संकटमा समेत बैंकले थप प्रिमियम लिँदा उद्योगी व्यवसायीलाई समस्या भयो: गोल्छा



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने एक्स्ट्रा सुविधाले उद्योग व्यवसायीलाई समस्या परेको बताएका छन् । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले आयोजना गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्र संकटमा पर्दा बैंकहरुले अतिरिक्त सुविधा (प्रिमियम) लिएर समस्या परेको धारणा राखे । गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रुपमा लिएको दाबी गरे । उनले मौद्रिक नीतिले अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको आरोप लगाए । अध्यक्ष गोल्छाले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढ्दा समस्या उत्पन्न भएको बताए । उनले नेपालको उधोग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको बताए ।

गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडिआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गरेको बताए । उनले लामो समय रेमिटेन्समा निर्भर भए झनै समस्या आउने बताए । गोल्छाले नेपालको अर्थतन्त्र र नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय डलर पुग्नु विदेशबाट आउने रेमिट्यान्स नै भएको बताए । उनले अब नेपाल रेमिट्यान्समा मात्रै भरपर्दा डरलाग्दो अवस्था आउनसक्ने भन्दै रमिट्यान्समा मात्रै भर पर्न नहुने बताए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताए । उनले आइटीको विकास तिब्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न नसक्ने भन्दै सरकारले सोच्नुपर्ने अवस्था रहेको बताए । अध्यक्ष गोल्यानले नेपालले सबै भन्दा बढी कृषिजन्य सामग्री आयात गर्ने भएकाले कृषिमा सम्भावना धेरै रहेको बुझ्न आवश्यक रहेको बताए ।

उनले नेपाली जङ्गलबाट ५ खर्ब बराबरको जडिबुटी निर्यात गर्नसक्ने अवस्था रहेकाले अब निजी र सामुदायिक वनलाई सरकारले खोल्नुपर्ने बताए । अध्यक्ष गोल्यानले जडिबुटी,जलविद्युत र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्न सकिने धारणा राखे । उनले नेपालमा कपासदेखि गार्मेन्ट उद्योगको बिस्तारमार्फत स्टेस्टाइल उत्पादन वृद्धि गर्दा वार्षिक २ लाख नेपालीलाई रोजगारी दिन सकिने उल्लेख गरे ।

अध्यक्ष गोल्यानले कृषि र कृषि प्रशोधनमा ठूलो सम्भावना भएपनि तत्काल अपेक्षा गरेजस्तो प्रतिफल नआउने बताए । उनले नेपालमा रहेको अल्लोबाट नेपालीहरुलाई लगाउन पुग्ने कपडाहरु नेपालमा नै उत्पादन गर्नसक्ने बताए । उनले नेपालको खुला सीमाना र सरकारको नीतिले गर्दा सबै भन्दा कम प्रोत्साहन भनेको नै कृषिमा रहेको गुनासो गरे ।


क्लिकमान्डु