लामिछानेले नै फारम भरेर सहकारीबाट ऋण लिएको देखियो: छानबिन समिति



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट आफैं माग फारम भरेर एक करोड रुपैयाँ ऋण लिएको पाइएको छ । छानबिन समितिका सदस्यहरुले सञ्चारकर्मीहरुलाई यसबारे प्रमाण भेटिएको जानकारी दिएका छन् ।

बिहीबार छानबिन समितिको प्रतिवेदन पोखरा महानगरका मेयर धनराज आचार्यले हस्तान्तरण गरेका हुन् । उक्त प्रतिवेदनमा लामिछाने ग्यालेक्सी टिभीको शेयरधनीसहित प्रबन्ध निर्देशक रहेका बेला उनी आफैंले फारम भरेर ऋणका लागि निवेदन दिएको प्रमाण भेटिएको हो । छानबिन समितिका विज्ञ सदस्य दीपकप्रकाश आचार्यले यसको फोटोकपी पनि आफूहरुले प्रतिवेदनमा राखेको बताएका छन् ।

लामिछानेले भने ग्यालेक्सीबाट आफूले पैसा नलिएको र कसैले भौचर भरिदिएको भए त्यसबारे आफूलाई ‘थाहा नभएको’ भन्दै आएका थिए । जवकि उनको नाममा ग्लोबल आईएमई बैंकमा रकम जम्मा भएको प्रमाण यसअघि नै विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरिसकेका छन् ।

छानविन समितिले तयार पारेको प्रतिवेदन अनुसार लामिछानेको माग अनुसार नै ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमा एक करोड रुपैयाँ पठाइएको प्रमाण भेटिएको छ । जुन कुरा गैरकानुनी मानिन्छ ।

गोर्खा मिडिया नेटवर्ककै मातहत ग्यालेक्सी टिभी सञ्चालन हुँदै आएको थियो । र सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष जीबी राई ग्यालेक्सी टेलिभिजनका अध्यक्ष पनि हुन्। जो हाल फरार छन् । गृहमन्त्री लामिछानेले भने प्रतिपक्षी हुँदा जीबी राईलाई तत्कालिन सरकारले नै लुकाएको आरोप लगाउँदै आएका थिए । हाल उनी गृहमन्त्री भएपछि उनलाई पक्राउ गर्नका लागि तत्परता नदेखाएको सहकारी पीडितहरुको गुनासो रहँदै आएको छ ।

पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले पनि लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा पूरक जाहेरी दिएका थिए । सूर्यदर्शनका पीडितहरुले गृहमन्त्री लामिछानेको नाम किटान गर्दै थप ४ जना र १४ कम्पनीविरुद्ध उजुरी दिएका थिए । गत भदौमा जाहेरी परेपछि असोजमा १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा चलिरहेको छ ।

यससँगै सुप्रिम सहकारीको रकम हिनामिनाबारे रुपन्देही जिल्ला अदालतमा प्रहरीले प्रस्तुत गरेको प्रतिवेदनमा लामिछानेले विनाधितो, विनाप्रक्रिया ऋण लिएको उल्लेख छ । अनुसन्धान प्रतिवेदनका विभिन्न सात पृष्ठका नौ ठाउँमा लामिछानेको नाम उल्लेख छ ।


क्लिकमान्डु