सुन तस्करी प्रकरणः भन्सार विन्दुमा भएको अनियमितता छानबिन गर्न भन्सार विभागले बनायो समिति
काठमाडौं । भन्सार विभागले ब्रेक सु मा सुन लुकाएर जाँचपास हुँदा भएका काम कारबाहीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।
विभागले सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार विभागको अनुसन्धान तथा अनुपालन शाखा प्रमुख मान बहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । पौडेलको नेतृत्वमा गठन भएको समितिलाई भन्सार कार्यलयका सीसीटीभी फुटेज र अन्य विषय अध्ययन गर्दै तस्कारीमा मिलोमतो गरेका भन्सार कार्यालयका कर्मचारीको पहिचान गर्ने जिम्मेवारी दिईएको छ ।
विभागका सूचना अधिकारी खड्काले समितिलाई भन्सार विन्दुबाट त्यती ठूलो परिणाममा सून कसरी बाहिरियो भन्ने विषयमा अध्ययन गर्दै प्रतिवेदन बुझाउने जिम्मेवारी दिईएको जानकारी दिए ।
बुधबार बेलुका राजस्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर बाहिरिएको अवस्थामा सुन नियन्त्रणमा लिएको थियो ।
व्यवसायीहरुले स्कुटर र मोटरसाइकलमा प्रयोग हुने १६० ब्रेक सुज भित्र सुन लुकाएर ल्याएका थिए ।
ब्रेक सु भन्दै सुन जाँच पास हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा डिउटीमा रहेका कार्यरत भन्सार अधिकृत सन्तोष चन्द र नायब सुब्बा ढकाललाई निलम्बन गरिएको छ ।
‘सुन भेटिएको सामान जाँचपास गर्दा उहाँहरु डिउटीमा हुनुहुन्थ्यो भन्ने पत्र विमानस्थल भन्सार कार्यालयले पठाएपछि थप छानबिन गर्न उहाँहरुलाई निलम्बन गरिएको हो,’ खड्काले भने,‘ विभागले गर्ने थप अनुसन्धानबाट अरु को को संल्गन छन् भन्ने खुल्छ ।’
भन्सार प्रणालीमा चेक जाँच गर्दा सुन पहिचान नहुनु शंकास्पद भएपछि कर्मचारीलाई निलम्बन गरिएको भन्सार विभागले जनाएको छ ।