उद्योगमन्त्री भन्छन्- ७५३ स्थानीय तहमा एकैपटक बजारमा छापा हान्दैछौं



काठमाडौं । सरकारले ७५३ स्थानीय तहमा एक समयमा बजार अनुगमन गर्ने तयारी गरेको छ ।

 पछिल्लो समय उच्च दरमा महंगी बढ्दा समेत सरकारले बजार अनुगमन गर्न नसकेको गुनासो आउन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बजार अनुगमन बढाउन लागेको हो । 

प्रदेशका उद्योग मन्त्रालय र स्थानीय तहसँगको सहकार्यमा देशभर एकै समयमा बजार अनुगमन गर्ने गरी तयारी भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

‘बजारमा अस्वाभाविक मूल्य बढेको गुनासो आएको हो । हाम्रो विभागले नियमित बजार अनुगमन गर्नुको साथै गलत गर्नेलाई कारबाही गरिरहेको छ,’ मन्त्री बडूले क्लिकमाण्डूसँग भने ,‘तर, महँगी घट्न नसकेको गुनासो मन्त्रालयमा आईरहेका छन् ।

त्यसैले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा देशभरका मुख्य सहरमा एकै दिन र एक समयमा बजार अनुगमन गर्ने हाम्रो योजना छ ।’बजारमा अनुगमन गर्ने विषयमा सङ्घीय मन्त्रालयले प्रदेशका उद्योग मन्त्रालय र नगरपालिका महासँघ र गाउँपालिका महासँघ समेत छलफल गरिरहेको मन्त्री बडूले जानकारी दिए ।

 ‘संविधानले बजार अनुगमन गर्ने अधिकार तिनै तहका सरकारलाई दिएको छ’ मन्त्री बडूले भने,‘ त्यसैले गृह मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा बजार अनुगमन गर्न लागेका हौँ ।’

अस्वभाविक मुल्य बढाउने उद्योगी र व्यवसायीलाई सरकारले कानुन अनुसार कारबाही गर्न नसक्दा पछिल्लो समय रसिया युक्रेन युद्ध र पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै सामानको मूल्य बढाउने विकृति बढेको छ । 

रसिया र युक्रेनको युद्ध सुरु भएको दुई महिनामा नेपालमा खाने तेलको मूल्य प्रतिलिटर एक सय रुपैयाँले बढिसकेको छ । यस्तै, तरकारी, फलपूmल, दाल, चामल लगायतका खाद्य सामाग्रीको मूल्य उच्च दरमा बढेको छ । 


क्लिकमान्डु