गभर्नर अधिकारी निलम्बन, पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ समिति गठन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई निलम्बन गरेको हो ।

सरकारलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति समेत गठन गरेको छ ।

सरकारले पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ समिति गठन गरेको हो । सरकारले नेपाल राष्ट्र बैंक ऐनको दफा २३ अनुसार जाँचबुझ समिति गठन गरेको हो ।

समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेल सदस्य छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ मा जाँचबुझ समिति गठन तथा काम, कर्तव्य अन्तर्गत सरकारले दफा २२ को उपदफा २ बमोजिम गभर्नरलाई पदमुक्त गर्नुअघि देहाय बमोजिमको जाँचबुझ समिति गठन गरी सो समितिको सिफारिसमा गभर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ ।

जसमा सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट सरकारले तोकेको २ जना व्यक्ति सदस्य रहने व्यवस्था छ ।

जाँचबुझ समितिपले जाँचबुझ गरी आफ्नो राय ठहर सहितको सिफारिस सरकार समक्ष पेश गर्नुभन्दा अघि सम्बन्धित व्यक्तिसँग बयान लिन वा सोधबुझ गर्न सक्नेछन् । जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा अपनाउनु पर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछन् । उक्त समितिले राय ठहरसहितको आफ्नो सिफारिस एक महिनाभित्र सरकार समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु