सरकार र बैंकका सञ्चालकमाथि दुर्गा प्रसाईंका आरोप नै आरोप, कसलाई के भने ?
पवन गोल्यानले झापामा सस्तोमा १० अर्ब कृषि कर्जा लिएर काठमाडौंमा तारे होटल खोलेको उनको आरोप छ । ‘तर न राष्ट्र बैंकलाई मतलव छ न त सरकारलाई मतलब छ,’ प्रसाईंले भने, ‘उनीहरुलाई त राम्रो नियतले, जहाँका लागि कर्जा लिएको हो त्यहीँ लगानी गरिरहेको दुर्गा प्रसाईंको मात्र मतलव छ ।’
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकार र बैंक दुवै मिलेर आफूलाई अप्ठ्यारोमा पार्न अनेक प्रयास गरेको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा बिहीबार पत्रकार सम्मेलन गरी प्रसाईंले सरकार र राष्ट्र बैंकले ५५ जना व्यवसायीका पक्षमा जथाभावी गरेको तर आफूले पवित्र मनले सेवा गर्छु भन्दा अनेक दुःख दिएको आरोप लगाएका हुन् ।
‘सरकार, राजनीतिक दल, बैंक सबै मिलेर मलाई अप्ठ्यारोमा पार्न, समस्यामा पार्न अनेक गरिरहेका छन्,’ उनले भने, ‘तर हेर्नुहोला यिनीहरुले सक्दैनन् किनकि म सत्य र निष्ठाले देश र जनताको सेवा गर्न लागिपरेको छु, यो कुरा मलाई नजिकबाट चिन्नेले बुझेका छन् ।’
बैंकले सम्झौताभन्दा बाहिर गएर मनपरी गरिरहेको उनको आरोप छ । बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पनि पटक पटक बोली फेरेको प्रसाईंले बताए ।
सबैभन्दा बढी कुमारी बैंकका सीईओ रमेश अर्यालले बोली फेरेको उनको आरोप छ । ‘स्वीकृत भइसकेको कर्जा सम्झौताअनुसार निकासा नगरेर कुमारी बैंकका सीईओले गद्दारी गरेका छन्,’ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानलाई नामै लिएर उनले भने, ‘तर गोल्यान जस्ता व्यवसायीलाई पोस्ने काम भइरहेको छ ।’
पवन गोल्यानले झापामा सस्तोमा १० अर्ब कृषि कर्जा लिएर काठमाडौंमा तारे होटल खोलेको उनको आरोप छ । ‘तर न राष्ट्र बैंकलाई मतलव छ न त सरकारलाई मतलब छ,’ प्रसाईंले भने, ‘उनीहरुलाई त राम्रो नियतले, जहाँका लागि कर्जा लिएको हो त्यहीँ लगानी गरिरहेको दुर्गा प्रसाईंको मात्र मतलव छ ।’
कृषि कर्जा केही सीमित घरानाका व्यवसायीले लिएकै कारण दैनिक २ हजारभन्दा बढी युवा रोजगारीका लागि बिदेसिन बाध्य भएको उनको भनाइ छ । खास किसानले कृषि कर्जा पाउने हो भने अरबको तातो घाममा ज्यान जोखिममा राखेर कोही पनि विदेश नजाने उनले ठोकुवा गरे ।
‘स्वास्नी, छोरोछोरी रुवाउँदै विदेश जान कसलाई मत हुन्छ तर यहाँ गरिखाने वातावरण नै छैन, अनि को बसोस्, ज्यान जोखिममा राखेर भएपछि विदेश जान्छन्,’ प्रसाईंले भने, ‘तर सरकारलाई यसको कुनै अर्थ छैन, त्यसैले हेर्नुहोला, यो व्यवस्था फेल हुन्छ, देशमा नयाँ व्यवस्था आउँछ ।’
कुमारी बैंकले धितो बन्धक राखिसकेपछि अनेक बहाना बनाएर सम्झौताबराबरको कर्जा निकासा नगर्दा समस्या भएको उनले आरोप लगाए । ‘ममाथि त्यसरी अन्याय गर्दा पनि मैले दुई पटक खुरुखुरु ब्याज तिरेँ, अहिले बाँकी ३२ करोड रुपैयाँ पनि दिएको छैन, उल्टै कर्जा फिर्ता गर भनिरहेको छ, सन् २०३२ सम्मका लागि भनेर लिएको कर्जा मैले २०२३ मै किन र कसरी फिर्ता गर्ने भनेर म अदालत गएको हुँ ।’
