सोचेअनुसार चलेन चोभार बन्दरगाह, आधा क्षेत्रमा पार्किङ र गोदाम सञ्चालन गरिने



काठमाडौं । निर्माण भएर सञ्चालनमा आएको एक वर्ष पनि नपुग्दै चोभार सुख्खा बन्दरगाह सोचेअनुरुप नचलेपछि यसलाई अन्ततः लजिस्टिक सेन्टर (पार्किङ, गोदामलगायत) बनाइने भएको छ ।

नेपालइन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलकाअनुसार चोभार बन्दरगाहको पूर्णक्षेत्र भन्सारसँग सम्बन्धित कामका लागि प्रभावकारीरुपमा उपयोग नभएका कारण यसलाई लजिस्टिक सेन्टरका रुपमा सञ्चालन गर्न लागिएको हो ।

हाल चोभार बन्दरगाह २२० रोपनी क्षेत्रफलमा बनेको छ । विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको यो बन्दरगाहको आधा क्षेत्रलाई अब लजिस्टिक सेन्टरको रुपमा सञ्चालन गर्ने योजना बनाइएको गजुरेलले बताए ।

‘अहिले २२० रोपनीमा यो बन्दरगाह बनाइएको छ,’ गजुरेलले भने, ‘सञ्चालनमा आएको झण्डै १० महिनामा ७० वटा मात्रै कन्टेनर यहाँ आएका छन् । यसो हेर्दा यो पुरै क्षेत्र भन्सार प्रयोजनका लागि मात्रै प्रयोग हुने कमै मात्र सभावना देखियो । त्यसैले, यसलाई दुई भागमा बाढेर एकातिर भन्सारकै काम र अर्को भागमा लजिस्टिक हब सञ्चालनमा गर्ने तयारी छ ।’

गजुरेलकाअनुसार चोभार बन्दरगाहको कुल क्षेत्रफलको आधा क्षेत्रमा लजिस्टिक हब सञ्चालन गर्ने तयारी रहेको छ । हाललाई लजिस्टिक हब र भन्सारअन्तर्गतको क्षेत्रलाई बीचमा पर्खाल लगाएर छुट्याइएको छ । लजिस्टिक हबमा गोदामदेखि पार्किङको भाडादर लगायतका कुराहरुबारे छलफल गरी निर्णय गरेर यसलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने तयारी रहेको गजुरेलले बताए ।

पुरा भएन सरकारको महत्वकांक्षी लक्ष्य, ११ महिनामा ३० करोडको मात्रै आयात

चोभार बन्दरगाह सञ्चालनमा आएको ११ महिना पनि भएको छैन । गत वर्ष चैत २२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेपश्चात् बन्दरगाह सञ्चालनमा आएको थियो । तर, सञ्चालनमा आएपछि सरकारले सोचेअनुसारको प्रभावकारी रुपमा यसको उपयोग हुन सकिरहेको छैन ।

सरकारले चोभार बन्दरगाहलाई लिएर यो काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापार हब बनाउने पूर्वाधार भएको टिप्पणी गरेको थियो । तत्कालीन प्रधानमन्त्री देउवाले बन्दरगाहको उद्घाटनको समयमा भनेका थिए, ‘यो बन्दरगाहले काठमाडौंलाई अन्तराष्ट्रिय व्यापार हब बनाउँछ ।’

तर, सरकारको महत्वकांक्षी लक्ष्य पूरा भने भएको छैन । चोभार बन्दरगाहबाट देशको कुल वैदेशिक व्यापारमध्ये एकदमै न्यून आयात तथा निर्यात भएको छ । सञ्चालनमा आएको ११ महिना हुँदा चोभार बन्दरगाहलाई लिएर सरकारले देखेको महत्वकांक्षी लक्ष्यको झिनो मात्रा पनि पूरा भएको छैन ।

विवादै विवाद र स्थानीयको विरोधकाबीच निर्माण शुरु भएको बन्दरगाहबाट हालसम्ममा ३० करोड ४८ लाखको आयात भएको छ भने ३८ लाख ६५ हजारको मात्रै निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांककाअनुसार चोभार बन्दरगाह सञ्चालनमा आएपछि गत आर्थिक वर्षमा देशको कुल वैदेशिक व्यापारमध्ये ०.०१ प्रतिशत आयात र ०.००२ प्रतिशत निर्यात यहाँबाट भएको छ ।

