व्यवसायको क्षेत्र र प्रकार अनुसार कति लाग्छ कर ? यस्तो छ आन्तरिक राजस्व विभागले निकालेको दर



काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसाय हुने क्षेत्रका आधारमा कर आयकर निर्धारण गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ देखि कायम भएको ३० लाख रुपैयाँको कारोबार र ३ लाख रुपैयाँसम्मको प्राकृतिक व्यक्तिको आयकरको दर विभागले सार्वजनिक गरेको हो ।

विभागका अनुसार पूर्वानुमानित कर आय विवरण पेश गर्नेको हकमा बासिन्दा प्राकृतिक व्यक्तिले व्यवसायबाट प्राप्त गरेको करयोग्य आर तीन लाख रुपैयाँसम्म र व्यवसायको कारोबार वार्षिक तीस लाख रुपैयाँभन्दा बढी नभएको करदाताको हकमा छुट्टाछुट्टै कर लाग्नेछ ।

जसअनुसार महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले ७ हजार ५ सय रुपैयाँ कर बुझाउनुपर्छ ।

त्यसैगरी नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले ४ हजार रुपैयाँ र अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले २ हजार ५ सय रुपैयाँ कर बुझाउनुपर्छ ।

त्यसैगरी व्यवसायको प्रकारका आधारमा ग्याँस, चुरोटलगायत तीन प्रशितसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ३० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्मको कारोबारमा ०.२५ प्रतिशत कर लाग्छ ।

त्यसबाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ३० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्म कारोबार गर्दा १ प्रतिशत र सेवा व्यवसाय गर्ने व्यक्तिलाई ३० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्मको कारोबार रकममा २ प्रतिशतसम्म कर लाग्छ ।

त्यसैगरी व्यवसायको प्रकारका आधारमा ग्याँस, चुरोटलगायत तीन प्रशितसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मको कारोबारमा ०.३ प्रतिशत कर लाग्छ ।

त्यसबाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार गर्दा ०.८ प्रतिशत र सेवा व्यवसाय गर्ने व्यक्तिलाई ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मको कारोबार रकममा २ प्रतिशतसम्म कर लाग्छ ।

साथै, आर्थिक ऐन २०७९ ले कारोबारका आधारमा कर बुझाउने तीन लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म्को कारोबार गर्ने करदाताको आय वर्ष २०७८/७९ मा लाग्ने करमा ५० प्रतिशत छुट समेत दिएको छ ।


क्लिकमान्डु