
काठमाडौं । बुध्द एयरले आज नेपालमा पहिलो पटक अत्याधुनिक एटीआर–७२–६०० सिरिजको जहाज भित्र्याएको छ।
फ्रान्सको तुलुसबाट ल्याइएको ‘९ एन–एओएस’ विमान पहिचान चिह्न रहेको यो जहाजलाई आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा गरेर आगामी महिनादेखि नियमित व्यावसायिक उडानमा सहभागी गराइने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यो नयाँ जहाजको आगमनसँगै नेपालको आन्तरिक हवाई यात्रामा आधुनिक प्रविधिको एउटा नयाँ अध्याय सुरु भएको कम्पनीले जनाएको छ।
यो जहाजको उडान प्रणाली पूर्ण रूपमा आधुनिक सिसाको चालक कक्ष (ग्लास ककपिट), उन्नत पथप्रदर्शन प्रणाली, डिजिटल उडान व्यवस्थापन र उच्च सुरक्षा प्रणाली जस्ता उच्च प्रविधिले सुसज्जित रहेको छ।
क्षेत्रीय उडानका लागि उत्कृष्ट मानिने यो विमानले कम इन्धन खपत गर्ने भएकाले यो वातावरणमैत्री समेत रहेको छ। जहाजको आन्तरिक बनोटमा गरिएको विशेष सुधारका कारण उडानका क्रममा हुने ध्वनि प्रदूषण पनि अघिल्ला संस्करणका जहाजहरूको तुलनामा निकै कम हुने कम्पनीको दाबी छ।
जहाजमा जडान गरिएको ‘आवश्यक पथप्रदर्शन क्षमता–अनुमति प्राप्त’ भनिने भू-उपग्रहमा आधारित अत्याधुनिक अवतरण प्रणालीले नेपाली आकाशको उडानलाई अझ विश्वसनीय बनाउने देखिएको छ।
प्रमाणित भइसकेको यो प्रविधिको प्रयोगबाट काठमाडौं र भैरहवा विमानस्थलमा बाक्लो कुहिरो वा धुलोका कारण भिजिबिलिटी ९ सय मिटरसम्म रहेको अवस्थामा पनि जहाजलाई सुरक्षित अवतरण गराउन सकिनेछ।
हाल प्रचलनमा रहेको ‘उपकरण अवतरण प्रणाली’ अनुसार काठमाडौं र भैरहवाका लागि १६ सय मिटर तथा पोखराका लागि ३१ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने गरेकोमा नयाँ प्रविधिले थोरै भिजिबिलिटीमा पनि उडान र अवतरण सम्भव तुल्याउनेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यो प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरिरहेको छ, जहाँ यो सफल भएमा दुई हजार मिटरको भिजिबिलिटीमा पनि सुरक्षित उडान सम्भव हुनेछ।
बुध्द एयरले आफ्नो हवाई सेवालाई अझ भरपर्दो र सुदृढ बनाउन आगामी अगस्टको अन्त्य वा सेप्टेम्बर महिनासम्म ‘९ एन–एओटी’ विमान पहिचान चिह्न भएको अर्को एउटा जहाज पनि थप्ने तयारी गरेको छ।
कम्पनीले निकट भविष्यमा यस्तै प्रकृतिका थप दुईवटा जहाजहरू पनि भित्र्याउने लक्ष्यका साथ कार्य गरिरहेको छ। हाल बुध्द एयरको १५ वटा एटीआर–७२–५००, एउटा एटीआर–४२–३२० र एउटा नयाँ थपिएको एटीआर–७२–६०० गरी कुल १७ वटा जहाजहरू छन्।
कम्पनीले यसअघि उडान चक्र पूरा भएका तीनवटा जहाजहरूलाई सेवाबाट बिदा गरिसकेको छ, जसमध्ये एउटा जहाजको पार्टपुर्जा बिक्रीका लागि हंगेरीको कम्पनीलाई उपलब्ध गराइएको थियो।
हाल दैनिक १४० भन्दा बढी आन्तरिक उडानहरू सञ्चालन गरिरहेको बुध्द एयरले भारतका वाराणसी र कोलकातामा समेत नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।
नयाँ जहाज थपिएसँगै उडान र मर्मतको तालिका अझ व्यवस्थित हुने र कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ वा अवरोधहरू न्यूनीकरण भई हवाई सेवाको गुणस्तर र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ। हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नै नयाँ सिरिजका जहाजहरू थप गरिएको कम्पनीले जनाएको छ।





प्रतिक्रिया