आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

56
Shares

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने ‘हरिशयनी एकादशी’ पर्व आज देशभर मनाइँदैछ ।

सनातन वैदिक परम्परा अनुसार आजको दिन घर–घरको तुलसी मोठमा नयाँ बिरुवा सारेर चार महिना लामो विशेष पूजा–आराधना (चतुर्मासा व्रत) को शुभारम्भ गरिन्छ ।

गत जेठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन छरिएको तुलसीको बिउ (दल) लाई आजको दिन विशेष मन्त्रोच्चारणसहित मठ वा गमलामा सार्ने गरिन्छ ।

हिन्दु धर्ममा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पुजिन्छ। आजदेखि सुरु हुने यो विशेष पूजा आगामी कात्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म जारी रहनेछ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राडा देवमणि भट्टराईका अनुसार, आजदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास छ ।

भगवान् विष्णु सुत्ने चार महिनाको यस अवधिलाई(चतुर्मासा’ भनिन्छ । भगवान् विष्णु सुत्ने भएकाले नै यस एकादशीलाई ‘हरिशयनी’ भनिएको हो ।

वर्षभरि पर्ने २४ वटा एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष मानिन्छ। कतिपयले वर्षभरिका सबै एकादशीमा व्रत बस्छन् भने कतिपयले चतुर्मासाका आठ वटा र नसक्नेले वर्षको यी दुई प्रमुख एकादशीमा मात्र व्रत बस्ने गर्छन्। एकादशीको दिन विशेषगरी चामल वा अन्नबाट बनेका परिकार नखाई फलफूल, कन्दमूल, रोटी वा ढिँडो खाने चलन छ।

आजको विशेष अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष नारायण) लगायत देशभरका विष्णु मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।

तुलसीलाई धार्मिक रूपमा मात्र नभई वैज्ञानिक रूपमा पनि निकै महत्त्व दिइएको छ। तुलसीले अत्यधिक मात्रामा अक्सिजन उत्सर्जन गर्ने प्रमाणित भइसकेको छ। यसलाई बहुगुणी औषधिका रूपमा समेत प्रयोग गरिन्छ। घरको आँगन वा मोठमा तुलसी हुँदा विषालु कीटाणुहरू नआउने र वास्तु दोष निवारण भई सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास छ।

आजदेखि सुरु भएको चतुर्मासा व्रत कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन समापन हुन्छ । सो दिन तुलसीको दामोदर (विष्णु) सँग विधिपूर्वक विवाह गरिदिएर व्रतको उद्यापन गर्ने वैदिक परम्परा रहेको छ ।