
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ०५८ मा सत्ता हातमा लिँदा काटेको टेलिफोनको तार अहिलेसम्म फिर्ता नगरेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यसत्ता हातमा लिँदा सञ्चार गृहमाथि गोली तेर्स्याएको र टेलिफोनको तारसमेत काटेर लगेको र अहिलेसम्म फिर्ता नगरेको आरोप लगाए ।
उनले पूर्वराजा शाहलाई मूर्खको संज्ञा दिँदै विगतमा फालिसकेको र सयौं वर्ष देशलाई अन्धकारमा राखि जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु फेरि सल्बलाएको बताए । उनले फेरि प्रतिगमन गरेर आउने आँट कस्तो होला ? भन्दै प्रश्न समेत गरे ।
२१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने ? भन्दै उनले प्रश्न गरे ।
‘२१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने ? महाराजधिराज भएर बस्ने ? हामीलाई हुकुम दिने ?’ प्रधानमन्त्री ओलीको प्रश्न छ । चैत्र १५ गते पैसा तिरेका गुण्डाहरु शहर ल्याएर उपद्रो मच्चाएको उनको आरोप छ ।
नेकपा एमाले जस्तो शक्तिको गर्जन नपुगेर यस्ता शक्ति सल्बलाएको उनको टिप्पणी छ ।
प्रधानमन्त्री ओलीले यसो भने
अब नयाँ पनि देखिए । फेरि हामीले फालिसकेका सयौं वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु अहिले फेरि प्रतिक्रियावादी शक्तिहरु फेरि प्रतिगमन गरेर आउन खोजिरहेका छन् । कत्रो आँट होला । २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे । २१ औं शताब्दीमा श्रीपेच लगाएर । महाराजधिराज भएर । हामीलाई हुकुम दिने अरे । जनतालाई । जनता भन्दा माथि, संविधानभन्दा माथि । देश भन्दा माथि । अलिक अफ्ठ्यारो पर्यो भने १५ गते यिनीहरु नाङ्गिए । अलिक अफ्ठ्यारो पर्यो भने हामीले खोजेको त संवैधानिक राजतन्त्र । संविधान नमान्ने, कानून नमान्ने । लोकतन्त्र नमान्ने । खोज्ने के संवैधानिक अरे । संविधान नमानेर संवैधानिक खोज्ने । जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वभौम सत्ता नमान्ने । जनताको सर्वोच्चता नमान्ने, जनता शक्तिका श्रोत हुन् भनेर नमान्ने । अनि पैसा तिरेका चार टा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरु, व्यक्तिका घरहरु तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर । अनि देश धेरै बिग्रियो, हामी सपार्न आउँछौँ, मलाई साथ देउ न । म अगाडि बढ्छु । आह्वान गर्ने । हामीले देखेका छैनौँ, अस्ति ०५८ सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा । हामी सबैलाई थुनेर । टेलिफोनको लाइन काटेर लगियो । कस्तो मूर्ख होला । लाइन काटेपछि त सकियो नि । तार अहिलेसम्म फिर्ता गरेका छैनन्, ज्ञानेन्द्र शाहले । कहाँ लग्या हो कहाँ लग्या हो । अनि फेरि चाहियो राजतन्त्र । यो भुलभुलैयामा नपरौँ । यस्ताहरु हाम्रो सुदृढ एकता र हाम्रो एमाले जस्तो गर्जन नपुगेर यिनीहरु सल्बलाउन थालेका हुन् । के नयाँ शक्ति भनेको छ, नयाँ शक्तिको तमासा अब देखिएन । कोही पुलिस कुल्चिएर गाडी गुटुटु चलाएर लिएर जान्छन्, पागल हो की सद्दे हो की ? मान्छे मार्न, राज्यको ड्युटिमा उभिएको प्रहरीमाथि मार्न गाडी लिएर जाने ? हामी सही राखेका छौँ । यिनीहरुको प्रोबोकिङलाई, प्रोबोकेसनलाई हामी सहिराखेका छौँ । तर सहनुको एउटा हद हुन्छ भन्नेकुरा जब जनतालाई अवमूल्यन गरिन्छ, हेपिन्छ, तब सहने कुराको हद हुन्छ भन्नेकुरा म चेतावनी पनि भन्न चाहन्छु ।







प्रतिक्रिया