ब्रेकफास्ट कोदो/फापरको रोटी र खाजा भुटेको मकै खान्छन् चन्द्र ढकाल, बासी सेल तताएर खान हुरूक्कै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई दशैं भन्नेवित्तिकै सानो उमेरमा च्यांग्रा काट्ने र त्यसको मासु खाने कुराको याद आउँछ । ढकाल अहिले पनि च्यांग्रा काट्दा २५ रुपैयाँ बराबरको भाग लगाएको र त्यसको आधा आफ्नो हिस्सामा परेको सम्झन्छन् । र, त्यही साढे १२ रुपैयाँको मासु खाएर दशैं मनाएका थिए रे उनले ।

आम नेपालीका लागि झैं व्यवसायी ढकालका लागि मासु, सेलरोटी र नयाँ कपडा लगाउने अवसर थियो दशैं । दक्षिणको त विशेष महत्त्व थियो । कसले कति पैसा थियो भनेर गनेको सम्झन्छन् उनी । त्यो दक्षिणा स्कुल जाँदा खाजा खान प्रयोग गर्दा रहेछन् ।

घरमा छोरालाई दक्षिणा नदिइने भएकाले मामाघर वा बुढो मामाघर खुब जान मन लाग्थ्यो ढकाललाई । नयाँ लुगाको कुरा गर्दा उनका बाबुआमाले विद्यालय पढ्न जाने मिल्ने किसिमको लुगा हालिदिँदा रहेछन् ।

ढकाललाई मासु एकदमै मन पर्छ, त्यसमा पनि च्यांग्राको विशेष लाग्छ । ‘सेल पनि मनपर्छ । अहिले पनि बिहान चियासँग सेल खाउँ जस्तो लाग्छ,’ उनले आफ्नो अनुभुति साझा गरे ।

ढकाललाई पहिला आमाले पकाएको मिठो लाग्थ्यो । अहिले त उमेरले हो कि जसले पकाए पनि मिठो लाग्छ । ‘भोक मेट्ने त हो’ भन्छन् उनी ।

आमाले पकाउन नमिल्ने हुँदा र पढ्न काठमाडौं बस्दाखेरी आवश्यकताले पकाउने गरेका थिए ढकालले ।

अहिले खाना पकाउन सक्नुहुन्छ ? भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, ‘सक्छु । पकाउन पर्दा खेरी कुनै पनि खाना पकाउन सक्छु ।’

अहिले त चाहेर पनि पकाउन भ्याउँदैनन् । मासु, तरकारी, दाल, भात मिठो पकाउँछन् उनी । ‘ढिँडो चाहीँ पकाउन आउँदैन मलाई,’ उनले भने । अहिले पनि समय हुने भने पकाउन सक्ने दाबी उनले गरे । यद्यपि विद्यार्थी जीवनपछि पकाउने हिसाबले किचेन पसेका छैनन् ।

सानैदेखि हरेक काममा रमाउने उनी एकपल्ट हेरेपछि जे काम पनि फ्याट्टै सिक्थे । पकाउने पनि हेरेरै सिकेको दाबी उनी गर्छन् । पकाउन बाहेक घरमा चाहिने डोको, नाम्लो, थुन्से, भकारी सबै बनाउन जान्दछन् ढकाल । त्यो पनि एकैपल्ट हेरेको भरमा ।

ढकाल अहिले कार्बोहाइड्रेड युक्त खाना कम खान्छन् । विदेशमा जाँदा माछाका परिकार, सागसब्जी र मासु, ब्रेड बढी खान्छु ।

ढकालको एउटा अनौठो बानी रहेछ । उनको गाडीमा भुटेको मकै कहिल्यै टुट्दैन । मकै, भटमास, बदाम गाडिमै हुन्छ । दिउँसो पनि चपाउँदै हिँड्छन् । ‘सानो देखि नै लागेको बानी हो । त्यो हुन्छ नि फूल नउठेको ठेट्ना मकै । मसँग जहिल्यै साथैमा हुने गर्छ ।’ काठमाडौं बाहिर जाँदा पनि जहाँपायो त्यहीँ खानुभन्दा साथमा राखेको मकै नै खानु उपयुक्त मान्छन् उनी ।

मांशाहारी भोजनमा च्यांग्रा, लोकल कुखुरा लगायत मन पराउँछन् । उनलाई जेरी पनि खुबै मन पर्छ । गाउँबाट सदरमुकाम जाँदा जेरी खानैपथ्र्यो उनलाई ।

खाना प्रायः घरमै खानुपर्छ भन्ने सोच भएकाले रेस्टुरेन्ट कम जान्छन् ।

‘सानो हुँदा जे उपलब्ध थियो र जेलाई मिठो मानिएको थियो,’ उनले भने, ‘समय ढल्किँदै जाँदा त्यो खाना मिठो लाग्ने रहेछ । खाजा भनेको मकै भटमास नै हो जस्तो लाग्छ मलाई त ।’

पहिला पहिलो अरु खाने विकल्प नभएकाले कोदोको रोटी खाने गरेको तर अहिले स्वाद त्यसैमा बसेको र स्वास्थ्यका हिसाबले लाभदायिक भएकाले पनि ब्रेकफास्टमा कोदो र फापरको रोटी खाने गरेको बताउँछन् ढकाल । दिउँसो मकै खान्छन् ।

अचेल युट्युबले गर्दा बाहिर खाँदा मिठो लागेको खाना घरमा पनि पकाएर खान सकिएको उनी बताउँछन् ।

रेस्टुरेन्टमा पकाएको खानाभन्दा कोदोको रोटी, भुटेको मकै र सेलरोटी मनपर्छ उनलाई । सेलरोटी पनि बासी मिठो लाग्छ रे । ‘अघिल्लो दिन पाकेको सेल भोलिपल्ट तताएर चियामा चोपेर खान साह्रै मिठो हुन्छ,’ ढकाल भन्छन् ।

उनी खानामा एडजस्ट गर्न सक्छन् । कम्प्लेन गर्दैनन् । खानेकुरामा ज्ञानी हुनुहुँदो रहेछ है ? भन्ने प्रश्नमा ढकाल जवाफ दिन्छन्, ‘खानामा मात्र होइन अरु कुरामा पनि ज्ञानी थिएँ ।’

सानैदेखि निकै ज्ञानी थिए चन्द्र ढकाल । मनका कमल थिए, भावात्मक पनि थिए ।

सानो हुँदा ढकालले पानीमा काँक्रो भिजिरहेको देखेर हजुरबालाई भनेका थिए, ‘बिचरा काँक्रो पानीमा रुझ्यो ।’

कोहीसँग झगडा गर्दैनथे ढकाल । दशैंको बिदामा पिङ धेरै नै खेल्थे । दशैंमा पानी पर्‍यो भने साह्रै खल्लो लाग्थ्यो उनलाई । ‘वर्षा सकिएपछिको दशैं रमाइलो हुन्थ्यो,’ उनले सुनाए ।

दशैंमा नोटको उपलब्धताका आधारमा दक्षिणा दिन्छन् उनी । ‘उपलब्ध नोट हेरेर कसैलाई १००, १००० वा २० रुपैयाँ पनि हुन सक्छ,’ उनले भने ।

प्रस्तुत छ, उनै ढकालसँग क्लिकमान्डुका रोविन पौडेलले गरेको खाना र दशैं सम्झना विशेष कुराकानीः


रोविन पौडेल