भारतमा ‘ई-रुपी’ को शुरुवात, आरबीआईका गभर्नर भन्छन्-ऐतिहासिक क्षण



एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई)का गभर्नर शक्तिकांत दासले बुधबार भारतमा डिजिटल मुद्रा ‘इ–रुपी’को शुरुवात हुनु ऐतिहासिक क्षण भएको बताएका छन् ।

उनले यसको सुरुवातसँगै व्यावसाय र कारोबार गर्ने तरिकामा परिवर्तन आउने भएकाले यो एक ऐतिहासिक क्षण भएको उनको भनाइ छ ।

‘हिजो हामीले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) प्रोजेक्टको प्रशिक्षण शुरु गरेका छौं,’ उनले भनेका छन्, ‘पूरै अर्थतन्त्र सञ्चालनको विषयलाई हेर्दा यो एउटा ऐतिहासिक उपलब्धी हुनेछ । रिजर्व बैंक दुनियाँका केही सीमित बैंकहरु मध्येमा छ, जसले यस्तो पहल गरेको छ ।’

सोमबार भारतमा डिजिटल मुद्राका लागि प्रशिक्षणात्मक कार्य शुरु भएको छ । दासले भारतीय रिर्जव बैंकले यससँग सम्बन्धित सबै पक्षहरुलाई बुझ्ने प्रयास गरिरहेको बताएका छन् ।

आरबीआईले पछिल्लो केही समय यता भारतमा आफ्नै डिजिटल मुद्रा ल्याउने गृहकार्य गरिरहेको छ । यसमा सोमबार भएको कामलाई एतिहासिक मानिएको छ ।

आरबीआईकाअनुसार भारतमा हुने डिजिटल मुद्रा ‘इ-रुपी’ होलसेल र रिटेलका लागि फरक फरक, भइरहेका विद्युतिय कारोबार माध्यमभन्दा अलग र क्रिप्टोभन्दा फरक हुने छ ।

डिजिटल मुद्राको मूल्य हाल प्रयोग भइरहेको मुद्राकै बराबर हुनेछ र यो सहजरुपमा स्वीकार्य हुने बताइएको छ ।

आरबीआई देशमा भएको भौतिक मुद्राको व्यवस्थापनमा हुने खर्च कम गर्न यो प्रभावकारी हुने बताउँछ । नोट छाप्ने, परिचालित गर्ने र वितरण गर्नमा लाग्ने खर्च कम गर्न यो प्रभावकारी हुने उसको विश्वास छ ।


क्लिकमान्डु