दुगडको ३ अर्ब लगानीमा विराटनगरमा खुल्दैछ होटल र्याडिसन र सुपरमार्केट



विराटनगर । कोरोना महामारीले थिलथिलो भएको छ, अहिले नेपाली अर्थतन्त्र । विश्वमा आर्थिक मन्दी छ । आर्थिक मन्दीको प्रभावबाट नेपाल पनि अछुतो छैन ।

उद्योग व्यवसाय गर्न बैंकले ऋण दिने अवस्था छैन । पैसा नभएर उद्योगी व्यवसायीहरूलाई लगानी गर्न नपाएर फिटफिटी परेको छ । यद्यपि उद्योगी व्यवासायीहरू केही समयपछि अर्थतन्त्र सुध्रिने अपेक्षा राख्दछन् । र, नयाँ उद्योगधन्धा खोल्न उनीहरू आतुर पनि देखिएका छन् ।

यसै सिलसिलामा प्रदेश नम्बर १ को राजधानी विराटनगरमा केही वर्षदेखि होटल खोल्ने प्रतिस्पर्धा तीव्र रूपमा चलिरहेको छ । तीनतारे मान्यता प्राप्त जेनियल होटल कोरोनाकालमा आर्थिक मन्दी थेग्न नसकेर दुई वर्षअघि नै बन्द भए पनि रत्ना, ह्यासिरशन प्यालेस र बिग गरी तीनवटा चारतारे होटल सञ्चालनमा छन् । बाँकी ससाना श्रेणीविहीन होटलहरू प्रशस्त छन् ।

खासगरी संघीय राज्यको घोषणपछि होटल खोल्ने होडबाजी नै चलेको हो । तर, पाँचतारे होटल अहिलेसम्म खुल्न सकेको छैन । यसै क्रममा यहाँ केही समयपछि र्याडिसन होटल खुल्ने भएको छ । यो होटल अन्तर्राष्ट्रिय मापदण्डमा आधारित पाँचतारे होटल हुनेछ ।

यसका लागि अन्तर्राष्ट्रिय चेन र्याडिशन होटल ग्रुप र सेञ्चुरियन मार्ट एन्ड होटलबीच समझदारीपत्रमा यसैवर्ष हस्ताक्षर भएको छ । समझदारीपत्रमा सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोतिलाल दुगड र र्याडिशन होटल ग्रुप, साउथ एशियाका प्रबन्ध निर्देशक जुविन साजेनाले हस्ताक्षर गरेका हुन् ।

विभिन्न किसिमका मसला र खाद्य वस्तु उत्पादन गर्दै आएको सेन्चुरी ग्रुप अफ कम्पनीले पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा हात हालेको हो ।

प्रदेश १ मा भ्रमण गर्न आउने बाह्य र आन्तरिक पर्यटकलाई लक्षित गरेर होटल खोल्न लागिएको सेन्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष दुगडले बताए ।

तीन अर्ब रुपैयाँ लगानीमा खुल्न लागेको यस होटलको कुल लगानीमध्ये ४० प्रतिशत स्वःपुँजी र ६० प्रतिशत बैंक कर्जा लगानी गरिने दुगडले जानकारी दिए । १० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यस होटलमा १४६ वटा कोठाहरू हुनेछन् ।

त्यस्तै, फिल्म हल, स्विमिङ पुल, क्यासिनो, जिम सेन्टर, सपिङ सेन्टर, केएफसी, पिज्जा हटलगायतका आउटलेटसमेत होटलभित्र रहने छन् । १० हजार स्वायरफिटको विशेष प्रकारको रेष्टुराँ पनि सञ्चालन हुनेछ ।

विराटनगरमा द्रुत गतिमा बिस्तार हुँदै गरेको सडक, विमानस्थल, सामूदायिक परियोजना, सरकारी तथा निजी लगानीको ठूला संस्थाहरु क्रमशः खुल्दै गरेको अवस्था छ ।

विराटनगर एक नम्बर प्रदेशको केन्द्रमा रहेको यस प्रदेशको सबैभन्दा ठूलो बजार पनि भएकोले यस क्षेत्रमा पाँचतारे होटल आवश्यक भएको उद्यमी दुगडको भनाइ छ ।

यो होटल विराटनगर एयरपोर्टबाट ४ किलोमिटर दक्षिण, भारतको सीमा जोगबीबाट जम्मा साढे ८ किलोमिटर उत्तरमा छ । यो होटलमा आउन भारतीय पर्यटक तथा व्यवसायीहरुको लागि पनि सहज हुने होटल सञ्चालक समूहले अपेक्षा राखेको छ ।

होटल कहिले सञ्चालन हुन्छ ?

होटल सन् २०२३ भित्रमा सञ्चालनमा आउने होटल सञ्चालकक समूहले जनाएको छ । होटलले व्यापार र मनोरञ्जन उन्मुख दुबै किसिमका पाहुनालाई विश्वस्तरीय सेवासुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ ।

होटल बनाउन शुरू गर्दादेखि नै कोरोना संक्रमण तीव्र गतिमा फैलिएको कारण द्रुत गतिमा काम अघिबढ्न सकेको थिएन ।

‘नत्र त सन् २०२२ सालसम्ममा सञ्चालनमा ल्याउने तयारी थियो,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा स्थापित चेन होटल र्याडिसन पनि आउने भएपछि थप एक वर्ष लाग्ने भयो ।’

शुरुमा सुपरमार्केट बनाउने सोचले भौतिक संरचना बनाउँदै गरिएको थियो । त्यही बीचमा सेन्चुरी मल निर्माणकार्य नसकिँदै छेउमै भाटभटेनीले सुपर मार्केट खोल्यो । त्यही भएर सेन्चुरी मलमात्र बनाउने सोचमा परिवर्तन आएको हो ।

