कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? आन्तरिक राजस्व विभागले निकाल्यो करको दर



काठमाडौं । आगामी आर्थिक वर्षदेखि आयकरको सीमा हेरफेर गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै आयकरको सीमा हेरफेरि गरिएको जानकारी दिएका थिए ।

जसअनुसार आन्तरिक राजस्व विभागले आयकरको सीमा र त्यसमा लाग्ने करको दर सार्वजनिक गरेको छ ।

जसअनुसार अब तपाईं अविवाहित हुनुहुन्छ र वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ भने तपाईंले १ प्रतिशत मात्रै कर बुझाए पुग्छ । तर विवाहितको हकमा ६ लाख रुपैयाँसम्म कमाउँदा १ प्रतिशत कर तिरे पुग्छ ।

त्यसैगरी ५ लाख रुपैयाँभन्दा बढी तर ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने अविवाहित र ६ लाख रुपैयाँभन्दा बढी ८ लाख रुपैयाँ आम्दानी गर्ने विवाहितले १० प्रतिशत कर तिरे पुग्छ ।

साथै, ७ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने अविवाहित र ८ लाख रुपैयाँभन्दा बढी र ११ लाख रुपैयाँसम्म आम्दानी गर्नेले २० प्रतिशत कर बुझाए पुग्छ ।

यदि तपाईं एकल हुनुहुन्छ र वार्षिक १० लाखदेखि २० लाख रुपैयाँसम्म र विवाहित हुनुहुन्छ भने ११ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी छ भने तपाईंले ३० प्रतिशत कर बुझाउनुपर्छ ।

साथै, २० लाखभन्दा माथि आम्दानी गर्ने एकलले ३६ प्रतिशत र विवाहितको हकमा २० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा थप २० प्रतिशतका दरले कर लाग्छ ।

यसरी तीस लाख रुपैयाँ कर योग्य आय हुने अविवाहितले वार्षिक ७ लाख ४५ हजार रुपैयाँ र विवाहितको हकमा ७लाख १६ हजार रुपैयाँ आयकर बुझाए पुग्छ ।

तर एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभभरण वापत आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा एक प्रतिशत कर लाग्ने छैन ।


क्लिकमान्डु