर्डरमा गर्ने डेलिभरिबाट सञ्चालनमा छ ।

सन् २०१७ बाट दुई वर्षसम्म फिजिकल स्टोर नै खोलेर रेस्टुरेन्ट सञ्चालन गरेका गणेशले कोरोना महामारीमा सोचेजस्तो अवस्था भएन । उनले भने, ‘बानेश्वरमा सुरुवात भएर बुद्धनगरमा पनि शाखा खोलिसकेको उनको पसल बन्द गर्नुपर्ने अवस्था आयो ।’

कोभिडपछि भने उनले व्यवसायलाई भर्चुअल रुपमा सीमित गरेका छन् । भौतिक पसल पुनः सञ्चालन गर्ने उनको सोच त छ । तर, अहिले उनले आफूले चिनेजानेकाहरुबाट भएको मार्केटिङ र अनलाइन माध्यमबाट आउने अर्डरबाटै काम गरिरहेका छन्।

गौशालामा केक तथा बेकरीका सामग्रीको उत्पादनका लागि कारखाना खुलेको छ । उत्पादनलाई देखाउने माध्यम फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालका माध्यमको प्रयोग गणेशले गरेका छन् । अनलाइनबाटै पनि अर्डर आउने गरेको उनी बताउँछन् ।

‘कोभिडको समयले मलाई अनलाइनतर्फ ट्रान्जिसन गरायो,’ उनी भन्छन्, ‘सुरुवातमा पसल थियो । पछि अब अवस्था त्यस्तै भयो। अहिले चिनेजानेका र पुराना कस्टुमरबाट आउने अर्डर र अनलाइनबाट नै काम भइरहेको छ ।’

अहिले गणेशले चिनजानबाट आउने अर्डर र अनलाइनबाट आउने अर्डरबाट व्यवसाय सञ्चालन गरिरहेका छन् । आफ्नो ब्राण्डबाट हुने चकलेटजस्ता उत्पादनलाई विश्वव्यापी बनाउने लक्ष्य लिएका छन् गणेशले । यो लक्ष्यका लागि अनलाइनबाट व्यवसाय गर्नु मुख्य कुरा भएको उनी बताउँछन् । भन्छन्, ‘हामीले यहाँबाट अमेरिकामा बुस्ट गरेर पनि सामान बेच्न सक्छौं । यही विषयमा पनि मैले रिचर्स गरिरहेको छु । विस्तारै होला भन्ने छ ।’

अहिले गणेश मासिक रुपमा दुई लाख रुपैयाँसम्म कारोबार हुने गरेको बताउँछन् । यसमा कतिपय अर्डरहरु पहिल्यैबाट आफूले चिनेका ग्राहकका हुन्छन् भने कतिपय अनलाइनबाट आउने हुन्छन् । केकसँगै चकलेट, मफिन्सजस्ता बेकरीका सामग्री उत्पादन गरिररहेका गणेशको लक्ष्य भने यसलाई बृहत् बनाउँदै लैजाने रहेको छ । उनी भन्छन्, ‘ग्लोबल रुपमा लैजानका लागि जहिल्यै पनि अनलाइनमा त हुनैपर्छ । अहिले म पनि अनलाइनबाट गर्ने सिकिरहेको छु । बुझ्दै छु । अझै धेरै गर्न बाँकी छ ।’

इन्टरनेटमा आधारित व्यवसाय हुँदा व्यवसाय सीमित क्षेत्रका लागि मात्रै हुँदैन । लुइँटेलको कृत्रिम गहना होस् वा पाण्डेयको कपडा वा सुवेदीको चकलेट, यी उत्पादनहरुको बजार फराकिलो छ । देशैभर डेलिभर गरेर पनि व्यवसाय गर्न सक्ने अवसर डिजिटल प्लेटफर्महरुले दिएका छन् ।

‘म काठमाडौंमा बसेर नेपालभरका ग्राहकलाई बेच्न सक्छु,’ उनी भन्छन्, ‘अनलाइनबाट काम गर्दा व्यवसायको दायरा एक ठाउँमा मात्रै नभएर देशैभरि हुन्छ । अनलाइन प्लेटफर्म हेर्दा यसले नयाँ व्यवसायी गर्ने वा उद्यमशीलतामा संलग्न हुनेलाई धेरै अवसर दिएको छ ।’

पाण्डेय यो परिवर्तनले धेरै रुपमा पनि उद्यमशीलतालाई विकास गरिरहेको जस्तो लाग्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले कपडाको हकमा हेर्दा मान्छेलाई आफ्नो साइज थाहा छ, आफूलाई मन पर्ने र सुहाउने रंग कुन हो थाहा हुन्छ । यसले गर्दा पनि अनलाइनबाट व्यवसाय गर्न सक्ने अवस्था बनेको छ ।’

लुइँटेल पनि सामाजिक सञ्जालबाट अर्डर लिएर देशैभरमा जहाँ सुकै पनि डेलिभरि गरिरहेकी छन् । पाँच हजार लगानीबाट सुरु भएको उनको व्यवसाय लाखौंको भएको छ । कयौंले रोजगारी पनि पाएका छन् । आफ्नो व्यवसायको दायरालाई सीमिततामा नभई फरालिको बनाएकी लुइँटेल अनलाइनबाट आउने अर्डरलाई देशैभर जहाँ भए पनि पूरा गर्ने गरि काम गरेको बताउँछिन् ।

नेपाल क्याम्प नामक कुरिअर कम्पनीसँग सुरुवातबाट नै सहकार्य गरेर काम गरेको उनले बताइन् । उनले भनिन्, ‘अनलाइन आएको अर्डरमा नेपालभरमा नै डेलिभरि हुन्छ । नेपाल क्याम्प नामक कुरिअर कम्पनीसँग सहकार्य गरेर गरेको छु काम । सुरुवातबाट नै नेपाल क्याम्पसँग नै सहकार्य गरेर काम गरेको छु । यतिका वर्ष बाहिर काम गरेको अनुभव थियो । व्यवसायमा नयाँ भए पनि अन्य क्षेत्रमा भएको अनुभवले मलाई यहाँ साथ दियो ।’

व्यापारविद् ओझा अनलाइनबाट हुने व्यवसाय समयले माग गरेको व्यवसाय भएको बताउँछन् । उनी भन्छन्, ‘प्रविधिले यसलाई सम्भव बनाएको छ ।’

अबको समयमा प्रविधिसँगै हिँड्न सकिएन भने व्यवसाय पनि गर्न नसकिने पनि उनको बुझाइ छ । पसल वा दोकान राखेर परम्परागत रुपमा व्यापार गर्ने कुरा पुरानो भएको बताउँदै उनी अब धेरै कुराहरु अनलाइन सर्भिसमा आधारित भएको सुनाउँछन् ।

उनी भन्छन, ‘यहीअनुसार अरु व्यवसायमा पनि यो रुपान्तरण देखिएको छ । प्रविधिको उपलब्धताले गर्दा व्यवसायमा यो रुपान्तरण देखिएको छ । यो रुपान्तरण आजको समयको आवश्यकता पनि हो ।’


युवराज भट्टराई