हप्तादिनमै खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढ्यो, रुस-युक्रेन द्वन्द्वको कारण भन्दै कालोबजारी



काठमाडौं । बजारमा हप्तादिनमै खाने तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ । अत्यावश्यक तेलको मूल्य हप्ता दिनमै बढ्न थालेपछि नेपालीको भान्सा झन महंगो हुँदै गएको छ ।

गत हप्तासम्म सनफ्लावर तेलको मूल्य प्रतिलिटर अधिकतम ३२० रुपैयाँमा बिक्री वितरण भएको थियो । तर, अहिले सोही तेलको मूल्य प्रतिलिटर ३७० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

चुनाव अघिसम्म खुद्रा बजारमा प्रतिलिटर ३२० रुपैयाँमा बिक्री हुँदै आएको सनफ्लावर तेल पछिल्लो समय नयाँ प्याकेज आउने वित्तिकै प्रतिलिटर ५० रुपैयाँसम्म बढेर आएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन् ।

उनकाअनुसार अहिले उद्योगीहरूले उत्पादन गरी बजारमा पठाउने तेलको मूल्य प्रतिलिटर नै ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म मूल्य बढाएर पठाइरहेका छन् ।

‘हप्तादिन अगाडि प्रतिलिटर ३१० रुपैयाँदेखि ३२० रुपैयाँ प्रतिलिटर खुद्रा व्यवसायीहरूले बिक्री गरेका थिए,’ उनले भने, ‘पछिल्लो समय बजारमा आएको तेलको प्याकेटमै मूल्य बढाएर आएको छ ।’

नेपालमा एक दर्जनभन्दा बढी तेल उद्योग छन् । उक्त उद्योगीहरूले अहिले प्रत्येक नयाँ उत्पादनसँगै नयाँ मूल्य तोकेर बजारमा पठाउने गरेको खुद्रा व्यवसायीहरूको भनाइ छ । तेलको मूल्य उच्चरुपमा बढ्न थालेपछि साना–साना खुद्रा व्यापारीहरूले तेल नै बिक्री गर्न छोडिसेकेको छ । साथै, ठूला होलसेल व्यवसायीहरूले सीमित मात्रामा तेल खरिद गरी बिक्री गरिरहेका छन् ।

एकातिर बजारमा तेलको मूल्य ह्वात्तै बढेको छ भने अर्कोतर्फ व्यवसायीहरूले सीमित परिमाणमा तेल बिक्री गरिरहेको अवस्था छ ।

बजारमा अहिले फरच्युन तेलको मूल्य प्रतिलिटर ४०० रुपैयाँ, सनफ्लावरको ३५० रुपैयाँ, धारा सन्फ्लावर तेलको मूल्य ३७० रुपैयाँ, सेफको ३४० रुपैयाँ, कुकको ३४० रुपैयाँ, पतञ्जली सनफ्लावरको ४२५ रुपैयाँ, अमृतको ३५० रुपैयाँ, प्रकृति सनफ्लावरको मूल्य ३४५ रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

त्यसैगरी, भटमासको तेलको मूल्य पनि ३२० रुपैयाँदेखि ३४० रुपैयाँमा बिक्री भइरहेको तुलाधारको भनाइ छ । बजारमा उच्च रुपमा तेलको मूल्य वृद्धिले व्यापार नै गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । बजारमा खुलेआम कालोबजारी गर्दासमेत सरकारले वेवास्था गर्दा उपभोक्ताले दिनहुँ महंगी खेप्नुपरेको उनले बताए ।

मूल्य बढ्नुको मुख्य कारण द्वन्द्व, आयात ठप्प
उद्योगीहरूले मूल्य बढ्नुको मुख्य कारण रुस–युक्रेनबीचको द्वन्द्व रहेको जनाएको छ । नेपालले अधिकांश कच्चा तेल यी दुई देशबाट आयात गर्ने भएकाले नेपाली बजारमा स्वतः प्रभाव पर्ने उनीहरूको भनाइ छ ।

केएल दुगड ग्रुपको महाप्रबन्धक सिग्देलले बजारमा मूल्य बढ्नुको मुख्य कारण दुई देशको द्वन्द्व रहेको बताए । उनकाअनुसार पछिल्लो समय तेल उद्योगहरूले पर्याप्त मात्रामा सनफ्लावर तेल आयात गर्न सकेको छैन । जसले गर्दा बजारमा सप्लाई चेनमा समस्या आएको हो ।

‘रुस–युक्रेनबीचको द्वन्द्वले २ महिनादेखि कच्चा सनफ्लावर तेलको आयात ठप्प छ,’ उनले क्लिकमाण्डूसँग भने ।

भटमासको तल आयातमा कुनै समस्या नभएपनि सनफ्लावर तेलको आयातमा उच्च समस्या रहेको उनको भनाइ छ ।

उद्योगीहरूले द्वन्द्व शुरु हुनुभन्दा अगाडि नै आयात गरी मौज्दातमा राखेको तेल प्रशोधन गरेर बिक्री गरिरहेको उनले जानकारी दिए ।

‘युद्ध चलेसँगै अधिकांश उद्योगले तेल आयात गर्न सकेको छैन । साथै, मौज्दातमा रहेको कच्चा तेल पनि लगभग सकिसकेको अवस्था छ,’ उनले भने ।

यसले गर्दा आगामी दिनमा सनफ्लावर तेलमा मूल्यवृद्धिसँगै अभाव हुन सक्ने उनले अनुमान गरेका छन् । आगामी दिनमा सनफ्लावर तेलको साटो तोरी वा भटमासको तेलमा परिणत भए मात्रै सहज हुने उनले बताए । त्यससँगै, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्च रुपमा बढेकाले पनि नेपालमा सोहीअनुसार बढेको उनको दाबी छ ।

कालोबजारी
उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढाएको दाबी गर्दै आएका छन् । तेल उद्योगीहरूको साझा संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रुपमा बढेको जनाएको छ । उक्त मूल्यवृद्धिले गर्दा नै नेपाली बजारमा मूल्य बढेको संघको भनाइ छ ।

रुस–युक्रेनबीचको युद्ध शुरु हुनुभन्दाअघि प्रतिलिटर २५० रुपैयाँसम्म बिक्री भएको थियो । तर, रुस–युक्रेनको युद्ध शुरु भएको हप्ता दिन नपुग्दै बजारमा प्रतिलिटर ३० रुपैयाँसम्म मूल्य बढाएको थियो ।

त्यस्तै, करिब डेढ महिनादेखि कच्चा तेल आयात हुन ठप्प भइरहेको अवस्थामा पनि उद्योगीहरूले अभाव देखाउँदै मूल्य बढाएको देखिन्छ । जसमा गत महिनासम्म २७० रुपैयाँदेखि २९० रुपैयाँमा बिक्री भएको तेलको मूल्य ३५० रुपैयाँदेखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यसैगरी, उद्योगीहरूले भटमास तेलको आयातमा कुनै समस्या नरहेको बताउँदै आएका छन् । तर, सोही भटमासको तेलमा पनि उद्योगीहरूले मूल्य बढाउँदै लगेको छ । खुद्रा व्यवसायी संघका महासचिव तुलाधारले विगतको दिनमा सस्तो मूल्यमा आयात गरेको कच्चा तेल नै अहिले बिक्री भइरहेको छ । जसमा उद्योगीहरूले कालोबजारी गरेर बिक्री गरिरहेको उनको आरोप छ ।


अरिष्मा मोक्तान