क्लास प्रोजेक्टको रुपमा शुरु भएको ‘सजिलो सेवा’, मासिक डेढ लाखसम्म कमाउने माध्यम



काठमाडौं । कविशभक्त श्रेष्ठ र सुजित रेग्मी सन् २०१६ मा काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गर्दै थिए । छँदाखाँदाको जागिर छाडेर उनीहरुले एमबीए पढ्न शुरु गरेका थिए । आफैंले केही गर्ने हुटहुटी दुवैमा थियो ।

अध्ययनकै क्रममा उनीहरुले स्टार्टअप व्यवसायको सोच बनाए । क्लास प्रोजेक्टका रुपमा आएको सोच थियो त्यो । छलफल गर्दै जाँदा त्यो सोचमा केही परिवर्तन आयो । केही परिमार्जन भयो । समय बित्दै जाँदा श्रेष्ठ र रेग्मीसँग पुकार आचार्य पनि जोडिए । अन्नपूर्ण आधार शिविरसम्मको पदयात्राका क्रममा पुकारलाई श्रेष्ठ र रेग्मीले ‘स्टार्टअप’ बारेको योजना सुनाएका थिए ।

तीन जनाको सोचले मूर्त रुप पायो । अनि जन्मियो, ‘सजिलो मर्मत सेवा’ । सजिलो मर्मत सेवा अहिले ‘रिब्रान्डिङ’ भएर ‘सजिलो सेवा’ बनेको छ ।

फेसबुक पेज बनाएर शुरु गरेको कम्पनीले अहिले ३२ जनालाई पूर्ण रोजगारी दिएको छ । करिब ४ सय सेवाप्रदायक दक्ष कामदार सजिलो सेवामा आबद्ध छन् । ५० हजारभन्दा धेरै पटक सजिलो सेवामार्फत विभिन्न सेवा प्रदान गरिएको छ । तीन लाख रुपैयाँ लगानीबाट तीन जना साथी मिलेर शुरु गरेको व्यवसायसँग जोडिएकाहरुले अहिले मासिक डेढ लाखसम्म आम्दानी गरिरहेका छन् ।

सजिलो सेवामा घर तथा कार्यालयमा चाहिने सम्पूर्ण सेवा उपलब्ध हुन्छ । प्लम्बर होउन् या कार्पेन्टर, सबै सजिलो सेवाले उपलब्ध गराउँछ । अहिले ५० भन्दा धेरै सेवा सजिलो सेवामा उपलब्ध छन् ।

‘सजिलो सेवा एउटा सेवामूलक कम्पनी हो, जसले बजारको रुपमा काम गर्छ,’ कविश भन्छन्, ‘सजिलो सेवा उपभोक्ता र सेवाप्रदायकलाई जोड्ने पुल हो, जहाँबाट एउटा घर वा कार्यालयका लागि आवश्यक सबै सेवा प्राप्त हुन्छ ।’

क्लास प्रोजेक्टका रुपमा आएको सोचका विषयमा उनीहरुले गहन विचार मन्थन गरे । बजारमा अनुसन्धान गरे । विभिन्न स्टार्टअपसम्बन्धी कार्यक्रममा प्रस्तुत गरे । कविश भन्छन्, ‘विभिन्न ठाउँमा हाम्रो आइडियालाई प्रस्तुत गर्दै जाँदा कक्षा कोठामा जन्मिएको सोचले नै पछि सजिलो सेवाको रुप लिएको हो ।’

कक्षामा कुनै न कुनै बिजनेस प्लान बनाएर प्रस्तुत गर्नुपर्ने हुन्थ्यो । बिजनेस आइडिया ल्याउन भएकै समस्या समाधान गर्नुपर्छ भन्ने थियो । उनीहरुले प्लम्बिङजस्ता समस्या समाधान गर्ने बाटो खोजे र त्यहीँबाट अनुसन्धान गर्दै गए ।

बानेश्वर क्षेत्रका सयभन्दा धेरै घरमा उनीहरु पुगे । प्राविधिक दक्ष जनशक्तिको उपलब्धताको विषयलाई लिएर घर-घरमा सोधे । कर्पोरेट क्षेत्रमा पनि पुगेर उनीहरुले अनुसन्धान गरे । धेरैको जवाफ एउटै हुन्थ्यो- भनेजस्तो काम गर्ने दक्ष जनशक्ति पाउनै गाह्रो छ ।

अनुसन्धानका क्रममा उनीहरु दक्ष जनशक्ति उत्पादन गर्ने सीटीईभीटीजस्ता विभिन्न प्राविधिक विद्यालयमा पनि पुगे । त्यहाँबाट उत्पादित जनशक्ति काम नपाएको गुनासो गर्थे । पढिरहेकाहरु पनि काम पाउनेमा विश्वस्त देखिँदैन थिए । करिब २ सय जनासँग कुरा गरे । दक्ष भएर पनि पहिला त काम नै नपाइने, पाइए पनि कामको सम्मान नहुने, राम्रो व्यवहार नगर्ने जस्ता अनुभव उनीहरुले सुनाए । अधिकांशको गुनासो हुन्थ्यो, ‘नेपालमा काम पाइँदैन, नबिदेसिएर के गर्ने ?’

उपभोक्ता र सेवा प्रदायकबीच एउटा ‘ग्याप’ थियो । कम्पनीका संस्थापकले त्यही ‘ग्याप’लाई व्यवसायको बिजारोपण गर्ने ठाउँको रुपमा देखे । उपभोक्तालाई आवश्यक सेवा दिने, दक्ष कामदार बिदेसिनुपर्ने अवस्था रोक्ने र सम्मानसहितको काम उपलब्ध हुने वातावरण सिर्जना गराउने चाहनाले नयाँ व्यवसाय जन्मियो ।

मास्टर्स गरिरहँदा कविश र सुजितले सूर्य नेपालजस्तो प्रतिष्ठित कम्पनीमा पनि इन्टर्न पनि गरेका थिए । इन्टर्नपछि जागिरको प्रस्ताव पनि थियो । तर, आफ्नो सोचलाई साकारा पार्ने योजनामा रहेका उनीहरुलाई त्यसले आकर्षित गरेन ।

फेसबुक पेजबाट व्यावसायिक सम्भावनाको ढोका खुल्दै गर्दा उनीहरुले सन् २०१७ मा त्यसलाई औपचारिकरुपमा कम्पनीको आकार दिए । शुरुवातमा दुई जना प्राविधिक दक्ष जनशक्तिबाट काम थाले । सेवा लिने पहिलो ग्राहक आफन्त थिए ।

तर, अहिले सजिलो सेवाको दायरा फराकिलो भएको छ । सयौं सेवाप्रदायक यसमा आबद्ध छन्, हजारौंले सेवा लिएका छन् । सजिलो सेवा आफ्नो कार्यक्षेत्र विस्तार गरेर काठमाडौंबाट पोखरासम्म पुगेको छ ।

‘पोखरा नेपालकै मुख्य सहरको रुपमा विकास भइरहेको छ,’ कविश भन्छन्, ‘त्यहाँको हस्पिटालिटी सेक्टर फरक छ । हामीले आफ्नो सेवालाई त्यहाँ पनि विस्तार गरेका छौं ।’ सजिलो सेवा चाँडै अन्य सहरमा पनि विस्तारित हुने योजनामा छ । कम्पनीको अबको लक्ष्य इटहरी, चितवन र बुटवल हो ।

सजिलो मर्मत सेवाका रुपमा कम्पनीलाई गत वर्ष रि-ब्रान्डिङ गरेर ‘सजिलो सेवा’ नामकरण गरिएको हो । मर्मतसँग सम्बन्धित मात्रै नभएर अन्य किसिमका सेवा पनि जोड्ने गरी कम्पनीलाई नयाँ नामसहित प्रस्तुत गरिएको कविश बताउँछन् ।

