चालु खाता ३३ महिनापछि बचतमा, विदेशी मुद्राको सञ्चिति २७ महिनायताकै बलियो अवस्थामा



निरन्तर विदेशी मुद्राको सञ्चिति बढिरहेको अवस्थामा चालु खातासमेत बचतमा जाँदा अर्थतन्त्रको बाह्य क्षेत्र निकै सहज अवस्थामा पुगेको छ । तर, सोही अवस्थामा घट्दो आयात र सरकारी राजस्वले अर्थतन्त्रको आन्तरिक क्षेत्र कमजोर अवस्थामै रहेको संकेत गरेको छ ।

काठमाडौं । रेमिट्यान्स आप्रवाहमा भएको ऐतिहासिक वृद्धिले ३३ महिनापछि चालु खाता बचतमा गएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा गएको हो । गत वर्ष साउनमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो ।

रेमिट्यान्स आप्रवाह, निर्यात र पर्यटन आम्दानीले आयात धान्न नसक्दा २०७७ साल मंसिरदेखि चालु खाता घाटामा थियो ।

साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स आएको हो । जुन अहिलेसम्मकै धेरै भएको राष्ट्र बैंकले जनाएको छ । २०७७ साउनदेखि कात्तिकसम्म बचतमा रहेको चालु खाता त्यसयता निरन्तर घाटामा थियो ।

निरन्तर घट्दो आयातले चालु खाता बचतमा गएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । चालु आर्थिक वर्षको साउनमा १३ अर्ब ५३ करोड रुपैयाँको निर्यात हुँदा आयात १ खर्ब २९ अर्ब रुपैयाँमा सीमित छ । जुन गत वर्षभन्दा १.६ प्रतिशतले कम हो ।

चालु खाता बचतमा गएसँगै शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड बचतमा पुग्नुका साथै विदेशी मुद्राको सञ्चिति बढेको छ । गत वर्ष साउन मसान्तमा ९ अर्ब ४२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति २५.७९ प्रतिशतले बढेर चालु आर्थिक वर्षको साउन मसान्तमा ११ अर्ब ८५ करोड डलर पुगेको छ, जनु २७ महिनायताकै उच्च हो ।

यसअघि २०७८ वैशाखमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ८६ करोड डलर थियो । त्यसयता विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै २०७९ वैशाखमा ९ अर्ब २७ करोड डलर पुगेको थियो ।

सरकारले निरन्तर विदेशी मुद्राको सञ्चिति घटेपछि आयात प्रतिस्थापन गर्न र राष्ट्र बैंकले कर्जा विस्तारमा सुस्त हुने नीति लिएपछि आयात गिरावट हुँदा निरन्तर विदेशी मुद्राको सञ्चिति बढेको थियो ।

विदेशी मुद्राको सञ्चिति घटेर ७ महिना १० दिनको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्थाबाट साउन मसान्तमा १० महिना १० दिनको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्थामा पुगेको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख सुधार हुँदासमेत आन्तरिक अर्थतन्त्र चलायमान हुन भने सकेको छैन । राष्ट्र बैंकका अनुसार साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा घटेको छ ।

असार मसान्तमा ४८ अर्ब ७९ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी साउन मसान्तमा घटेर ४८ अर्ब ६१ अर्ब रुपैयाँमा पुगेको छ ।

रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक वृद्धि भएको साउनमा असारको तुलनामा निक्षेपसमेत घटेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब ७० अर्ब रुपैयाँ पुगेकोमा साउनमा घटेर ५६ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो ।

रेमिट्यान्स आप्रवाह बढेको महिनामा समेत बजारमा माग बढ्न आयात बढ्न सकेको छैन्। बैंक वित्तीय संस्थाका अधिकारीहरु एलसी खुल्ने क्रम नबढेकाले तत्कालै आयात नबढ्ने र त्यसले अर्थतन्त्र चलायमान गराउन समय लाग्ने बताउँछन् ।

अर्थ मन्त्रालयले सरकारी खर्च बढाउन नसक्दा बजारमा माग बढ्न नसकेको अर्थ मन्त्रालयकै अधिकारीले बताएका छन् । साउनमा सरकारले अघिल्लो वर्षभन्दा ५७.४ प्रतिशत बढी खर्च गरेको छ । गत वर्ष साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको सरकारले चालु आर्थिक वर्षको साउनमा ३५ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ ।

आयातमा निर्भर सरकारी राजस्व भने बढ्न सकेको छैन । गत वर्ष साउन मसान्तमा ७९ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षको साउन महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को साउनमा सरकारले ९३ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । दुई वर्ष अगाडिसँग तुलना गर्दा सरकारले साउनमा १४.५ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

‘बजारमा माग बढाउने गरी काम नगर्दासम्म आन्तरिक अर्थतन्त्र बलियो हुने सम्भावना छैन, ’राष्ट्र बैंकका अधिकारीहरु भन्छन्, ‘जसरी २७ महिनाअघि बलियो अवस्थामा पुगेको विदेशी मुद्राको सञ्चिति निरन्तर घटेर अर्थतन्त्रको बाह्य क्षेत्र समस्यामा परेको थियो, त्यसैगरी अहिले पनि हामीले मौद्रिक नीतिबाट अर्थतन्त्र चलाउन खोज्यौं भने फेरि पनि समस्यामा पर्छौं ।’

अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा पुगेकाले सरकारले खर्च बढाएर आयात बढाउने वातावरण बनाउनुपर्ने केन्द्रीय बैंकका अधिकारीको तर्क छ ।


शरद ओझा