४० ठाउँमा एकैपटक १० भन्दा बढी ईभी चार्ज गर्न मिल्ने चार्जिङ हब बनाउने तयारी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) एकैपटक चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ ।

विद्युत प्राधिकरणले सातै प्रदेशका ४० स्थानमा ईभी चार्जिङ हब बनाउन अध्ययन समेत गरिसकेको छ । ५१ वटा फाष्ट चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालन गरेको प्राधिकरणले चार्जिङ हब बनाउने योजना बनाएको हो । जसमा बाइक, स्कुटर, रिक्सा, बस, मिनी बस, माइक्रो बस एकैपटक चार्ज गर्न मिल्छ ।

निजी क्षेत्रलाई समेत अब चार्जिङ हब बनाउन प्रोत्साहन गर्न लागेको नेपाल विद्युत प्राधिकरणका एक इन्जिनियरले बताए । उनका अनुसार स्रोत सुनिश्चितता भएपछि आयोजना अघि बढ्ने छ ।

पहिलो चरणमा झापाको मेचीनगर, पोखरा, बुटवल, भरतपुर,काठमाडौं, कोहलपुर लगायतमा स्थानमा हब बनाउदा उपयुक्त हुने निष्कर्ष छ । त्यसपछि क्रमश बनाउदै जानुपर्ने प्रतिवेदनमा उल्लेख छ । चार्जिङ हबमा भीआईपीका लागि समेत कोटा राखिएको हुनेछ ।

प्राधिकरणले गरेको एक अध्ययन अनुसार  पछिल्लो समय निजी क्षेत्र विद्युतीय सवारीसाधनप्रति आकर्षित भएको छ । विद्युतीय बससँगै सानान माइक्रोबसहरु समेत सार्वजनिक सवारीसाधनका रुपमा प्रयोगमा आउन थालेका छन् । विद्युतीय सवारीसाधनलाई सार्वजनिक सवारीमा प्रवर्द्धनका लागि चार्जिङ स्टेसनहरुको पर्याप्त निर्माण गर्नुपर्छ । सरकारले आयातमा कर छुट दिएको छ । चार्जिङ स्टेसनको अभावले निजी ईभी प्रवर्द्धनलाई असर गरिरहेको छ ।

चार्जिङ पूर्वाधारको अभाव हुन थालेपछि प्राधिकरणले ईभी हब चार्जिङ स्टेसन निर्माणको लागि अध्ययन गरेको हो । प्राधिकरणले केहि आयोजना गर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागेको छ ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सधैभरी चार्जिङ स्टेसन बनाइरहन नसकिने बताए । ‘प्राधिकरणले सधैभरी चार्जिङ स्टेसन बनाएर बस्न सक्दैन । त्यो हाम्रो व्यवसाय होइन । हामी त बिजुली बेच्ने हो, ‘ उनले भने, ‘चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई सहुलियत दिने हो ।’ उनकाम अनुसार चार्जिङ स्टेसन निर्माणका लागि ट्रान्सफर्मर, मिटर, लाइन उपलब्ध गराउने लगायको काम प्राधिकरणले गरिरहेको छ ।

चार्जिङ स्टेशन सञ्चालनका लागि केन्द्रीय अनुगमन प्रणाली विकास गर्न लागेको छ। प्राधिकरणले ईभी प्रयोगकर्ताका लागि मोबाइल एप, भुक्तानी प्रणाली पनि विकास गरेको छ

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रले साना ठूला गरी ४०० भन्दाबढी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले ईभी बिक्रेतालाई समेत चार्जिङ स्टेसन निर्माणका लागि निर्देशन दिएको छ । कम्पनी बिक्री गर्ने गाडीहरुलाई पुग्ने गरी चार्जिङ स्टेसन बनाउन प्राधिकरणले निर्देशन दिएको हो ।

त्यसै गरी प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको नेतृत्वमा चार्जिङ स्टेसनको महसुलसम्बन्धी अध्ययन भएको थियो । जसले हालको मूल्यमा २ रुपैयाँ बढाएर १०० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।

स्रोत: नेपाल विद्युत प्राधिकरण

विद्युत प्राधिकरणले तोकेको महसुलमा शतप्रतिशत बढी लिन पाउने व्यवस्था गर्न सिफारिस गरेको हो । अहिले तोकिएको महसुलमा निजी चार्जिङ स्टेसन सञ्चालकले २० प्रतिशतसम्म बढी लिन पाउछन् । शतप्रतिशत बढी लिन पाए ५ वर्षमा लगानी फिर्ता हुने प्रतिवेदनको निष्कर्ष छ । आम्दानी नै नभएका कारण निजी क्षेत्र आकर्षित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

थप समाचार

ईभी बिक्रेतालाई चार्जिङ स्टेसन बनाउन प्राधिकरणको प्रोत्साहन, १०० प्रतिशत नाफा दिने

चार्जिङ स्टेसन मर्मतका लागि प्राधिकरणले बनाउँदैछ ३ सर्भिस स्टेसन, गाडी र इन्जिनियर स्ट्याण्डवाई रहने

५०० वटा ईभी चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा प्राधिकरण, अर्थसँग २ अर्ब स्रोत सुनिश्चितता माग


दिनेश खड्का