पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान



पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुनुभन्दा १४ दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको दिन उड्डयन सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लंघन गरिएको खुलासा भएको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेकै दिन उड्डयन सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लंघन गरी विमान उडान गरिएको खुलेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको दबाबमा विमानस्थलबाट उड्डयन सुरक्षासम्बन्धी नियम उल्लंघन गरी विमान उडाइएको हो ।

पुस १७ गते प्रधानमन्त्री दाहाल विमानस्थल उद्घाटन गरेलगत्तै काठमाडौं फर्किए । तर, बेलुका लास्ट ल्यान्डिङ भीएफआर (एलएलभी) सम्बन्धी नियम उल्लंघन गरेर विमानस्थलबाट ५ विमानले उडान भरेको खुलेको छ ।

स्रोतले क्लिकमान्डुलाई उपलब्ध गराएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको लगबुकअनुसार कलसाइन ६६० को श्री एयरलाइन्सको विमानका साथै कलसाइन ६१६, ६०८, ६२० र ६५४ नम्बरका बुध्द र यतिका एटीआर विमानले एलएलभीसम्बन्धी नियम उल्लंघन गरी उडान भरेका हुन् ।

एलएलभी भनेको के हो ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार उपकरणको सहायताले विमान उडान-अवतरण गर्न नमिल्ने विमानस्थलमा एलएलभीसम्बन्धी नियम बनाइएको हुन्छ ।

उपकरणको सहायताले हुने उडान र अवतरण इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आईएफआर) अनुसार हुन्छ भने आँखाले हरेर हुने उडान-अवतरण भिजुअल फ्लाइट रुल (भीएफआर) अनुसार हुन्छ ।

प्राधिकरणका उपमहानिर्देशक कर्णका अनुसार एलएलभीसम्बन्धी नियम आँखाले हेरेर हुने उडान-अवतरण अर्थात् भीएफआर उडानमा लागू हुन्छ । आँखाले हेरेर भर्ने उडान हुने अन्तिम समयलाई एलएलभी भनिन्छ ।

‘हरेर दिन सूर्योदय र सूर्यास्तको समय फरक हुन्छ । जसले गर्दा प्रत्येक दिन बिहान उज्यालो हुने र बेलुका अँध्यारो हुने समय फरक-फरक हुन्छ,’ कर्णले भने, ‘सूर्योदय र सूर्यास्तका आधारमा प्राधिकरणले देशका विभिन्न स्थानमा रहेका विमानस्थलको लास्ट ल्यान्डिङ भीएफआर समय निकालेको हुन्छ ।’

कर्णका अनुसार एलएलभी समय हरेक साता फरक-फरक हुन्छ । ५ डिग्रीभन्दा बढीको कोणमा सूर्योदय भयो भने विमानस्थल खुलेको मानिने र सूर्यको किरण ५ डिग्रीभन्दा कम भयो भने सूर्यास्त भएको मानिने कर्ण बताउँछन् ।

आँखाले हेरेर गर्ने उडान सूर्योदयअघि र सूर्यास्तपछि गर्न नमिल्ने गरी प्राधिकरणले असार १७ गते भीएफआर उडानसम्बन्धी नियम संशोधन गरेको थियो । नियममा सबै विमानस्थल सूर्यास्तपछि अर्थात् लास्ट ल्यान्डिङ भीएफआर कटेपछि बन्द हुने र उडान-अवतरण गर्न नमिल्ने व्यवस्था छ ।

तर, उक्त नियममा एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई भीएफआर अर्थात् आँखाले हेरर गरिरहेको उडान आईएफआर अर्थात् उपकरणका आधारमा गरिने उडानमा परिवर्तन हुनसक्ने सम्भावना भएमा पहाडी र हिमाली क्षेत्रमा १० मिनेट र तराईका विमानस्थलमा २० मिनेट समय थप गर्न सक्ने अधिकार दिएको छ ।