गत वर्ष चैत २२ गतेबाट सञ्चालनमा आएको चोभार बन्दरगाहमा गत असार मसान्तसम्ममा ९ करोड ८८ लाख ७७ हजार रुपैयाँको आयात भएको थियो । त्यस्तै, असार मशान्तसम्ममा ५ लाख ५७ हजार रुपैयाँको मात्रै निर्यात चोभार बन्दरगाहबाट भएको थियो ।

चालु आर्थिक वर्षमा साउन यता मंसिर मशान्तसम्ममा देशको कुल वैदेशिक व्यापारको ०.०३ प्रतिशत आयात र ०.००४ प्रतिशत निर्यात चोभार बन्दरगाहबाट भएको छ ।

भन्सार विभागको तथ्यांककाअनुसार चालु आर्थिक वर्षको मंसिर मशान्तसम्ममा २० करोड ६० लाख ८ हजार रुपैयाँ बराबरको आयात चोभार बन्दरगाहबाट भएको छ भने निर्यातमा केबल ३३ लाख ८ हजार बराबरको व्यापार भएको छ ।

चोभार बन्दरगाह नेपाल सरकारले विश्व बैंकको १ अर्ब ५६७ करोड रुपैयाँ ऋण सहयोगमा निर्माण गरेको पूर्वाधार हो । तर, उक्त पूर्वाधारले सोचेअनुरुपको प्रतिफल दिएको छैन । एकातिर पूर्वाधार निर्माणको क्रममा लागेको ऋण छ भने यसमार्फत् सरकारले अपेक्षा गरेअनुसारको राजस्व संकलन पनि गर्न सकेको छैन ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलकाअनुसार हालसम्म भन्सारअन्तर्गतका ७० वटा कन्टेनर मात्रै चोभार बन्दरगाहमा आएका छन् । सञ्चालनमा आउँदा सरकारले महत्वकांक्षी लक्ष्य राखेको भएतापनि यसतर्फ व्यापारीहरुको चासो नै नगएको देखिएको छ ।

‘मान्छेलाई अरु पनि विकल्पहरु छन् । विरगञ्जमा भन्सार क्लियर गरेर आउँदा पनि हुन्छ, विराटनगरमै गराएपनि हुन्छ । किन चोभार नै आउनुपर्छ भन्ने भयो’, उनी भन्छन्, ‘ फेरि फास्ट ट्र्याक बनेको भए मान्छेले त्यो बाटो लिएर आउँथे । अरु कुनै समस्या हुँदैन थियो । तर, फास्ट ट्र्याक पनि कहिले बन्ने टुंगो पनि भएन । यो कारणले गर्दा अहिले सुख्खा दुई भागमा बनाएका छौं ।’

बन्दरगाहको क्षेत्रलाई दुई भागमा विभाजन गरेर एक भागमा लजिस्टिक हब सञ्चालन गर्ने तयारी रहेको छ ।

कसरी सञ्चालन हुनेछ लजिस्टिक हब ?

हाल सुख्खा बन्दरगाह रहेको क्षेत्रमा बीचमा पर्खाल बनाएर यसलाई दुई भागमा विभाजन गरिएको छ । जसमध्ये एक भागमा भन्सार अन्तर्गतकै आयात र निर्यात काम हुनेछ भने आधा भागमा लजिस्टिक हब सञ्चालनमा ल्याउने तयारी रहेको गजुरेलले बताए ।

उनकाअनुसार लजिस्टिक हबका लागि पूर्वाधार निर्माण भइसकेको छ ।

लजिस्टिक हबको कन्सेप्टअन्तर्गत यो क्षेत्रमा ठूला मालबहाक गाडीहरुका लागि पार्किङको व्यवस्था हुनेछ । त्यस्तै, आन्तरिक व्यापार व्यवसाय गरिरहेकाहरुले आफ्नो सामान राख्छु भनेमा यहाँ गोदामको व्यवस्था हुनेछ भने कसैले चाहेमा यहाँको गोदाम प्रयोग गर्न पाइनेछन् ।

गजुरेल भन्छन्, ‘कसैले यहाँ प्याकेजिङ वा लेभलिङ गर्छु भनेमा त्यसको पनि यहाँ व्यवस्था उपलब्ध हुन्छ । कसैले ठूला ट्रकमा सामान ल्याएर साना साना ट्रकमा वितरण गर्ने र गन्तव्यमा पुर्याउन चाहेमा त्यो सुविधा पनि यो लजिस्टिक हबमा उपलब्ध हुन्छ ।’

