गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै जाँचबुझ समिति समेत गठन गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ मा जाँचबुझ समिति गठन तथा काम, कर्तव्य अन्तर्गत सरकारले दफा २२ को उपदफा २ बमोजिम गभर्नरलाई पदमुक्त गर्नुअघि देहाय बमोजिमको जाँचबुझ समिति गठन गरी सो समितिको सिफारिसमा गभर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ ।

जसमा सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट सरकारले तोकेको २ जना व्यक्ति सदस्य रहने व्यवस्था छ ।

जाँचबुझ समितिपले जाँचबुझ गरी आफ्नो राय ठहर सहितको सिफारिस सरकार समक्ष पेश गर्नुभन्दा अघि सम्बन्धित व्यक्तिसँग बयान लिन वा सोधबुझ गर्न सक्नेछन् । जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा अपनाउनु पर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछन् । उक्त समितिले राय ठहरसहितको आफ्नो सिफारिस एक महिनाभित्र सरकार समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु