निलम्बन गरेको भोलिपल्ट अर्थमन्त्रीले गभर्नरसँग पब्लिक प्रोग्राममै जुहारी खेले



काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको वित्त तथा आर्थिक सम्मेलनको उद्घाटनमा प्रमुख अतिथि थिए अर्थमन्त्री जनार्दन शर्मा ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री शर्मालाई प्रमुख अतिथिको रुपमा र्याडिसन होटलमा आयोजित कार्यक्रमा स्वागत गर्दा अघिल्लो दिन आफू निलम्बनमा परेको कुरा जानकारीमा थिएन ।

तर अघिल्लो दिन बिहीबार मन्त्रिपरिषदबाट गभर्नर निलम्बन गर्ने निर्णय गराएका अर्थमन्त्री शर्मा भने अर्को दिन केही थाहै नपाए झैं गरी गभर्नर अधिकारीसँग जुहारी खेल्न तम्सिए ।

नैतिकताका आधारमा पनि आफूले अघिल्लो दिन निलम्बन गरेको गभर्नरसँग भोलिपल्दै एउटै मञ्चमा बसेर जुहारी खेल्नु अर्थमन्त्री शर्मालाई नमिल्नु पर्ने हो । तर अर्थमन्त्रीलाई यसबारे केही थाहा नपाए झैं गर्दै इगो साँध्ने शैलीमा उत्रिए । जुन स्वभाविक मानिँदैन् । अर्थमन्त्री शर्मा निलम्बन गरिसकेको व्यक्तिसँग एउटै मञ्चमा बस्नुभन्दा अनुपस्थित हुनु राम्रो हुने जानकार बताउँछन् ।

कार्यक्रममा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको भन्दै श्रीलंकाको बाटोमा जान सक्ने बताउँदा अर्थमन्त्री शर्माले त्यसपछि बोल्दै केही मानिसहरु नेपाललाई श्रीलंका बनाउन खोजेको र त्यो कदापी हुन नदिने दाबी गरेका थिए ।

अधिकारीले सरकार राष्ट्र बैंक मिलेर विदेशी बिनिमय सञ्चिति जोगाउनका लागि बिलासिताका वस्तुमा नगद मार्जिन राख्नेदेखि लिएर त्यस्ता शीर्षकमा जाने कर्जामा जोखिम भार बढाएको समेत अवगत गराएका थिए ।

अहिलेको भन्दा विदेशी सञ्चिति घट्न नदिन राष्ट्र बैंक सरकारले काम गरिरहेको जानकारी उनको थियो ।

गभर्नरपछि बोलेका अर्थमन्त्री जनार्दन शर्माले भने राष्ट्र बैंक र गभर्नरप्रति सार्वजनिक रुपमा नै असन्तुष्टी व्यक्त गरे ।

उनले सबैभन्दा पहिला राष्ट्र बैंकको काम स्थायीत्व मात्रै भन्ने तथा नियमनकारी निकायमात्र नभएको भन्दै अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्ने संस्था भएको भन्दै त्यसमा जिम्मेवार नभएकोमा असन्तुष्टी व्यक्त गरे ।

गभर्नर अधिकारीले अर्थतन्त्रको स्थिती सुधार नभएमा श्रीलंका बन्ने खतरा देखाएका थिए । यसमा अर्थमन्त्री अधिकारीले केही व्यक्ति नेपाललाई श्रीलंका बनाउन लागेको र त्यो सम्भव नहुने भन्दै आंतकित नबनाउन चेतावनी दिए ।

अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग डिजिटल कारोबार खास गरेर क्रिप्टोकरेन्सीको बारेमा अध्ययन गर्न भनेकोमा त्यसको जानकारी समेत नदिएको बताए ।

गभर्नरसँग अर्थमन्त्री शर्माको सम्बन्ध राम्रो कहिल्लै भएन । गभर्नर अधिकारीलाई केपी शर्मा ओलीले नियुक्त गरेको हो ।

उनलाई एमालेको सरकारले डेपुटी गभर्नर बनाएको थियो । डेपुटी गभर्नरबाट अवकास भएपछि अधिकारी केपी शर्मा ओलीको सरकारले लगानी बोर्डको सीइओ बनायो ।

२ वर्ष अगाडि २०७६ चैत २४ गते राष्ट्र बैंकमा एमाले भनेर चिनिएका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी भएपनि ओली सरकारले गभर्नरको जिम्मा अधिकारीलाई दिएको थियो ।

अर्थमन्त्रीले राष्ट्र बैंकको कार्यक्रममा गभर्नरसँग असन्तुष्टी जनाएको अर्को विषय थियो व्यवसायी पृथ्वी शाहको रोकिएको रकम ।

शाहले अमेरिकाबाट ल्याएको रकम वित्तीय जानकारी इकाइले रोकेको थियो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई शाहको पैसा छाड्न अर्थमन्त्रीले दबाब दिएको समाचार बुधबार कान्तिपुरले प्रकाशित गरेको थियो । बुधबार नै अर्थमन्त्रीको सचिवालयले पैसा छाड्न दबाब नदिएको र विभागको छानबिनले शाहको खातामा शंका गर्नुपर्ने नदेखिएको पत्र सार्वजनिक गरेको थियो ।

शाहले पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकका कर्मचारीलाई घुस नदिएको कारण आफ्नो पैसा रोकिएको बताए ।

बिहीबारको कार्यक्रममा अर्थमन्त्री शर्माले राष्ट्र बैंकका सञ्चालकले ३० हजार अमेरिकी डलर घुस मागेर शाहको पैसा रिलिज नगरेको आरोप लगाए ।

राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार भएको र आफूले सल्लाह लिदा तथा शाहको पैसाको विषयमा राष्ट्र बैंकले सञ्चारमाध्यममा सूचना चुहाएकोमा असन्तुष्टी व्यक्त गरे ।

उनले एलसी रोक्ने सूचना चुहिएको भन्दै १२ दिनअघि एलसी खोलेका व्यवसायीको विवरण समेत माग गरे ।

‘राष्ट्र बैंकको कारण सेयर बजार घट्यो भन्छन्, ऋण बढ्यो भन्छन् मैले के भएको हो भनेर प्रश्न गर्दा हस्तक्षेप भयो भन्ने ?’ शर्माले प्रश्न गर्दै भने ।

उनले एउटा नागरिकले पैसा रोकिएको कुरा लिएर आएको र कानूनी भए पैसा खोलिदिनुभन्दा मिडियामा सूचना दिएको भन्दै गभर्नरसँग असन्तुष्टी दिए ।

यस्तै राष्ट्र बैंकले दिएको सुझाव अर्थमन्त्रालयमा नआउदै मिडियामा चुहिएको अर्थमन्त्रीले असन्तुष्टी व्यक्त गरेका थिए ।


क्लिकमान्डु