प्राधिकरणका महानिर्देशकले पर्यटन मन्त्रीलाई टेरेनन्, बुझाएनन् स्पष्टीकरण



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्णयलाई अवज्ञा गरेका गरेका छन् ।

असार ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटन मन्त्रालयले अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्दै ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो । तर, अधिकारीले भने तोकिएको समयभित्र स्पष्टीकरण बुझाएनन् ।

मन्त्रालयका उपसचिव समेत रहेका सह-प्रवक्ता एवं सूचना अधिकारी टेकनारायण पौडेलले सोमबार पाँच बजेसम्म स्पष्टीकरण दर्ता नभएको जानकारी दिए ।

‘आज कार्यालय समय ५ बजेसम्म स्पष्टीकरण मन्त्रालयमा दर्ता भएको मलाई जानकारीमा छैन’ सूचना अधिकारी पौडेलले भने ।

महानिर्देशक अधिकारीले स्पष्टीकरण प्राप्त भएकै दिन केही सञ्चारमाध्यममा गोप्य हुनुपर्ने स्पष्टीकरणपत्र फेसबुकबाट मन्त्रीले सार्वजनिक गरेको भन्दै जवाफ नदिने बयान दिएका थिए ।

स्पष्टीकरण सोधिएकै दिन महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका थिए । सो दिन मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री पुत्री गंगा दाहालको सहयोगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

२०७८ माघ १८ गते तत्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई रिझाएर विवादास्पद पृष्ठभूमिका अधिकारी आफूभन्दा सिनियर कर्मचारीलाई उछिन्दै प्राधिकरणको महानिर्देशक नियुक्त भएका थिए ।

११ औं तहका अधिकारीलाई ऐनमा भएको छिद्रको फाइदा उठाउँदै तत्कालिन पर्यटन मन्त्री आलेले महानिर्देशक नियुक्त गरेका थिए ।

सोमबार अधिकारीलाई सोधिएको स्पष्टीकरणमा पनि क्लिकमान्डुले उठाउँदै आएको प्रश्न समेटिएका छन् ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर सेवा प्रदायक र नियाकम निकाय बनाउनु पर्ने नीति लिएपनि अधिकारी सेवा प्रदायक र नियामक निकाय छुट्याउन नहुने पक्षमा थिए । उक्त कार्य प्राधिकरणका कर्मचारीको सेवा सर्त नियमावली विपरित भएको स्पष्टीकरणमा उल्लेख गरिएको थियो ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्धाटनका दिन एलएलएभी समय उल्लंघन गर्दै उडान गरिएको विषयमा पनि अधिकारीलाई स्पष्ट पार्न निर्देशन दिएको थियो ।

क्लिकमान्डुले गत फागुनमा १७ गते पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।


क्लिकमान्डु