चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन, सीमाभन्दा माथिको कर्जा ५ किस्तामा तिर्न मिल्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ ।

गत कात्तिक १ गतेभन्दा अगाडी चालू पुँजी प्रकृतिको कर्जा लिएका ऋणीलाई केही सहुलियत दिने गरी राष्ट्र बैंकले मार्गदर्शन संशोधन गरेको हो ।

बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीले दिएको सुझावअनुसार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

विगतमा प्रवाह भएको चालू पुँजी सम्बन्धी कर्जा चुक्ता गर्न समय दिने र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने गरी मार्गदर्शन संशोधन गरिएको भट्टको भनाइ छ ।

विगतमा लिएको चालू पुँजी प्रकृतिको कर्जा आजका दिनमा नवीकरण गर्दा सीमाभन्दा बढी लिएको पाइए त्यस्तो कर्जा भुक्तानी गर्न २०८२ असार मसान्तसम्मको समय दिइने भएको छ ।

सीमाभन्दा बढी लिइएको कर्जा उद्योगी व्यवसायीले २०८० असार मसान्तदेखि २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने व्यवस्था गरिएको छ ।

कुनै ऋणीले २०८२ असार मसान्तभन्दा अगाडी कर्जा चुक्ता गर्न खोज्दा प्रि पेमेन्ट चार्ज वा अन्य कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।

हाल ५० लाख रुपैयाँ रुपैयाँ भन्दा माथिको कर्जामा मार्गदर्शन लागु हुने भएकोमा अब १ करोड रुपैयाँ भन्दा बढी चालू पुँजी प्रकृतिको कर्जा लिँदा मार्गदर्शनका व्यवस्था लागू हुने भएको छ ।

यस्तै, विगतमा स्थायी प्रकृतिको चालू पुँजी सम्बन्धी कर्जा ५ वर्षसम्म दिन पाईने व्यवस्था भएकोमा आगामी दिनमा स्थाई प्रकृतिको चालू पुँजी सम्बन्धी कर्जा ३ देखि १० वर्षसम्मका लागि दिन पाइने व्यवस्था गरिउको छ ।

यदी कुनै ऋणीले ऋण लिएको अवधीभन्दा अगाडी नै कर्जा चुक्ता गर्न चाहेका थप कुनै शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।

विगतमा ५ वर्षको अनुमानित वित्तीय विवरण अध्ययन गरेर कर्जा दिनु पर्ने व्यवस्थालाई संशोधन गर्दै ३ वर्षको अनुमानित वित्तीय विवरण अध्ययन गरेर मात्रै चालू पुँजी प्रकृतिको कर्जा दिन मिल्ने व्यवस्था गरिएको छ ।

यस्तै, सञ्चालन आय नभएको र भर्खरै स्थापना भएको संस्थालाई अनुमानित सञ्चालन खर्चको आधारमा चालू पुँजी प्रकृतिको कर्जा दिने व्यवस्था गरिएको छ ।

विगतमा ५ करोड रुपैयाँसम्मको कर्जामा ग्राहकले मासीकरुपमा कारोबार प्रणाणित गर्नु पर्ने र लेखापरीक्षकले त्रैमासिकरुपमा कारोबार प्रमाणीत गर्नु पर्नेमा यो व्यवस्थालाई संशोधन गर्दै ग्राहकले त्रैमाशिक र लेखापरिक्षणले वर्षमा दुई पटकमात्रै कारोबार प्रमाणीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ ।

व्यवसायीले ऋण खाता र कारोबार खाता फरक बनाउन नहुने माग गरेपनि राष्ट्र बैंक त्यसमा सहमत भएको छैन । यस्तै, त्रैमासको अन्तिम महिना (असोज, पुस, चैत र असार)मा नयाँ चालू पुँजी प्रकृतिको कर्जा दिन असहमत भएको राष्ट्र बैंकले विगतमा स्विकृत सीमाभित्रको कर्जा प्रवाह गर्न कुनै समस्या नभएको जनाएको छ ।

सीमाभन्दा बढी लिएको कर्जा ५ किस्तामा तिर्न मिल्ने राष्ट्र बैंकको व्यवस्था

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को पहिलो संशोधन गर्दै सीमाभन्दा बढी लिएको कर्जा ५ किस्तामा तिर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (प्रथम संशोधनसहित)’ जारी गर्दै २०८० असार मसान्तसम्म १० प्रतिशत, २०८० पुस मसान्तसम्म २० प्रतिशत, २०८१ असार मसान्तसम्म २० प्रतिशत, २०८१ पुस मसान्तसम्म २० प्रतिशत र २०८२ असार मसान्तसम्म ३० प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेको छ ।

कात्तिक १ गतेभन्दा अगाडि प्रवाह भएका चालु पुँजी कर्जाहरुलाई यो मार्गदर्शन अनुसार पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्नुपर्दा मार्गदर्शनले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह भएमा त्यस्तो रकमलाई २०८२ असार मसान्तसम्म अर्धवार्षिक रुपमा भुक्तानी हुने गरी आवधिक कर्जा शीर्षकमा मिलान गर्नुपर्नेछ ।

यस्तो कर्जाको अवधि, भुक्तानी तालिका, तथा किस्ता रकम परिवर्तन गर्न पाइने छैन । साथै, यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क लिन पाउने छैनन् । २०८० असोज मसान्तसम्म नेपाल राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ ।

