लुक्लाका चार दिदीबहिनीको लोभलाग्दो पर्यटन व्यवसाय : क्याफे, रेष्टुराँ, होटलदेखि लुक्ला आउटडोरसम्म
काठमाडौं । काठमाडौं मन्डिकाटार हाइटमा बिगमार्टसँग जोडिएको छ लुक्ला आउटडोर ।
मन्डिाकाटारको लुक्ला आउटडोरको सिधै नाता जोडिएको छ काठमाडौंबाट झन्डै १३८ किलोमिटर टाढा रहेको सोलुखुम्बु जिल्लाको लुक्लासँग । जहाँ अर्को लुक्ला आउटडोर छ ।
यी आउटडोरमा डाउन ज्याकेट, क्याप, टिसर्ट, सर्ट, ट्रेकिङ वा हिमाल चढ्दा चाहिने विभिन्न सामग्रीहरु पाइन्छन् ।
लुक्लाका चार दिदीबहिने सञ्चालन गरेको पर्यटन व्यवसाय हो लुक्ला आउटडोर । सोमबार मन्डिकाटरका लुक्ला आउटडोरमा पुग्दा असारको क्लोजिङ सकिएपछिको नयाँ योजनामा थिए उनीहरु ।
‘त्यो ज्याकेट अलिकति बाक्लो भएको भए हुन्थ्यो भन्ने प्रतिक्रिाय आएको छ,’ एकजनाले फोनमा कुरा गर्दै थिइन, ‘कति एमएमका हो ? यसलाई अझ सुधार गरेर राम्रो बनाउनु पर्यो ।’
हिमाली क्षेत्रमा लगाउने कपाडाको यस्तै रिसर्च एण्ड डेभलपमेन्ट गर्दै जन्मिएको व्यवसाय हो लुक्ला आउटडोर । जुन अध्ययन र अनुसन्धान अहिले पनि चलिरहेको छ ।
‘हामीले विशेषगरी आर एण्ड डी गरेर लुक्ला आउटडोर क्लोदिङ ब्रान्ड शुरु गरेका हौं,’ लुक्ला आउटडोरकी एक सहसंस्थापक आङछिची शेर्पाले भनिन्, ‘यहाँ हामीले खासगरी ट्रेकिङ, माउन्टेनरिङ, हाइकिङका लागि चाहिने कपडाहरु उत्पादन गर्छौं ।’
लुक्ला आउटडोर शुरु भएको साढे दुई वर्ष भइसकेको छ । यसअवधिमा रिसर्च एण्ड डेभलपमेन्ट गर्दै जाडोमा लगाउने डाउन ज्याकेट, क्यापहरु उत्पादन गरेका छन् । त्यसबाहेक टिसर्ट, सर्टहरु पनि उत्पादन गरेका छन् ।
चार दिदीबहिनीले सन् २०१९ फेब्रुअरीमा २० लाख रुपैयाँबाट शुरु गरेको व्यवसायले अहिले गतको वर्ष १ करोड रुपैयाँको कारोबार गर्न शुरु गरेको छ । आजसम्म लगानी पनि एक करोड पुगिसकेको आङछिची बताउँछिन् ।
माइनस २० डिग्री सेल्सियसमा लगाउन मिल्ने डाउन ज्याकेट उत्पादन गरिरहेको लुक्ला आउटडोरले आफ्नै कारखाना स्थापना गर्नेदेखि ढांग्री उत्पादन गर्नेसम्मको योजना बनाइरहेको छ ।
चार जना दिदीबहिनी मिलेर लुक्लाबाट लुक्ला आउटडोरको यात्रा शुरु भएको थियो । जुन यात्रामा संगै हिडेका छन् आङछिची, पासाङ माया, बिमला र अन्जु शेर्पा ।
लुक्लाका यी चारै जना दिदीबहिनीहरु लुक्लामा पहिलेदेखि पर्यटन व्यवसाय गर्छन् । आङछिची शेर्पाको परिवार वर्षौंदेखि लुक्लामा होटल व्यवसायमा संलग्न छ ।
‘म पनि बुबाआमासँग त्यही व्यवसाय गर्र्थें,’ आङछिची भन्छिन्, ‘पछि म काठमाडौंमा पढ्न आएँ ।’
प्यारागत स्कुल पढेकी आङछिची शेर्पाले स्लिङटन कलेजबाट स्नातक तह सकेर मास्टरको तयारी गरिरहेकी छिन् ।
अर्को सहसंस्थापक हुन उनकी दिदी पासाङ माया शेर्पा । लुक्लामा कफी सपबाट व्यवसाय शुरु गरेकी उनले एभरेष्ट माउन्टेन होम होटल चलाउँछिन् । उनीसँग २० वर्षदेखिको व्यवसायको अनुभव छ ।
