पर्यटन मन्त्रीलाई स्पष्टीकरण दिन्न भन्ने प्राधिकरणका महानिर्देशकलाई प्रधानमन्त्रीको भेट



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सहमति लिएरै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधिएको बताएका छन् ।

प्रधानमन्त्रीको निर्देशन बीना आफूले केही गर्ने नगरेको भन्दै किरातीले प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोध्दा पनि अनुमति लिएको दाबी गरे।

‘म तीनवटा चिज बोकेर हिँडेको छु, मेरो टाउकोमा प्रधानमन्त्रीको निर्देशन छ, छातीमा आमाको आर्शीवाद छ र गोजीमा राजीनामा पत्र छ,’किरातीले भने,‘विभिन्न विषयमा गुनासो आएपछि ती विषय स्पष्ट पार्न प्राधिकरणका महानिर्देशकलाई भनिएको हो । उहाँले आफ्नो धारणा राख्नु होला ।’

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विभिन्न सञ्चार माध्यममा पर्यटन मन्त्रालयले सोधको स्पष्टीकरणको जवाफ नदिने बताएको छन् नी भन्ने प्रश्नमा मन्त्री किरातीले स्पष्टीकरण नदिएको अवस्थामा कानूनले आफ्नो बाटो समात्ने बताए ।

‘हामीले कानूनअनुसार विभिन्न विषय प्रष्ट पार्न भनेका हौं,’ किरातीले भने,‘भविष्यमा मन्त्रालयले के गर्छ, त्यो अहिले नै भन्न सकिँदैन।’

सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

मन्त्रालयले स्पष्टीकरण सोधपछि महानिर्देशक अधिकारीले मन्त्रिपरिषद्ले नियुक्त गरेको व्यक्तिलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले मन्त्री स्तरिय निर्णय गर्दै स्पष्टीकरण सोध्न नमिल्ने बताएका थिए ।

विभिन्न सञ्चार माध्यममा अधिकारीले स्पष्टीकरण पत्र फेसबुक पेजमा राखेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

मन्त्री किराती आफूले फेसबुकमा राखेको पत्रको जवाफ दिन आवश्यक नभएको तर मन्त्रालयले प्राधिकरणमा पठाएको जवाफ दिनु पर्ने बताउँछन् ।

‘मन्त्रालयले गरेको काम पारदर्शी हुनुपर्छ भन्ने सोचका साथ पत्र सार्वजनिक गरिएको हो,’ मन्त्री किरातीले भने,‘उहाँले फेसबुकमा आएको पत्रको जवाफ दिनु पर्दैन । उहाँको कार्यालयमा पुगेको पत्रको जवाफ दिए हुन्छ ।’

२०७८ माघ १८ गते तत्कालीन पर्यटनमन्त्री प्रेम आलेलाई रिझाएर विवादास्पद पृष्ठभूमिका अधिकारी आफूभन्दा सिनियर कर्मचारीलाई उछिन्दै प्राधिकरणको महानिर्देशक नियुक्त भएका थिए ।

११ औं तहका अधिकारीलाई ऐनमा भएको छिद्रको फाइदा उठाउँदै तत्कालीन पर्यटन मन्त्री आलेले महानिर्देशक नियुक्त गरेका थिए ।

महानिर्देशक भएपछि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय हुनु भन्दा पनि विवादस्पद काममा संलग्न रहेको भन्दै अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

क्लिकमान्डुले अधिकारी नियुक्त भएदेखि नै उनले गर्दै आएका विवादस्पद कामको विषयमा समाचार प्रकाशित गर्दै आएको थियो ।

सोमबार अधिकारीलाई सोधिएको स्पष्टीकरणमा पनि क्लिकमान्डुले उठाउँदै आएको प्रश्न समेटिएका छन् ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर सेवा प्रदायक र नियाकम निकाय बनाउनु पर्ने नीति लिएपनि अधिकारी सेवा प्रदायक र नियामक निकाय छुट्याउन नहुने पक्षमा थिए ।

उक्त कार्य प्राधिकरणका कर्मचारीको सेवा सर्त नियमावली विपरित भएको स्पष्टीकरणमा उल्लेख छ ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्धाटनका दिन एलएलएभी समय उल्लंघन गर्दै उडान गरिएको विषयमा पनि अधिकारीलाई स्पष्ट पार्न निर्देशन दिइएको छ ।

क्लिकमान्डुले गत फागुनमा १७ गते पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

अधिकारीलाई ९ बुँदामा सोधिएको स्पष्टीकरणलाई ७ दिनभित्र जवाफ पेस गर्न समय दिइएको छ ।

प्रधानमन्त्री पुत्री गंगाले अधिकारीलाई भेटाइन् प्रचण्डसँग

मंगलबार पर्यटन मन्त्री किरातीले स्पष्टीकरण सोधपछि प्राधिकरणका महानिर्देशक अधिकारीले प्रधानमन्त्री पुत्री गंगा दाहालको सहयोगमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

मंगलबार दिँउसो साढे ५ बजे अधिकारीले प्रधानमन्त्रीलाई भेटेको स्रोतले जानकारी दिएको छ । गंगा दाहालले मन्त्रिपरिषद्को बैठक सुरु हुनु भन्दा अगाडि अधिकारीलाई भेट्ने समय मिलाएको प्रधानमन्त्रीको सचिवालयका एक अधिकारी बताउँछन् ।

स्पष्टीकरण पत्र प्राप्त भएलगत्तै पर्यटन मन्त्रालयलाई जवाफ नदिने धारणा राखेका अधिकारीले प्रधानमन्त्रीलाई भेटेर फर्किए लगत्तै मन्त्रालयका जवाफ दिने बताएका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारी र प्रधानमन्त्री पुत्री गंगाबीच निकट सम्बन्ध रहेको विभिन्न ठाउँहरूमा चर्चा हुने गरेको छ ।

‘उहाँहरुले पहिल्यैदेखि निकट सम्बन्ध हो । प्राधिकरणमा नियम विपरित काम गरिरहेको भन्दै अधिकारीलाई पर्यटन मन्त्रीले रुचाउनु भएको थिएन,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने,‘ गंगा दिदीले डिजीलाई राम्रो मान्नु हुन्थ्यो । आज पनि गंगा दिदीकै रुचीअनुसार प्रधानमन्त्रीसँग भेट भएको हो।’


शरद ओझा