धितोपत्र बोर्डलाई अरुण भ्यालीको जवाफः कम्पनीको सेयर बेच्न पाउनुपर्छ



काठमाडौं । अरुण भ्याली हाईड्रोपावर कम्पनीले आफ्नो स्वामित्व रहेको अरुण कावेली हाइड्रोपावरको सेय बिक्री गर्न पाउनु पर्ने अडान कसेको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर अरुण कावेली हाइड्रोपावर कम्पनीको सेयर बिक्री गर्न खोजेपछि बोर्डले स्पष्टिकरण सोधेको थियो ।

बोर्डले फागुन पहिलो साता अरुण भ्यालीलाई किन, के कारण, कुन ऐन तथा कानूनलाई आधार मानेर अरुण कावेली पावर कम्पनीको सेयर बिक्री गर्न भन्दै सूचना निकालेको हो भनेर स्पष्टिकरण सोधिएको थियो । त्यसको जवाफमा कम्पनीले अरुण काबेलीमा सञ्चालक भएपनि सेयर बिक्री गर्न पाउनु पर्ने अडान राखेर जवाफ पठाएको छ ।

बोर्ड स्रोतका अनुसार कम्पनीले पठाएको जवाफमा ‘हामीले अरुण काबेलीमा अरुण भ्यालीको तर्फबाट गएका सञ्चालकको सेयर बिक्री गर्न खोजेको होइन्, समग्र कम्पनीको सेयर बिक्री गर्न खोजेको हो, हामीले बिक्री गर्न पाउनुपर्छ, त्यसको लागि सहजिकरण गर्न भनिएको छ ।

स्रोतका अनुसार स्पष्टिकरण सोधेको केही समयमा नै बोर्डमा जवाफ आइपुगेको हो ।

‘जवाफमा हामीले सञ्चालकको सेयर बिक्री गर्न लागेको होइन, कम्पनीको बिक्री गर्न लागेको हो भनिएको छ’ बोर्ड निकट स्रोतले भन्यो ‘त्यस्तो जवाफ आएपछि बोर्डले थप अध्ययन गरिरहेको छ ।’
कम्पनीले जवाफ पठाएको लामो समय भएपनि बोर्डको नेतृत्व भने उक्त कम्पनीको सेयर बिक्री गर्न बाटो बाटो खोल्ने वा नखोल्ने विषयमा मौन बसेको छ ।

बोर्डका एक कर्मचारीका अनुसार भर्खरै अध्यक्ष नियुक्ती भएको र सेयर बजारमा यस्ता खोले विकृती रोकिनेमा आशा रहेको बताउँछन् ।

‘अध्यक्षज्यूले कर्मचारीहरुलाई निर्देशन दिने बेला, विभिन्न छलफलमा यस्ता विषयमा मिहिन ढंगले अध्ययन गर्नुपर्ने र गलत गर्नेलाई छोड्न हुँदैन भन्नुहुन्छ,’ ती कर्मचारीले भने ‘देखिने गरी केही काम भएको छैन, अरुण भ्याली हाईड्रोपावरले पनि धम्कीको शैलीमा जवाफ पठाएको रहेछ, विद्युत नियमन आयोगको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका–२०७८ को दफा ११ लाई टेकेर सेयर बिक्री गर्न खोजेको तर्क गरेको रहेछ । तर धितोपत्र कानून अनुसार यो सेयर बिक्री गर्न मिल्दैन ।’

अरुण भ्याली हाइड्रोपावर कम्पनीले २०७८ माघ २३ गते एक राष्ट्रिय दैनिक पत्रिकामा अरुण कावेली हाइड्रोपावरमा आफ्नो नाममा रहेको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्नका लागि सूचना निकालेको थियो । अरुण भ्याली हाइड्रोपावरले निकालेको उक्त सेयर बिक्री गर्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली व्यवस्था विपरीत छ ।

कानूनमा नभएको व्यवस्थालाई उपभोग गर्दै कम्पनीले सेयर बिक्री गर्न खोजेपछि बोर्डले उक्त सेयर बिक्री गर्न रोक्न लागेको छ । त्यसको लागि पहिलो चरणमा कम्पनीलाई सोधेको स्पष्टिकरणको जवाफ पनि कम्पनीले बोर्डमा पठाइसकेको छ ।

अरुण भ्यालीले प्रकाशन गरेको सूचनामा भनिएको छ ‘यस अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँग रहेको अरुण काबेली लिमिटेडको २२ लाख ३२ हजार ५७० कित्ता शेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जानकारी गराउँदछौं । यो सूचना विद्युत् नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजानिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको हो’ भनिएको छ ।

आयोगको निर्देशिकाअनुसार कम्पनीले सेयर बिक्री गर्नका लागि सूचना प्रकाशित गरेको भएपनि बोर्डको नियमावलीले सेयर बिक्री गर्न मिल्दैन । एकैव्यक्ति दुबै कम्पनीमा हुँदा स्वार्थ बाझिने भन्दै बोर्डको नियमावलीले सेयर बिक्री गर्न रोक लगाएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को ‘१’ (क) अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्षरुपले संलग्न रहने व्यक्ति पदमा रहँदा वा पदबाट अवकाश प्राप्त गरेको मितिले १ बर्षसम्म सेयर बिक्री गर्न पाउँदैन । भन्ने व्यवस्था रहेको छ ।

अरुण भ्याली हाइड्रोपावरका कार्यकारी अध्यक्ष रहेका जीवनराज शाक्य र सञ्चालक रहेका रमेशप्रसाद न्यौपाने अरुण कावेली हाइड्रोपावरमा पनि सञ्चालक छन् । त्यही भएर धितोपत्र बोर्डको नियमावलीअनुसार अरुण भ्यालीले अरुण कावेलीमा रहेको सेयर बिक्री गर्न कानूनत पाउँदैन ।


क्लिकमान्डु