‘उपभोक्ताको पनि यस्तै माग थियो । हामीले थप विस्तार हुनका लागि प्राविधिक कुरा मात्रै नभएर घरमा चाहिने, कार्यालयमा चाहिने सबै किसिमका सेवा दिने सोचसहित यसलाई गत मार्चमा सजिलो सेवाको रुपमा रिब्रान्डिङ गरेका हौं,’ उनी भन्छन् ।

मर्मतसम्भारमा केन्द्रित भएर शुरु भएको कम्पनीले अहिले बगैंचा हेरचाहदेखि घरमै सलोनको सेवा उपलब्ध गराउनेसम्मका काममा सहयोग गर्दै आएको छ । उपभोक्ताले कम्पनीको वेबसाइट या एपबाट सबै किसिमका सेवा लिन सक्छन् । आफूले लिन चाहेको सेवाको शुल्क त्यहीँ उल्लेख गरिएको छ ।

६ वर्षअघि इन्टरनेटको माध्यमबाट यस्तो व्यवसाय शुरु गर्दाको जस्तो अवस्था अहिले छैन । विस्तारै इन्टरनेटको पहुँचदेखि ई–कमर्स प्ल्याटफर्मबारे मानिसको बुझाइमा परिवर्तन आएको छ । यी सबै कुरालाई लिएर कम्पनीले आगामी दिनका लागि बृहत योजना बनाउने तयारीसहित काम गरिरहेको छ ।

अहिलेको अवस्थासम्म आइपुग्दाको यात्रा भने सोचेको जस्तो सहज पक्कै थिएन । कविश आफैं पनि यो अवधिमा कम्पनी जुन आकारमा विस्तारित हुनुपर्ने थियो, त्यस्तो नभएको स्वीकार्छन् । यसमा विविध कारण छन् । स्टार्टअप व्यवसायलाई लिएर सरकारको नीतिदेखि सरकारी संयन्त्रबाट लगानीको निम्ति हुनुपर्ने सहयोगजस्ता कुरामा सहज नभएको उनीहरुको अनुभव छ ।

‘हाम्रोमा स्पष्ट कानुन छैन,’ कविश भन्छन्, ‘नीति स्पष्ट छैन, जसले गर्दा विभिन्न समस्या आइरहेका हुन्छन् । हाम्रो तर्फबाट काम गरिरहेका छौं । तर, सरकारी पक्षबाट हाम्रो समस्या सुन्ने किसिमको कुनै निकाय छैन । हामीले जति नै लबिङ गरे पनि नीति–नियम बनाउने भनेको सरकारले नै हो ।’

अफ्ठ्यारो अवस्था र असहज वातावरणका बीच पनि सजिलो सेवाले बृहत लक्ष्य लिएर काम गरिरहेको छ । हालसम्म कम्पनीबाट ७० प्रतिशतले दोहो¥याएर सेवा लिने गरेका छन् । कम्पनीमा आबद्ध भएका सेवाप्रदायकले मासिक २२ हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

सजिलो सेवाको अबको लक्ष्य सन् २०२७ सम्ममा १० हजार सेवाप्रदायकलाई आफूमा आबद्ध गराउनु हो । यसबाहेक आफैंले दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा काम गर्ने उनीहरुको योजना छ ।

‘नेपालमा राम्रो सीपमूलक काम गर्ने वातावरण बनाउन टेक्निकल सेन्टरहरुमा पनि लगानी गर्दै छौं,’ कविश भन्छन्, ‘दक्ष कामदारको कमी नहोस् र दक्ष कामदारलाई कामको कमी नहोस् भन्ने हाम्रो लक्ष्य हो ।’


युवराज भट्टराई