कुमारी बैंकको नेतृत्वमा ५ वटा बैंकले सहवित्तीयकरण गर्ने सम्झौताअनुसार पैसा नदिएको उनको आरोप छ । कुमारी बैंक र ग्लोबल आईएमई बैंकबाट सबैभन्दा ठूलो बदमासी भएको उनले बताए । विस्तारै सबै बैंकर र सञ्चालकको भेद खुल्दै जाने र आफूले पनि खोल्दै जाने प्रसाईंले बताए ।
बैंकले आफूलाई शोषण गरेको र ठगेको उनले आरोप लगाए । ‘बैंकसँगको सम्झौतामै एमबीबीएसको पहिलो ब्याच भर्ना भएपछि साँवाब्याज भुक्तानी गर्न थाल्ने उल्लेख छ,’ प्रसाईंले भने, ‘तर ममाथि अनेक खालका दबाब सिर्जना गरेर ७० करोड तिर्न बाध्य पारियो ।’
कलेज नै सञ्चालन गर्न नपाएपछि कसरी पैसाको जोहो हुने र कसरी साँबाब्याज भुक्तानी गर्न सक्ने भन्ने विषयमा बैंकहरुले पनि सोच्नुपर्ने र सम्झौताको पालना गर्नुपर्ने दुर्गा प्रसाईंले मात्र नभएर बैंकले पनि गर्नुपर्ने उनले बताए ।
आफूले थालेको अभियानमा पनि बैंकको साँवाब्याज नतिर्ने कुरा कहिले नगरेको उनले बताए । ‘मैले गरिबको कर्जा मिनाहा गरौं मात्र भनेको हुँ,’ उनले भने, ‘मैले आफ्नो मिनाहा गर्नुस् पनि भनेको छैन, तिर्दिन पनि भनेको छैन, निरन्तर तिरिरहेको छु ।’
कुमारी बैंकले भने सम्झौता उल्लंघन गरेर निकासा गर्नुपर्ने कर्जा पनि निकासा नगरेको र महिनौंदेखि झुलाएकाले अदालत जानुपरेको उनले बताए । उनले धितोबन्धक गरिसकेपछि पनि कर्जा निकासा नगरेको र कर्जा निकासा नगर्ने भए धितो फुकुवा माग गर्दा पनि नगरेको जनाए ।
कुमारी बैंकबाट सम्झौताअनुसार कर्जा नपाएको भन्दै प्रसाईंले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेका छन् । उनको मुद्दा उच्च अदालत विराटनगरको इलाम इजलासमा विचाराधीन छ ।
माडवारी समुदायका व्यापारीले नेपालको ३२ खर्ब पैसा दुबई र सिंगापुर पुर्याएको प्रमाण आफूसँग रहेको उनले खुलासा गरे । र, अब चाँडै केही ठूला व्यापारी नै जेल जाने पनि उनले ठोकुवा गरे ।
सरकारले पनि आफूमाथि ठूलो अन्याय गरेको उनले बताए । सरकारले २०६८ माघ २३ मा मनसाय पत्र (एलओआई) दिएपछि बैंकले कर्जा दिएको र त्यही पैसाले आफूले अस्पतालको संरचना बनाइसकेपछि सञ्चालन अनुमति नदिनुचाहिँ बेइमानी भएको प्रसाईंले बताए ।
‘शिक्षा मन्त्रालयले एलओआई दिएपछि राखेका सर्तहरुअनुसार सबै काम सकेँ,’ उनले भने, ‘सर्तअनुसार गुरुयोजना बनाएँ, भवन संरचना बनाएँ, ईआईए पेस गरेँ, ३ सय शय्याको अस्पताल सञ्चालन सुरु भयो, त्यसपछि ममाथि राजनीति सुरु भयो ।’
सबै निकायले अनुमति दिइसक्दा पनि राष्ट्रिय चिकित्सा आयोगबाट सञ्चालन अनुमति नपाएका कारण आफ्नो २०-२५ करोड रुपैयाँका उपकरणसमेत काम नलाग्ने भएको गुनासो उनले गरे ।
‘यसमा मेरो कुनै गल्ती छ ?’ व्यवसायी प्रसाईंले भने, ‘छ भने सरकारले यो सबै सम्पत्ति आफ्नो बनाओस् तर अस्पताल चल्नुपर्छ, यहाँबाट डाक्टर उत्पादन हुनुपर्छ, वार्षिक ३ सय जना डाक्टर उत्पादन हुँदा १० प्रतिशतका दरले ३० जना गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ । योभन्दा बढी मेरो उद्देश्य छैन ।’
मेडिकल व्यवसायी प्रसाईंले बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल अस्पताल अब आफ्नो मात्र सम्पत्ति नभएको बताए ।
‘यी भवन संरचना, उपकरण र जनशक्तिहरु अब मेरा सम्पत्ति होइनन्, नेपाल राष्ट्रका सम्पत्ति हुन्, यी सम्पत्ति यसै खेर जानु हुँदैन,’ प्रसाईंले भने ।