
काठमाडौं । पछिल्लो समयमा राजधानीमा दैनिक रुपमा विभिन्न नाममा हुन थालेका आन्दोलनका कारण यातायात व्यवसायी मारमा परेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
विभिन्न नाममा भएको सडक आन्दोलनका कारण यातायात व्यवसायीले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउँदा बैंकको व्याज भुक्तानी गर्न समस्या परेको औल्याउँदै महासंघले सहज रुपमा सवारी साधन सञ्चालन गर्ने वातावरण नबने आन्दोलन गर्ने चेतावनी दिएको हो । महासंघले सडक केन्द्रित यस्ता आन्दोलनका कारण यातायात क्षेत्र धरासायी बनेको औंल्याएको छ ।
मंगलबार महासंघको टोलीले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो चेतावनी दिएका छन् । पछिल्लो समयमा २१ दिनदेखि शिक्षक महासंघले राजधानीको बानेश्वरदेखि माइतिघरसम्मको मुख्य सडक छेकेर आन्दोलन गरेका कारण उक्त रुटबाट रत्नपार्क, कलंकी, अनामनगर, कुपण्डोलतर्फ र कलंकी, रत्नपार्कबाट बानेश्वर, भक्तपुरलगायतका रुटमा सयौं सवारी साधन गुडाउन नपाएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।
‘सवारी साधन गुडाउन नपाउँदा दैनिक आम्दानीको अभाव हुँदा महँगो व्याज दरमा बैंकबाट ऋण उठाएर खरिद गरिएको बसको व्याज तिर्न सकिएको छैन भने अर्कोतर्फ एक महिनादेखि कामदारलाई तलव खुवाउन सकिएको छैन,’ सिटौलले भने, ‘आफ्नो माग राखेर सडक केन्द्रित आन्दोलन गर्दा कम्तिमा आम जनताको अधिकारको बारेमा पनि बिचार गरिदिनु पर्छ । सडक केन्द्रित आन्दोलनका कारण अहिले हरेक क्षेत्र प्रभावित भएको छ ।’
सरकारले सार्वजनिक यातायात सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन नसके महासंघले आन्दोलन गर्नुपर्ने बाध्यता आउने सिटौलाले जानकारी दिए ।
पछिल्लो समयमा बानेश्वर माइतिघर रुटमा आवासिय चिकित्सक, राप्रपा, विभिन्न राजनीतिक दल, अभियानकर्ता, शिक्षकहरुले आन्दोलन गर्दैआएका छन् । सडक केन्द्रित आन्दोलनका कारण आम जनतालाई पनि निर्धारित समयमा गन्तव्यसम्म पुग्न निक्कै समस्या भएको छ ।
महासंघले दूर्घटना न्यूनिकरण र खडा भएका सवारी साधनको कर असुली सम्बन्धमा पनि विभागको ध्यानाकर्षण गराएको छ ।








प्रतिक्रिया