सूर्यास्तअघि नै भीएफआर उडानबाट आईएफआर उडानमा जोडिने मिनिमम इनरुट अल्टिच्युट (एमईए) मा विमान पुग्ने निश्चित हुँदा मात्रै आँखाले हेरेर गर्ने उडानमा एलएलभी समय थप गर्न मिल्ने कानूनी व्यवस्था छ ।

महेन्द्रनगर, धनगढी, टिकापुर, नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, राजविराज, विराटनगर र चन्द्रगढी विमानस्थलमा २० मिनेटसम्म समय थप गर्न सकिने भए पनि अन्य विमानस्थलबाट भीएफआर उडान गर्दा १० मिनेटभन्दा बढी समय थप गर्न मिल्दैन ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएकै दिन एलएलभीसम्बन्धी नियम उल्लंघन गरिएको छ । पोखरा विमानस्थलबाट भीएफआर उडान गरेको विमान करिब १० मिनेटपछि मात्रै आईएफआरमा परिवर्तन हुने उचाईमा पुग्ने भएकाले एलएलभी समयपछि पोखराबाट उडान गर्न दिनु जोखिमपूर्ण भएको एक एटीसी बताउँछन् ।

एलएलभीसम्बन्धी नियम बेबास्ता गर्दा प्राधिकरण नेतृत्व उड्डयन सुरक्षाका विषयमा गम्भीर नभएको सन्देश जाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए ।

पुस १७ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको लास्ट एलएलभी समय ग्रिनविच समयमा ११:३८ (नेपाली समयअनुसार ५ बजेर २३ मिनेट) निर्धारण गरेको थियो । तर, पोखराबाट उक्त समयपछि ५ वटा उडान भएका थिए ।

कलसाइन ६६० को श्री एयरलाइन्सको विमान ११:४० (५ बजेर २५ मिनेट), कलसाइन ६१६ को विमान ११:४३ (५ बजेर २८ मिनेट), कलसाइन ६०८ को विमान ११:४६ (५ बजेर ३१ मिनेट), कलसाइन ६२० को विमान ११:५७ (५ बजेर ४२ मिनेट) र कलसाइन ६५४ को विमान ११:५९ (५ बजेर ४४ मिनेट) मा उडेको थियो ।

यी ५ मध्ये ३ वटा विमान थप गर्न मिल्ने १० मिनेटको अवधिमा उडान गरेका थिए भने दुई वटा एलएलभीको १९ र २१ मिनेटपछि उडेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख विक्रमराज गौतम एलएलभी समय कटेपछि उडान भरेका विमान भीएफआरबाट उडेलगत्तै आईएफआर प्रणालीमा परिवर्तन भएकाले नियमविपरीत नभएको दाबी गर्छन् ।

तर, प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पोखरा विमानस्थलबाट भीएफआर नियममा उडेको विमान आईएफआरमा परिवर्तन हुने मिनिमम इनरूट अल्टिच्युड (एमईए)मा पुग्न करिब १० मिनेट लाग्ने भएकाले एलएलभी समय कटेपछि गरिएका उडान नियमविपरीत भएको बताउँछन् ।

‘यो विषय महत्वपूर्ण नभएको भए प्राधिकरणले भीएफआर उडानसम्बन्धी नियम बनाएर हरेक साता विमानस्थल कार्यालयलाई एलएलभी समयको जानकारी किन दिने थियो ?’ उनी भन्छन्, ‘विमान अवतरणका लागि विमानस्थलनजिकै पुगेको छ तर एलएलभी समय कटिसकेको छ भने पनि एटीसीले विमान सुरक्षित रुपमा अवतरण हुने सम्भावना देख्यो र पाइलटले पनि अवतरण गर्छु भन्यो भने समय थप गरेर अवतरण अनुमति दिन सक्छ । तर, विमानस्थलमा रहेको विमान एलएलभी समय कटेपछि उडान गर्नु गम्भीर विषय हो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला पोखरा विमानस्थल उद्घाटन गरिएको दिन एलएलभी समय उल्लंघन नगरिएको दाबी गर्छन् । ‘एलएलभी समय कट्छ भनेर हतार-हतार पोखराबाट विमान भैरहवा उडान गरिएको थियो,’ उनले भने, ‘समय कटेकै भए पनि प्राधिकरणको महानिर्देशकलाई एलएलभी समय थप गर्ने अधिकारी हुन्छ ।’

