गभर्नर अधिकारीले भने- निलम्बनको हल्ला सुनेको हो, पत्र बुझेको छैन



काठमाडों । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारको निर्णयबारे कुनै पनि आधिकारिक जानकारी नआएको बताएका छन् ।

बिहीबारको मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । त्यसबारेमा आफूलाई कुनै पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए ।

‘सरकारले निलम्बन गरेको भन्ने हल्ला सुनेको हो तर अहिलेसम्म पत्र बुझेको छैन,’ क्लिकमाण्डूसँग कुरा गर्दै गभर्नर अधिकारीले भने ।

मन्त्रिपरिषदको निर्णय अनुसार गभर्नर अधिकारीलाई निलम्बनसँगै जाँचबुझ समिति समेत गठन गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ मा जाँचबुझ समिति गठन तथा काम, कर्तव्य अन्तर्गत सरकारले दफा २२ को उपदफा २ बमोजिम गभर्नरलाई पदमुक्त गर्नुअघि देहाय बमोजिमको जाँचबुझ समिति गठन गरी सो समितिको सिफारिसमा गभर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ ।

जसमा सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट सरकारले तोकेको २ जना व्यक्ति सदस्य रहने व्यवस्था छ ।

जाँचबुझ समितिपले जाँचबुझ गरी आफ्नो राय ठहर सहितको सिफारिस सरकार समक्ष पेश गर्नुभन्दा अघि सम्बन्धित व्यक्तिसँग बयान लिन वा सोधबुझ गर्न सक्नेछन् । जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा अपनाउनु पर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछन् । उक्त समितिले राय ठहरसहितको आफ्नो सिफारिस एक महिनाभित्र सरकार समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु