यी ६ बैंकमै गएर फाइल पल्टाउँदै राष्ट्र बैंक, के-के खोज्दैछ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले यसैवर्ष हिमालयन, प्राइम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्थलगत सुपरीवेक्षण गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकको वार्षिक तालीकाअनुसार बाँकी रहेका यी ३ वाणिज्य बैंकमा चालू आर्थिक वर्षमा स्थलगत सुपरीवेक्षण हुन लागेको हो ।

हाल राष्ट्र बैंकको सुपरीवेक्षण टोली ग्लोबल आइएमई, प्रभु र नेपाल बैंकमा पुगेर उनीहरुको कामकारबाही नियामकीय व्यवस्थाअनुसार भए-नभएको जाँच गर्दैछ । बैंकमै पुगेर फाइल पल्टाउने क्रममा केन्द्रीय बैंक १४ वाणिज्य र नेपाल इन्फ्रास्ट्रक्चर बैंक पुगिसकेको छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग हरेक वर्ष बैंकमा कम्तिमा एकपटक पुग्ने गर्छ । वैशाखदेखि तेस्रो चरणको सुपरीवेक्षण हुँदैछ । बाँकी रहेकामध्ये आधामा अहिले टोली खटिएको छ भने बाँकीमा पनि चाँडै जाने तयारी रहेको केन्द्रीय बैंक स्रोतले बतायो ।

सञ्चालनमा रहेका २० मध्ये १४ वाणिज्य बैंकको स्थलगत निरीक्षण प्रतिवेदन तयार भइसकेको छ ।

बैंक सुपरीवेक्षण विभागअन्तर्गत् स्थलगत निरीक्षण महाशाखासँग उपनिर्देशक नेतृत्वको ३ वटा ४ सदस्यित स्थलगत निरीक्षण इकाइ छन् । ती इकाइमार्फत् राष्ट्र बैंक एकैपल्ट ३ बैंकमा पुग्ने गर्छ ।

गत आर्थिक वर्ष केन्द्रीय बैंकले १२ बैंकमा समष्टिगत स्थलगत निरीक्षण गरेको थियो भने ११ वटामा लक्षित निरीक्षण गरेको थियो । यस्तै १८ बैंकमा ३७ पल्ट विशेष निरीक्षण गरेको थियो । सबैभन्दा धेरै विशेष निरीक्षण प्रभु र लक्ष्मी सनराइज बैंकमा ४–४ पल्ट तथा सबैभन्दा कम सिद्धार्थ, सिटिजन्स, सानिमा, नेपाल एसबीआई र कृषि विकास बैंकमा १-१ पल्ट केन्द्रीय बैंक पुगेको थियो । केन्द्रीय बैंकले माछापुच्छ्रे र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने विशेष निरीक्षण गर्नुपरेको थिएन ।

केन्द्रीय बैंकका अनुसार गत आवको पहिलो त्रैमासमा कुमारी र एनसीसी बैंकको समष्टिगत निरीक्षण गरिएकामा लक्ष्मी र नेपाल एसबीआईको लक्षित निरीक्षण भएको थियो । यस्तै दोस्रो त्रैमासमा निफ्रा, स्ट्यान्डर्ड चार्टर्ड, नबिल र एनआईसी एशियाको समष्टिगत तथा राष्ट्रिय वाणिज्य, सानिमा र सनराइज बैंकको लक्षित निरीक्षण भएको थियो । तेस्रो त्रैमासमा प्रभु, सिटिजन्स र ग्लोबल आईएमईको समष्टिगत तथा एभरेस्ट, एनएमबि र माछापुच्छ्रेको लक्षित निरीक्षण भएकामा चौथो त्रैमासमा हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र प्राइमको समष्टिगत तथा कृषि विकास, नेपाल र सिद्धार्थ बैंकको लक्षित निरीक्षण भएको थियो ।

राष्ट्र बैंकबाट जाने निरिक्षण टोली सम्बन्धित बैंकहरुको उच्च व्यवस्थापन र अन्य व्यवस्थापकीय क्षेत्रहरु समेटिने गरी समष्टिगत स्थलगत निरीक्षण कार्य गर्छ । ती क्षेत्रमा अन्तरनिहित जोखिम तथा जोखिम व्यवस्थापन, कोष व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, कर्जा व्यवस्थापन, निक्षेप व्यवस्थापन, वित्त व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनलगायत पर्छन् ।

राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थामा स्थलगतसँगै गैर–स्थलगत, लक्षित, विशेष र अनुगमन निरीक्षण गर्छ । समष्टिगत, स्थलगत र लक्षित निरिक्षण वार्षिक कार्ययोजना अनुसार गरिन्छ भने गैरस्थलगत र विशेष निरिक्षण बैंक वा वित्तीय संस्थाहरुबाट प्राप्त सूचना, जानकारी एवं विवरणहरुको आधारमा वा सरोकारवाला पक्ष तथा ग्राहकहरुको गुनासोको आधारमा हुन्छ ।

सुपरीवेक्षण टोलीले बैंक वा वित्तीय संस्थाको समग्र जोखिम विवरण (रिस्क प्रोफाइल)को आधारमा उच्च जोखिम देखिएका क्षेत्र, गैरस्थलगत सुपरीवेक्षण इकाई, प्रतिवेदन कार्यान्वयन इकाईबाट पहिचान भएका विषयहरू वा सुपरीवेक्षण विभागले मनासिव ठानेका कुनै विशेष क्षेत्र वा कारोबारका लागि विभागले लक्षित निरीक्षण गर्छ ।

बैंक सुपरीवेक्षण विभागले नियमित स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दै वार्षिक प्रतिवेदन तयार पार्छ । निरीक्षणका क्रममा बैंकले नियामकीय निर्देशन पालना नगरेको पाइए कारबाही पनि गर्छ । विभागले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनले वित्तीय स्थायित्व कायम गर्न केन्द्रीय बैंकले गरेको पहल, बैंकिङ क्षेत्रको पर्फमेन्स, निरीक्षणमा देखिएका विषयहरु तथा जोखिम र चुनौती उल्लेख गर्दछ ।

स्थलगत निरीक्षण विभागको वार्षिक योजनाअनुसार हुन गर्दछ जुन जोखिममा आधारित सुपरीवेक्षण म्यानुअल अनुसार गरिन्छ । सुपरीवेक्षकीय निरीक्षण सुरुवाती, तालीकाबद्ध समष्टिगत, लक्षित र विशेष गरी ४ प्रकारको हुन्छन् ।

सुरुवाती निरीक्षण नयाँ बैंक स्थापनाको ६ महिनाभित्र गरिन्छ । तालीकाबद्ध समष्टिगत निरीक्षण नियमित सुपरीवेक्षण हो जुन हरेक बैंकमा कम्तिमा वार्षिक एकपल्ट गरिन्छ । लक्षित निरीक्षण कर्जा, ट्रेड फाइनान्स जस्ता तोकिएका जोखिम र सञ्चालन क्षेत्रको निरीक्षण हो । यसैगरी विशेष निरीक्षण आवश्यकताअनुसार गरिने निरीक्षण हो ।


क्लिकमान्डु