कानून उल्लंघन गर्दै सेयर बेच्न खोज्ने अरुण भ्याली हाइड्रोलाई बोर्डले सोध्यो स्पष्टिकरण



काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर कम्पनीलाई स्पष्टिकरण सोधेको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर अरुण कावेली हाइड्रोपावर कम्पनीको सेयर बिक्री गर्न खोजेपछि बोर्डले स्पष्टिकरण सोधेको हो ।

‘आइतबार अरुण भ्यालीलाई किन, के कारण, कुन ऐन तथा कानूनलाई आधार मानेर अरुण कावेली पावर कम्पनीको सेयर बिक्री गर्न भन्दै सूचना निकालेको हो भनेर स्पष्टिकरण सोधिएको छ,’ बोर्डका एक अधिकारीले भने ‘हामीले यथाशिघ्र स्पष्टिकरण पेश गर्न भनेको छौं, स्पष्टिकरण आएपछि बाँकी काम अघि बढ्ने छ ।’

यो विषयमा बोर्डले गम्भिररुपमा हेरिरहेको र यसले कम्पनीले गर्ने यस्ता खाले कारोबारले निम्त्याउने समस्याका बारेमा पनि उजागर हुने देखिएको छ । त्यसको लागि बोर्ड स्पष्टिकरणको पर्खाइमा रहेको छ । बोर्डले यथाशिघ्र जानकारी गराउनू भनेकोले केही दिनमा नै कम्पनीले जानकारी गराउनेमा आफू आशावादी रहेको उनको तर्क छ ।

बोर्डका अर्का एक अधिकारीका अनुसार कम्पनीका बारेमा विभिन्न समयमा विधिन्न खाले गुनासो आउने गरेको र त्यो गुनासोका विषयमा पनि अहिले नै छानविन गर्ने गरी काम अघि बढिरहेको छ ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीले ०७८ माघ २३ गते एक राष्ट्रिय दैनिक पत्रिकामा अरुण कावेली हाइड्रोपावरमा आफ्नो नाममा रहेको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्नका लागि सूचना निकालेको छ ।

अरुण भ्याली हाइड्रोपावरले निकालेको उक्त सेयर बिक्री गर्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली व्यवस्था विपरीत छ ।

कानूनमा नभएको व्यवस्थालाई उपभोग गर्दै कम्पनीले सेयर बिक्री गर्न खोजेपछि बोर्डले उक्त सेयर बिक्री गर्न रोक्न लागेको छ । त्यसको लागि पहिलो चरणमा कम्पनीलाई स्पष्टिकरण सोधेको बताइएको छ ।

अरुण भ्यालीले प्रकाशन गरेको सूचनामा भनिएको छ ‘यस अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँग रहेको अरुण काबेली लिमिटेडको २२ लाख ३२ हजार ५७० कित्ता शेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जानकारी गराउँदछौं । यो सूचना विद्युत् नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजानिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको हो’ भनिएको छ ।

आयोगको निर्देशिकाअनुसार कम्पनीले सेयर बिक्री गर्नका लागि सूचना प्रकाशित गरेको भएपनि बोर्डको नियमावलीले सेयर बिक्री गर्न मिल्दैन । एकैव्यक्ति दुबै कम्पनीमा हुँदा स्वार्थ बाझिने भन्दै बोर्डको नियमावलीले सेयर बिक्री गर्न रोक लगाएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को ‘१’ (क) अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्षरुपले संलग्न रहने व्यक्ति पदमा रहँदा वा पदबाट अवकाश प्राप्त गरेको मितिले १ बर्षसम्म सेयर बिक्री गर्न पाउँदैन । भन्ने व्यवस्था रहेको छ ।

तर, कम्पनीले कानूनको कुनै हेक्का नराखि सेयर बिक्री गर्न भन्दै सूचना निकालेको छ ।

यस्तै अरुण भ्याली हाइड्रोपावरका कार्यकारी अध्यक्ष रहेका जीवन राज शाक्य र सञ्चालक रहेका रमेशप्रसाद न्यौपाने अरुण कावेली हाइड्रोपावरमा पनि सञ्चालक छन् । जसकारण धितोपत्र बोर्डको नियमावलीअनुसार अरुण भ्यालीले अरुण कावेलीमा रहेको सेयर बिक्री गर्न पाउँदैन ।


क्लिकमान्डु