१४ वटा बिमा कम्पनीका १२१ वटा सावधिक जीवन बिमा पोलिसी, कुनको कति ?
काठमाडौं । सञ्चालनमा रहेका १४ बिमा कम्पनीले ४१२ वटा बिमालेख जारी गरेका छन् । जसमा सावधिक जीवन बिमा पोलिसीको हिस्सा २९.३६ प्रतिशत रहेको छ । १४ वटा कम्पनीले अहिलेसम्म १२१ वटा सावधिक जीवन बिमाको पोलिसी बिक्री गरेका छन् ।
जीवन बिमा कम्पनीहरुले जारी गरेका बिमा पोलिसीमा ठूलो हिस्सा सावधिक जीवन बीमाका हुने गरेको छ ।
कुनै निश्चित अवधिसम्मको लागि गरिने बीमालाई सावधिक जीवन बीमा भन्ने गरिन्छ । बीमा अवधि सकिएपछि स्वयमं बीमितले वा बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमितको हकवालालाई बीमांक रकम (बिमा गरिएको रकम) र बोनस प्रदान गर्ने गरिन्छ ।
बिमा प्राधिकरणअनुसार १४ वटा जीवन बिमा कम्पनीमध्ये अधिकतम २३ देखि न्यूनतम २ वटा सम्म यस्तो पोलिसी बिक्री गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थाले सावधिक जीवन बिमाका ५ वटा पोलिसी विभिन्न मितिमा ल्याएको छ ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न १० वटा सावधिक जीवन बिमाका पोलिसी बिक्री गरेको छ । कम्पनीले विभिन्न शीर्षकमा यस्ता पोलिसी ल्याएको छ । यी पोलिसी फरक फरक समयमा ल्याएइको हो ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्सले सावधिक जीवन बिमाको १३ वटा पोलिसी बिक्री गरिरहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले विभिन्न समयमा ९ वटा सावधिक जीवन बिमाका पोलिसी ल्याएर बिक्री गरिरहेको छ ।
कम्पनीले विभिन्न समयका लागि यस्तो पोलिसी ल्याएको छ ।
मेट लाइफ इन्स्योरेन्सले विभिन्न समयमा ६ वटा सावधिक जीवन बिमाको पोलिसी ल्याएको छ ।
यता एशियन लाइफ इन्स्योरेन्सले विभिन्न समयमा ११ वटा सावधिक जीवन बिमा पोलिसी ल्याएको छ ।
सूर्य ज्योति लाइफ इन्स्योरेन्सले १० वटा सावधिक जीवन बिमा पोलिसी ल्याएको छ । हाल हिमालयन लाइफ इन्स्योरेन्सका २३ वटा सावधिक जीवन बिमा पोलिसी रहेका छन् । गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्स मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो । तीन वटा कम्पनी मर्ज भएकाले पनि पोलिसीको संख्या बढेको हो ।
यस्तै आइएमई लाइफ इन्स्योरेन्सले तीन वटा सावधिक जीवन बिमा पोलिसी ल्याएको छ ।
यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले ५ वटा सावधिक जीवन बिमा पोलिसी बिक्री गरिरहेको छ । यस्तै सानिमा रिलायन्सले १० वटा सावधिक जीवन बिमा पोलिसी ल्याएको छ । सानिमा र रिलायन्स मर्ज भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बनेको हो।