लक्ष्मी ग्रुपले भेन्युपछि आइटेन र क्रेटा एसेम्बल गर्दै, मूल्य घट्ने



काठमाडौं । लक्ष्मी ग्रुपले भेन्युपछि ग्राण्ड आइटेन र क्रेटा(ईभी) एसेम्बल गर्ने भएको छ ।

लक्ष्मी ग्रुप अन्तगर्तको लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासीको एसेम्बल प्लान्टबाट थप दुई मोडलका गाडी एसेम्बल गर्न लागेको हो । लक्ष्मी समूह नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता पनि हो ।

हुन्डाईको गाडी नेपालमै एसेम्बल गर्न नवलपरासीको रामग्राम-६ मा लक्ष्मी मोटर्स कर्पोरेसनले एसेम्बल प्लान्ट तयार पारिएको छ । बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि प्लान्टबाट भेन्यु गाडी एसेम्बल सुरु भएको छ ।

लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठले आइटेनको उत्पादनको लागि सर्टिफिकेसन लिने प्रक्रियामा रहेको बताए । ‘अगष्टमा सर्टिफिकेटसन लिने काम पूरा हुन्छ । अनि उत्पादनमा जान्छौं ।  त्यसपछि क्रेटाको सर्टिफिकेसन डिसेम्बरसम्म लिइसक्ने लक्ष्य छ,’ उनले भने, ‘२०२५ को मार्चदेखि क्रेटा ईभीमा नै उत्पादन थाल्ने योजना पनि छ ।’

उनले २०२५ को जनवरीसम्म क्रेटा लन्च गर्ने गरि मार्चबाट व्यवसायिक उत्पादनको तयारी भइरहेको बताए । कम्पनीले पहिलो चरणमा भेन्यु गाडी उत्पादन थालेको छ ।

लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासीको एसेम्बल प्लान्टमा एसेम्बल गरिरहेको भेन्यु कार

लक्ष्मी ग्रुपले करिब २०० करोड रुपैयाँ खर्चेर तयार पारेको एसेम्बल प्लान्ट १० बिघामा फैलिएको  छ । करिब ११ महिनामा यो प्लान्ट तयार पारिएको हो । ‘प्लान्ट व्यवस्थापनमा राम्रो टिम लागेको थियो । नेपालको परिवेशमा ११ महिनामा प्लान्ट नै तयार पार्नु रिमार्केबल नै भन्नुपर्छ,’ उनले भने, ‘धेरै जना स्थानीय, नगरपालिकाका मेयरलगायतले हरेक हप्ता चेन्जका चेन्ज हुने गरी काम गरेको समेत भन्नुभयो ।’

यस्तै, ८००० ट्रंकभन्दा बढी माटो हालेर खाल्डो पुरेर त्यसमाथि प्लान्ट तयार पारिएको हो । यो प्लान्टमा करिब २०० जनाले रोजगारी समेत पाएका छन् ।

सन् २००६ मा लक्ष्मी ग्रुपले हुन्डाई डिलर भएर व्यापार सुरु गरेको हो । त्यतिबेला  नै यसलाई उद्योगमा परिवर्तन गर्ने ग्रुपकाे ब्याक अफ द माइन्डमा रहेकाे थियो । ‘पहिलो कदमका रुपमा २०१३ मा मलेसियामा रहेको हुन्डाईको एसेम्बल प्लान्ट भिजिट गरेका थियौं । त्यसको एकदमै राम्रो अध्ययन गरेका थियौं,’ श्रेष्ठले प्लान्ट राख्ने तयारीका बारेमा सुनाए ।

‘एसेम्बल प्लान्ट भिजिट गरेपछि हामीले के साेच्याै भने कुनै पनि प्रोजेक्टकको एउटा थ्रेस होल्ड हुन्छ । त्यो एचिभ गरियो भने ब्रेक इभन प्वाइन्ट हिट गर्छ,’ उनले भने, ‘तर, त्यसकाे लागि न्यूनतम थ्रेस होल्ड लाइन चाहिन्छ भन्ने भयो । त्यो बेलामा हाम्रो बुझाई भनौ, थ्रेस होल्ड लाइन ४ हजार युनिट गाडी भन्ने निस्केको थियो ।’

अर्थात ४ हजार युनिट गाडी बेच्न सकियो भने प्लान्ट ब्रेक इभनमा जान्छ भन्ने मोटामोटी हिसाब हो ।

लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठ

तर, कम्पनीलै एकैवर्ष ६ हजार गाडी पनि बेच्यौं । २०१५ मा भुकम्प गयो, त्यसपछि नाकाबन्दी भयो । बजार फ्रिज भएको अवस्था थियो । २०१६ मा सरकारले स्वरोजगार, भुकम्प पिडितका लागि भनेर गाडीको नयाँ कोटा खोल्यो । सरकारले ३५०० गाडीको कोटा खोलेको थियो । लक्ष्मी ग्रुपले मात्रै १५०० बेचेको थियो । यसरि कम्पनीलै एकैवर्ष ६ हजार गाडी पनि बेच्यौं ।

सन् २०१७ मा कम्पनीले ४००० युनिट बेच्यो। ‘त्यतिबेला हामीलाई उद्योग लगाउनुपर्छ भन्ने लागेको थियो । २०१९ मा नोभेम्बरमा हुन्डाईसँग द्धिपक्षीय समझदारी (एमओयु) भयो । इक्विपमेन्ट सोर्सिङ गर्ने, ठाउँ हेर्ने भन्दाभन्दै कोभिड आयो ,’ उनले भने, ‘२०२३ मार्चमा हामीले ग्राउण्ड ब्रेक गर्‍यौं ।’

नेपालमै एसेम्बल भएपछि मूल्य घट्ने

श्रेष्ठले नेपालमै एसेम्बल हुन थालेपछि दुबै गाडीकाे मूल्य घट्ने बताए । उनका अनुसार तीनवटा मोडल उत्पादन सुरु भएपछि प्लान्ट ६० प्रतिशत उपयोगमा आउनेछ । ‘अर्को वर्ष हामी तीनवटा मोडलमा गएपछि फरक पर्छ । ६० प्रतिशत प्लान्ट प्रयोगमा आएपछि ओभरहेड कष्ट बाँडिन्छ । अनि मूल्य घट्न सक्छ ।’

‘तर, मान्छेका धेरै अपेक्षाहरु छन,’ उनले भने, ‘कष्ट घट्छ भनेर कुरैर बसेको पनि देखेका छौं । अपेक्षा मिट गर्नु हाम्रै दायित्व हो।’

उनका अनुसार भेन्युको समेत मूल्य घटाउन वर्क आउट भइरहेको छ । ‘लन्च हुदाँसम्म मूल्य फिक्स हुन्छ । हामी मूल्यमा ग्राहकहरुलाई केहि बेनिफिट दिनेछौं,’ उनले भने, ‘कष्टिङ पार्टहरु हेरेर अध्ययन गरिरहेका छौं । हामीलाई चूनौती पनि छ ।’

हुन्डाईको नवलपरासीस्थित एसेम्बल प्लान्ट

उनका अनुसार सुरुवाती क्रममा भएकाले चूनौती छ ।  सुरुवातमा  खर्च बढी हुन्छ । ‘जबसम्म हाम्रो प्लान्ट एउटा निश्चित विन्दुसम्म प्रयोगमा आउँदैन, त्यस बेलासम्म हाम्रो खर्चहरु उच्च नै हुन्छ,’ उनले भने, ‘प्लान्टको क्षमता ५००० युनिट भएपनि अहिले आजबाट हिसाब गर्दा ६ महिनासम्म भेन्यु मात्रै उत्पादन गर्छौं । त्यतिबेलासम्म प्लान्ट कम प्रयोगमा आउँछ । ओभर हेड कष्ट धेरै हुन्छ । अहिलेको लोडिङलाई कसरी मिलाउने भन्ने कुरा नै चूनौतीपूर्ण छ ।’

उनका अनुसार दुई/तीन वर्षको साइकल प्लान्टले पूरा गरेको भए, यो विषय धेरै सोचेर बस्नुपर्ने थिएन । प्लान्टबाट एउटा गाडी उत्पादन गर्ने र १०० गाडी उत्पादन गर्ने कुरा त फरक पर्छ । ‘ओभरहेड कष्ट त १०० वटामा बाडिन्छ नी । यसले मूल्यमा धेरै फरक पर्छ,’ उनले भने, ‘अहिले हामीलाई त्यहि चूनौती भइरहेको छ ।’

लक्ष्मी मोटर्स कर्पोरेसनले नवलपरासीको एसेम्बल प्लान्टले  हाल एक घण्टामा दुई युनिट गाडी उत्पादन गर्न सक्छ ।


क्लिकमान्डु