सिँचाइ डिभिजन प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ

0
Shares

काठमाडौं । सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैयाका दुई उच्च कर्मचारी ठूलो रकमको घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई ८ लाख २१ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुख ढकालको सरकारी निवासमा छापा मारेको थियो।

खानतलासीका क्रममा ढकाल बसिरहेकै सोफाबाट सेवाग्राहीसँग लिइएको ७ लाख ५० हजार रुपैयाँ बरामद भएको छ। साथै, स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि सोही स्थानबाट फेला परेको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

विभिन्न जल उपभोक्ता समितिहरूले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि आफ्नो भुक्तानी पाउन कार्यालयमा ताकेता गरिरहेका थिए। तर, डिभिजन प्रमुख ढकालले उक्त भुक्तानी गरिदिने शर्तमा मोटो रकम माग गरेकी थिइन्।

प्रमुख ढकालकै निर्देशनमा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले सेवाग्राहीसँग ७ लाख ५० हजार रुपैयाँ बुझेका थिए। उक्त रकम लिएर चौधरी सिधै ढकालको निवास (क्वाटर) पुगेका थिए। रकम लेनदेन भइरहेकै सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले दुवैलाई रंगेहात पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका दुवै कर्मचारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि अख्तियारले आफ्नो हिरासतमा राखेको छ। विकास निर्माणको भुक्तानीमा कर्मचारीले कमिसन मागेको यस घटनाले स्थानीय क्षेत्रमा चर्चा पाएको छ।