चालू पुँजी कर्जा लिएर ऋणको साँवा/ब्याज तिर्न नपाइने

राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गर्दै अबदेखि चालू पुँजी कर्जा लिएर साँवा/ब्याज भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बुधबार संशोधन गरेको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा कर्जाको साँवा/ब्याज भुक्तानीको लागि चालू पुँजी कर्जा खाता खर्च गरी असूल गर्न नपाईने व्यवस्था गरेको छ । साथै प्रत्येक त्रयमासको अन्तिम महिनामा चालू पुँजी सीमा वृद्धि गर्न र पुराना ऋणीलाई कर्जा स्वीकृत गर्न पाइने छैन ।

संशोधित मार्गदर्शनमा भनिएको छ, ‘प्रत्येक त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत, असार)मा चालू पुँजी सीमा बृद्धि गर्न र पुराना ऋणीलाई कुनै पनि शिर्षकमा नयाँ चालू पुँजी कर्जा स्वीकृत गर्न पाइने छैन । साथै, कर्जाको ब्याज/साँवा भुक्तानीको लागि चालू पुँजी कर्जा खाता खर्च गरी असूल गर्न पाइने छैन । यी महिनाहरुमा कर्जा नवीकरण गर्न तथा स्वीकृत सीमा भित्रको कर्जा प्रवाह गर्न यस व्यवस्थाले बाधा पर्ने छैन ।’

आकस्मिक प्रकृतिको कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गर्नुपर्ने

कुनै पनि ऋणीलाई चालू पुँजी प्रकृतिको आकस्मिक कर्जा एक आर्थिक वर्षमा एक पटकभन्दा बढी आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गर्नुपर्ने भएको छ । 

राष्ट्र बैंकले बुधबार ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (प्रथम संशोधनसहित)’ जारी गर्दै आकस्मिक प्रकृतिको कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालकले समितिले निर्णय गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘कुनै ऋणीलाई एक आर्थिक वर्षमा एक पटकभन्दा बढी आकस्मिक प्रकृतिको कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो कर्जा प्रदान गर्न सक्नेछ,’ जारी मार्गदर्शनमा उल्लेख छ ।

राष्ट्र बैंकले ऋणीको सोही संस्थामा वा अन्य संस्थामा रहेको कुनै पनि कर्जा चुक्ता गर्ने प्रयोजनका लागि कुनै पनि किसिमको कर्जा प्रदान गर्न वा सीमा थप गर्न नपाउने गरी संशोधन गरेको छ । तर, ऋणीको व्यवसायसँग सम्बन्धित कुनै प्रयोजनका लागि अप्रत्याशितरुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी आकस्मिक प्रकृतिको चालु पुँजी कर्जा प्रदान गर्न बाधा नपर्ने उल्लेख गरेको छ ।

उक्त कर्जा नवीकरण भएको वा उद्देश्यबमोजिम प्रयोग भएको नपाइएमा सो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने संशोधनमा उल्लेख गरिएको छ ।

स्थायी चालूपुँजी प्रकृतिको कर्जा १० वर्षसम्मका लागि लिन सकिने

बैंक तथा वित्तीय संस्थाले ३ देखि १० वर्ष अवधिको लागि आवधिक प्रकृतिको चालूपुँजी कर्जा प्रदान गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ को पहिलो स्रशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालूपुँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोड रुपैयाँ भन्दा कम चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत पर्मानेन्ट वर्किङ क्यापिटल निड पहिचान भएमा २ करोडको सीमाभित्र रही फ्लक्चुयडिङ वर्किङ क्यापिटल निडको लािग ३ देखि १० वर्षको आवधिक प्रकृतिको चालूपुँजी कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।

विगतमा ५ वर्षका लािग स्थायी चालू पुँजी प्रकृतिको कर्जा लिन पाइने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै ३ देखि १० वर्षसम्म स्थायी चालू पुँजी प्रकृतिको कर्जा लिन पाउने व्यवस्था गरेको छ । 

संशोधित व्यवस्था अनुसार कुनै ऋणीले बिचमा नै कर्जा पूर्ण भुक्तानी गर्न चाहे अतिरिक्त शुल्क लिन नमिल्ने व्यवस्था गरेको छ । पुरानो मार्गदर्शनमा बिचमा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था थिएन ।

चालू पुँजी कर्जा ७ दिन शून्य बक्यौता राख्नु पर्ने व्यवस्था संशोधन भएन

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरे पनि चालू पुँजी कर्जा सात दिन चुक्ता गर्नुपर्ने व्यवस्थालाई यथावतै राखेको छ ।

संशोधित मार्गदर्शनमा पनि राष्ट्र बैंकले नवीकरण हुने प्रकृतिका चालू पुँजी कर्जा खाता आर्थिक वर्षको कुनै पनि समयमा उद्योग वा व्यावसायको प्रकृतिअनुसार कम्तिमा लगातार ७ दिन शून्य बक्यौता कायम गर्नुपर्ने व्यवस्थालाई यथावतै राखेको हो ।

संशोधित मार्गदर्शन पनि यसअघि कै व्यवस्थालाई नै निरन्तरता दिँदै पहिलो वर्षमा ऋणिले लगातार ७ दिन कुल कर्जा सिमाको ३० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, दोस्रो वर्षको लागि ऋणिले लगातार ७ दिन कुल कर्जा सीमाको २० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्ने र तेस्रो वर्षको लागि ऋणिले लगातार ७ दिन कुल कर्जा सीमाको १० प्रतिशतभन्दा कम बक्यौता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।


क्लिकमान्डु