सांसद दुगड पूर्वउद्योग राज्यमन्त्री पनि हुन् । उनका अनुसार नेपाली सामान विदेशमा पाइने तर नेपालमा खोज्दा पनि नभेटिने स्थिति भएको छ । तसर्थ, त्यही समस्यालाई मध्यनजर गरेर नेपाली सामानलाई प्राथमिकताका साथ सबै वस्तु एकै ठाउँमा पाइने उद्देश्यले सेञ्चुरियन मार्ट सञ्चालनमा ल्याउन लागिएको हो उनले जानकारी दिए ।

हाल निर्माणधीन अवस्थामा रहेको ठाउँको कूल क्षेत्रफल दुई बिगाहा छ । सञ्चालनमा आएपछि नेपाली उत्पादनलाई चिनाउने ठूलो माध्यम होटल बन्ने दुगडले भनाइ छ ।

कस्ता छन् होटलका विशेषता ?

उद्यमी दुगडका अनुसार यसमा क्यासिनो, स्विमिङ पुल, मल, सिनेमा हल, वाटरपार्क, साँझको बजार आदि हुनेछन् ।

होटल विराटनगरको कोसी राजमार्ग सडकखण्ड अन्तर्गतको भाटभटेनी सुपर मार्केटनजिकै उत्तरपट्टी निर्माण भइरहेको छ । सो होटल सबै हिसाबको सुविधासम्पन्न होटल हुने होटल सञ्चालक समूहको दाबी पनि छ ।

यसमा एक सयवटा पसल, मिटिङ हल, सम्भवत नेपालको ठूलो दस हजार फिट स्क्वायर फुटका ब्याङ्क्वेट हल दुई वटा हुने छन् । कुनै पनि खेलकुद प्रतियोगिता वा केही कार्यक्रमका लागि ठूलो मैदान पनि छ । बालबालिकाहरूको लागि पार्क र हेल्थ क्लबहरू पनि यसभित्र रहनेछन् ।

त्यस्तै, यहाँभित्र नेचोप्याथिक तथा प्राकृतिक उपचार केन्द्र पनि रहेन छ । बजार साँझ ६ बजेदेखि मात्र खोल्ने योजना छ ।

के के पाइन्छ सुपर मार्केटमा?

सो बजारमा बालबालिकादेखि ज्येष्ठ नागरिक उमेर समूहसम्मलाई उपयुक्त हुने किसिमका ‘टिपिकल आइटम’ रहने जानकारी दिइएको छ।

त्यस्तै जुत्ता चप्पल, कस्मेटिक, गिफ्ट आइटम, इलेक्टोनिक, लत्ताकपडा र किचनका सबैखाले सामान यसभित्र पाइनेछ । एउटा मलमा पाइने हरेक सामान रहेनछ । त्यस्तै अन्य महलमा नभएका सामानहरू यसभित्र पाइने छ ।

साँझपख खुल्ने बजारमा भने नेपाली सामानहरू मात्र बिक्री हुने छन् । नेपालमा पाइने अल्लोबाट बनेका कपडाहरू, टोपी, नयाँ किसिमका पस्मिनाका सामान, हस्तकलाका सामान, टिपिकल नेपाली वस्तुमात्र रहने सञ्चालक दुगडले बताए।

नेपालमा नेपाली सामानहरूको उचित तरिकाले खरिद बिक्री भएको छैन । यस्तो अवस्थामा नेपालले नेपाली वस्तु चिनाउने उद्देश्यले यो नयाँ सोच ल्याएको उनले सुनाए ।

उनका अनुसार, विराटनगरमा भारत तथा तेस्रो मुलुकहरूबाट धेरै मानिसहरू घुमफिर गर्न आउने गर्दछन् । उनीहरूलाई नै नेपाली सामान चिनाउने राम्रो अवसर हुन्छ । यस अवस्थामा होटल एण्ड महलको साँझको बजारले आकर्षित गर्ने गर्ने दुगडको विश्वास छ ।

नेपालमा उत्पादित नेपाली कागजबाट बनेका सामानहरू, हाते कार्पेट, जुत्ता-चप्पल, अचार, मह, जति उत्पादन हुन्छन्, ती सबै सामानहरू एकै ठाउँमा पाइन्छ । यहाँबाट नेपालको चिनो तथा उपहार लान चाहनेलाई अझ सजिलो हुनेछ । र, नेपालमा उत्पादित वस्तुहरूको विदेशमा समेत प्रचारप्रसार हुने उनको भनाइ छ । नेपालमा उत्पादित सबै वस्तु यस महलभित्र पाइनेछन् । जसको नाम नेपालीगृह हुनेछ ।

यसले गर्दा नेपालमा उत्पादित हस्तकलाका सामग्री तथा सबै मालवस्तुहरूले बजार पाउने उत्पादन पनि बढ्ने दुगडको आँकलन छ । नेपाली सामान विदेशमा निर्यात भए पनि व्यवसायीहरू धेरै अवरोधहरू झेल्नु परेको छ ।

दुगड उद्योग व्यवसायका क्षेत्रमा परिचित उद्यमी हुन् । नरिवल तेलको व्यवसायबाट व्यावसायिक यात्रा सुरू गरेका दुगडको सेञ्चुरी मसलालगायतका विभिन्न उद्योग तथा व्यवसायहरू सञ्चालनमा छन् ।

विराटनगरमा उनको ह्यारिसन नामको होटल पनि छ । ह्यारिसनले माग धान्न नसकेपछि दुगडले अर्को होटल खोलेका हुन् ।


क्लिकमान्डु