निरौलाले एलएलभी समय नकटेको दाबी गरे पनि पोखरा विमानस्थल कार्यालयको लगबुकमा ५ वटा विमान एलएलभी समय कटेपछि उडेको प्रस्ट देखिन्छ । निरौला एटीसीले झुक्किएर लगबुक भर्दा एलएलभी समय कटेको हुन सक्ने दाबी गर्छन् ।

निरौलाले लगबुक गलत भएको दाबी गरे पनि पोखरा विमानस्थलमा कार्यरत एक कर्मचारी पुस १७ गते एलएलभी समय कटेपछि प्राधिकरणका महानिर्देशकको मौखिक निर्देशनमा ५ वटा विमान उडेको बताउँछन् ।

‘लगबुक झुक्किएर भरेको होइन, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल उद्घाटनमा आएका व्यक्ति काठमाडौं फर्किनुपर्ने दबाब दिएपछि एटीसीले विमानलाई उडान अनुमति दिएको थियो,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘डीजीलाई सेफ्टीको विषयमा ज्ञान पनि छैन, मतलब पनि छैन । केही कर्मचारीले उहाँलाई डीजीको अधिकार हुन्छ भन्नुहुन्छ, उहाँ त्यसैमा रमाउनुभयो ।’

प्राधिकरणका पूर्वमहानिर्देशक गौतम सेफ्टीको विषय कडाइका साथ कार्यान्वयन गर्नुपर्ने निकायको प्रमुखलाई नियममा लेखिएकोभन्दा बढी समय उडान गर्नेगरी अनुमति दिने अधिकारी नभएको बताउँछन् । ‘सबैभन्दा सुरुमा पाइलट आफैंले एलएलभीपछि म उड्दैन भन्नुपर्ने हो,’ गौतमले भने, ‘पाइलटले उड्छु भन्दा एटीसीले रोक्नुपर्ने हो । सेफ्टीको विषयमा यस्तो खेलाँची गर्न मिल्दैन ।’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी नेपालको उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय एउटै भएकाले यस्तो गल्ती निरन्तर हुने बताउँछन् । ‘उड्डयन क्षेत्रको नियामक र सेवाप्रदायक फरक भएको भए नियम उल्लंघन गर्ने आँट कसैलाई हुने थिएन,’ ती अधिकारीले भने, ‘डीजीले विमानस्थल उद्घाटन गर्न मान्छे लैजानुभयो । जसले गर्दा उहाँले एलएलभी समय उल्लंघन गरी उडान गर्न प्रेसर दिनुभयो ।’

भीएफआर उडान आँखाले हेर्दै गर्नुपर्नै भएकाले अँध्यारो हुँदा दुर्घटनाको जोखिम हुन्छ । जसले गर्दा प्राधिकरणले हरेक साता सूर्योदय र सूर्यास्तको समयमा हुने परिवर्तनसँग विमानस्थलहरुमा एलएलभी समय हेरफेर भएको जानकारी पठाउने गर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उपमहानिर्देशक ठूलो दुर्घटना नहोस् भन्ने उद्देश्यले एलएलभीसम्बन्धी नियम बनाइएको बताउँछन् । ‘एलएलभी सम्बन्धी नियम उल्लंघन गर्दा हवाई दुर्घटना हुन्छ भन्ने होइन,’ ती अधिकारीले भने, ‘तर यो नियम उल्लंघन गर्दा दुर्घटना हुने जोखिम बढ्छ । हवाई यात्रामा १ प्रतिशत पनि जोखिम लिन मिल्दैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारी एलएलभी समयलाई महत्व नदिनुको अर्थ प्राधिकरणका उच्च अधिकारीहरु उड्डयन सुरक्षाका विषयमा गम्भीर छैनन् भन्ने हो ।


शरद ओझा