हालको काम यही कन्सेप्टमा अघि बढिरहेको उनी बताउँछन् ।

हाल काठमाडौं महानगर क्षेत्रमा विभिन्न ठाउँमा ठूला ट्रकहरुको लोडिङ÷अनलोडिङ हुने गरेको छ भने ठाउँ ठाउँमा यस्ता सवारी साधनलाई पार्क गरेर राख्ने पनि गरिएको छ । यो समस्या समाधानका लागि चोभार क्षेत्रमा सञ्चालन हुने लजिस्टिक हब उपयोग हुने देखिन्छ ।

गजुरेलकाअनुसार यसका लागि महानगरसँग पनि समन्वय गरेर अघि बढ्ने योजना रहेको छ । उनी भन्छन्, ‘अहिले रिङ्ग रोड क्षेत्रमा मालबहाक ट्रकहरु पार्क गरेर राखिएको हुन्छ । यसले सडक पनि बिगारेको हुन्छ । धेरै दुर्घटना पनि भइरहेको छ । ट्राफिक व्यवस्थापनमा पनि समस्या भइरहेको छ । हामीले महानगरसँग पनि समन्वय गरेर यस्तो सुविधा हामीले दिएका छौं, अब ठूला सवारीसाधनलाई सडकमा उभिन नदिने किसिमको नियम ल्याउन सहकार्य गर्नेछौं ।’

तर, त्यसअघि भने समितिले आन्तरिकरुपमा पुरा गर्नुपर्ने कामहरु पुरा गर्ने काम गरिरहेको उनी बताउँछन् । हाल लजिस्टिक सेन्टर सञ्चालनमा ल्याउनका लागि त्यहाँको पार्किङदेखि गोदामको दररेट तय गर्न बाँकी रहेको उनी बताउँछन् । उनकाअनुसार बोर्ड बैठकपछि यसको निर्णय हुनेछ । वाणिज्य सचिवअन्तर्गत रहेर बैठक बसेपछि लजिस्टिक सेन्टरका लागि दररेट फिक्स गरिने र अन्य कामहरु अघि बढ्नेछन् ।

‘सञ्चालन गर्नका लागि पार्किङदेखि गोदामसम्मको दररेट कति लिने भन्ने निर्णय गर्न बाँकी छ’, गजुरेलले भने, ‘यसका लागि बोर्ड बैठक बस्नुपर्ने छ । हाम्रो बोर्ड बैठक वाणिज्य सचिवले गर्ने भएकाले उहाँ पनि भर्खरै आउनु भएकाले हामी चाडै नै लजिस्टिक सेन्टरका लागि दररेट फिक्स गरेर यसलाई अघि बढाउँछौं । यसका लागि धेरै समस्या नलाग्दा ।’

यसअघि सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइरहँदा सरकारले महत्वकांक्षी लक्ष्य राखेतापनि त्यो पुरा हुन सकेन । फलस्वरुप अहिले बन्दरगाहको आधा भागलाई फरक प्रयोजनका लागि उपयोग गर्ने तयारी भइरहेको छ । तर, यसो गर्दा पनि भोलि लजिस्टिक हबतर्फ पनि व्यवसायीहरु आकर्षित हुने वा नहुने भन्ने जोखिम उत्तिकै रहेको छ ।

यसविषयमा भने समितिले ट्रक व्यवसायीहरुसँग छलफल गरहेको बताउँछन् गजुरेल । उनकाअनुसार यस्तो सुविधाका लागि सम्बन्धित क्षेत्रहरु उत्साहित रहेका छन् ।

‘हामीले ट्रक व्यवसायीहरुसँग छलफल गर्दा उहाँहरुले यस्तो सुविधा ल्याउनमा आतुर हुनुहुन्छ । त्यसैले लजिस्टिक हब भएमा यसको भरपुर उपयोग हुन्छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘फेरि यो पूर्ण रुपमा हाम्रो नियन्त्रणमा हुन्छ । भन्सार प्रयोजनको कुरामा हामी भन्सार विभागसँग पनि धेरै परनिर्भर भएका थियौं । अब भन्सारले आफ्नो प्रक्रियालाई कति सहजिकरण गर्छ र चोभार बन्दरगाहलाई कति प्रोत्साहन भन्ने कुरा थियो । तर, यो लजिस्टिक बनाउन हाम्रो पहलमा काम हुन्छ । त्यसकारण पनि हामीलाई सहज हुन्छ ।’


युवराज भट्टराई