बिमला शेर्पाले लुक्लामा एभरेष्ट कफी सप, खुम्बु लन्च होटल, रेष्टुरेन्ट सञ्चालिन गर्छिन् । उनको पनि झन्डै १५ वर्षदेखिको अनुभव छ ।
अन्जु शेर्पाले पनि लुक्लामा टासी डेलेक लज सञ्चालन गर्छिन् । उनले पनि १५ वर्षदेखि लुक्लामा व्यवसाय सञ्चालन गरिरहेकी छिन् ।
लामो सयमदेखि लुक्लामा पर्यटन व्यवसायमा जमेका थिए । एक्लाएक्लै व्यवसाय गरिरहेका चार दिदी बहिनीले सल्लाह गरे, अब संयुक्त लगानीको व्यवसाय शुरुवात गर्ने ।
त्यसपछि लुक्लामै शुरु गरे, थकाली रेष्टुरेन्ट ।
‘हामी चार जना मिलेर सन् २०१९ को शुरुवातमा थकाली रेष्टुरेन्ट शुरु गर्यौं,’ आङछिची भन्छिन्, ‘त्यसपछि अन्य व्यवसाय विस्तार गर्ने सोच आएको हो ।’
लुक्ला आफैमा चिसो ठाउँ हो । दैनिक जीवनमा पनि न्याया कपडा, ज्याकट आवश्यक पर्छ । ट्रेकिङ जाने, हाइकिङ जाने, हिमाल चढ्नेहरु पनि प्रसस्तै हुन्छन् लुक्ला । यिनीहरुले लगाउने लुगा, चाहिने सामग्रीहरुको बारेमा उनीहरुले होटल व्यवसाय गर्दागर्दै धेरै ज्ञान लिइसकेका थिए ।
दैनिक जीवनकै लागि विशेष कपडा चाहिने भएपछि चार दिदीबहिनीले अर्को सोँच आयो, कपडा व्यवसाय ।
‘हामीले स्वदेशी ब्रान्डकै कपडा ल्याएर व्यवसाय गर्ने सोँच बनाएका थियौं,’ आङछिची भन्छिन्, ‘स्वदेशी ब्रान्डलाई प्रवद्र्धन गर्ने उद्देश्य थियो ।’
बजारमा ‘मेड इन नेपाल’का कपडाहरु खोज्ने थाले । विभिन्न कपडा हेरे तर सन्तुष्ट हुन सकेनन् । कस्ता कपडा पाइन्छन् भनेर अध्ययन पनि गरे । कच्चा पदार्थको उपलब्धता कस्तो छ भनेर पनि हेरे । त्यसपछि उनीहरु आफैले डिजाइन गरे र उत्पादन गर्ने निर्णयमा पुगे ।
त्यसपछि आफ्नै ब्रान्ड बनाए– ‘लुक्ला आउटडोर’ ।
सन् २०१९ देखि रिसर्च एण्ड डेभलपमेन्टको काम शुरु गरेका उनीहरुले स्न २०२० फेब्रुअरीदेखि लुक्लामा लुक्ला आउटडोरको औपचारिक शुरुवात गरे ।
‘हामीले यस्तो ब्रान्ड गर्ने भनेर शुरुमै आएको होइन,’ उनी भन्छिन्, ‘हामीले यसमा अध्ययन गर्दै जाँदा लुक्ला आउटडोर शुरु भएको हो ।’
नेपालमा हाइकिङ, ट्रेकिङ तथा हिमाल चढ्नको लागि हरेक वर्ष हजारौं विदेशी आउँछन् । उनीहरु आउँदा आफ्नै देशबाट आफूलाई चाहिने सामान बोकेर आउँछन् ।
विदेशबाट आफै सामान ल्याउनु कारण नेपाली बजारमा त्यसको उपलब्धता नभएर हो । उनीहरुले बजारमा यही ग्याप पनि देखे । गुणस्तरीय सामान उत्पादन गर्ने हो भने नेपाल र विदेशी बजारमा राम्रो व्यवसाय गर्न सकिने ठाउँ छ भन्ने उनीहरुलाई लाग्यो ।
नेपालीले उत्पादन गर्ने यस्ता सामानको बजार युरोप, उत्तर अमेरिका पनि राम्रो बजार छ । पछिल्लो समय चीनमा पनि यस्तो बजार बढ्दै गएको छ । यी ठाउँमा हाइकिङ, ट्रेकिङ, क्लाइमिङ कल्चर नै छ ।
नेपालमा पनि हाइकिङ, ट्रेकिङमा जानेबाहेक अग्ला हिमाल वा जाडोमा गुणस्तरीय सामान लगाउन चाहने पनि यस्ता कपडा प्रयोग गरिरहेका छन् । यही ग्यापलाई परिपूर्ति गर्न लुक्ला आउटडोर शुरु गरेको उनीहरु बताउँछन् ।
