१०६ मेगावाटको जगदुल्लामा जुट्यो १६ अर्ब, नबिल बैंकको नेतृत्वमा लगानी गर्न सम्झौता



काठमाडौं । १०६ मेगावाट जडित क्षमता भएको जगदुल्ला जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको छ ।

नबिल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको हो । नबिल बैंकले कन्सोर्टियम फर्मको नेतृत्व गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले ४ अर्ब रुपैयाँ, कर्मचारी सञ्चयकोषले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।

आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ स्वपुँजी (सेयर) बाट जुटाइनेछ ।

बुधबार कन्सोर्टियम फर्मका तर्फबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ ज्ञानेन्द्र ढुंगाना र जगदुल्ला जलविद्युत कम्पनीका सीईओ सञ्जय सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा सम्झौता गरिएको हो । मन्त्री बस्नेतले जनताको जलविद्युत कार्यक्रम नेपालको जलविद्युत् निर्माणको महत्वपूर्ण आयाम भएको बताए । उनले तीनवटै सरकारको यसमा सहभागिता हुने बताए ।

फाइनान्सियल क्लोजर गर्ने अन्तिम तयारी भइरहेका बेला नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ले धोका दिएको बताए । कम्पनीका सीईओ सञ्जय सापकोटाले ४९ प्रतिशत जनताको लगानीमा आयोजना निर्माण हुन लागेको बताए । ‘पहुँचमार्ग निर्माण र साईट कार्यालयको काम द्रुत गतिमा काम भइरहेको छ । अन्य तयारीको काम सकिएको छ,’ उनले भने, ‘आगामी वर्षबाट निर्माण थाल्ने योजनामा छ । ५ वर्षमा सक्ने लक्ष्य छ । समयमा पूरा गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।’

४ अर्ब ४० लाख रुपैयाँ वार्षिक आम्दानी गर्नेछ । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले सरकारी आयोजनाहरु समयमा बन्दैनन की भन्ने डर लागेको बताए । उनले समयमा पूरा गर्न प्रयास गरिदिन आग्रह गरे ।

समयमा सकिए लगानीकर्ताका लागि राहात हुने बताए । यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत अध्ययन भइसकेको छ । नेपाल विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले प्रतिवेदन तयार पारेको हो ।

ऊर्जा सचिव सुशिल चन्द्र तिवारीले नेपालको ऊर्जा विकासको महत्वपूर्ण क्षणमा उपस्थित भएको बताए । उनले यो आयोजना जनताको लगानीमा आयोजना बन्न लागेको बताए । तीनै तहका सरकारले आयोजना निर्माणमा कसरी सहकार्य गर्नुपर्छ भनेर नमुना प्रस्तुत हुने बताए ।

प्रस्तावित जलविद्युत् डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा निर्माण हुनेछ । हेडवर्क्स जगदुल्लाको हुरिकोटमा निर्माण हुनेछ । आयोजना अर्ध-जलाशय प्रकृतिको हुनेछ ।

यो जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । अघिल्लो बैशाख २८ गते नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच पीपीए सम्झौतमा हस्ताक्षर भएको हो ।

वर्खामा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ प्रतियुनिटमा पीपीए भएको छ । पिकिङ अवधिको १०.५५ रुपैयाँ प्रतियुनिट प्राप्त गर्नेछ । ४ देखि ६ घण्टासम्म पिकिङ अवधि छ । कर्णाली प्रदेशका शहरी विकास मन्त्री धनबहादुर बुढाले यो आयोजना निर्माण कर्णालीको समृद्धीसंग जोडिएको बताए ।

आयोजना निर्माणका लागि सबै खालको सहयोग गर्न तयार रहेको बताए । प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र शाहीले यो परियोजनाको कोसेढुंगाको रुपमा अघि बढ्न लागेको बताए ।

उनले कर्णालीमा निजी क्षेत्रको लगानीको ढोका खुलेको बताए । उत्पादित जलविद्युत आयोजना खपत नहुनु चिन्ताको विषय भएको बताए । यो कम्पनीले १२० मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ ।


क्लिकमान्डु