लुक्लामा आउटलेट भए पनि धेरै काम काठमाडौंबाट गर्नुपर्छ । कच्चा पदार्थ संकलन गर्नेदेखि कारखानाको आउटसोर्सिङको काम पनि काठमाडौंमा हुन्छ । यहाँ उत्पादन भएका कपडाहरु छरछिमेक, आफन्ती, साथीभाइले काठमाडौं घरबाटै किन्न थाले।
यस्ता कपडाको माग लुक्लामा मात्र नभएर काठमाडौंमा देखे उनीहरुले । त्यसपछि काठमाडौं २०२१ मा मन्डिकाटारमा लुक्ला आउटडोर शुरुवात गरे ।
आउटडोर शुरुवात भएको पहिलो वर्ष खासै व्यापार भएन । देशभर फैलिएको कोरोना संक्रमणले पनि व्यवसायलाई असर गर्यो । गत वर्षदेखि भने व्यवसाय राम्रो हुँदै गएको आङछिची बताउँछिन् । काठमाडौंमा आउटलेट शुरु भएपछि गत आर्थिक वर्ष एक करोडको कारोबार गर्न सफल भएको छ लुक्ला आउटडोर ।
लुक्ला आउटडोरको व्यवसायीक यात्रा भर्खर शुरु भएको छ । आगामी दिनमा सबै हिमाल चढ्न सक्ने सबै खालका कपडा उत्पादन गर्ने लक्ष्य छ उनीहरुको । अहिले यसको लागि केही स्याम्पलहरु निकालेर अध्ययन गरिरहेका छन् ।
लुक्लामा हिमाल चढ्नेहरु धेरै भेटिन्छन् । कति आफन्त पनि छन् । उनीहरुले लुक्ला आउटडोरका नयाँ उत्पादनलाई परीक्षण गरेर प्रतिक्रिया दिन्छन् । त्यसका आधारमा कपडा उत्पादन गर्ने उनले बताइन् ।
‘यसले गर्दा हाम्रो उत्पादन पूर्ण सुरक्षित र गुणस्तरीय छन्,’ आङछिचीले भनिन्, ‘हामीले कच्चा पदार्थ प्रयोग कसरी गर्ने भनेर राम्रो रिसर्च गर्छौं ।’ दुई तीनवटा कच्चा पदार्थ मिक्स गरेर कपडा बनाउँदा नयाँखालको उत्पादन हुने उनी बताउँछिन् ।
अहिले उनीहरुले उत्पादन गरेको डाउन ज्याकेट माइनस २० डिग्री सेल्सियसमा प्रयोग गर्न सकिन्छ । यो भनेको सगरमाथाको पहिलो क्याम्प हो । जसको मूल्य २५ हजार रुपैयाँ पर्छ । त्यसबाहेक नौबुचे पिक, नेरा पिक जस्ता साना पिकमा पनि प्रयोग गर्न सकिन्छ ।
कारखाना, नयाँ कपडा रिसर्च एण्ड डेभलपमेन्टको लागि नयाँ लगानी थपिन लागेको उनले बताइन । भविष्यमा ढांग्री उत्पादन गर्ने योजनामा छन् । जसको लागि अध्ययन गरिरहेका छन् ।
दुई वर्षको अनुभवले अब अझ उच्च गुणस्तरका उत्पादन गर्ने योजनामा पुगेका छन् । अरु कम्पनीको भन्दा फरक ब्रान्ड, फरक डिजाइन, फरक अनुभव निकाल्ने प्रयास गरिरहेका छन् । दुई कच्चा पदार्थलाई मिक्स गरेर नयाँ प्रोडक्ड पनि उनीहरुले बनाइरहेका छन् ।
‘नेपालमा ‘आर एण्ड डी’मा समय दिने वा खर्च गर्ने चलन छैन, उनी भन्छिन्, ‘हामीले भने यसमा विशेष ध्यान दिइरहेका छौ ।’
उनीहरुले अहिले लगानीमात्र नभएर व्यवस्थापन, नेटवर्क, र कर्पोरेट लिंकेज खोजिरहेका छन् । पैसा लगानी गर्न चाहनेहरु धेरै भए पनि व्यवस्थापन, व्यापार लिंकेज बढाउने गरी लगानी बढाउन खोजिरहेको उनले बताइन ।
‘हामीलाई विदेशबाट पनि लगानी गर्ने भनेर अफर आएको थियो । एक लेभलमा कुराकानी पनि भएको थियो,’ उनी भन्छिन्, ‘स्वदेशी ब्रान्ड बनाउने हो भने स्वदेशी लगानी ल्याउने र व्यवस्थापनलाई अझ सहज बनाउने निर्णय गरेका छौं ।’