माधव नेपालको निर्देशनमा ‘स्टण्ट’मन्त्री आलेको नाङ्गोनाच, विवादास्पद अधिकारीलाई क्यानको डीजी



पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणको १२औं तहका उपमहानिर्देशक वा नेपाल सरकारका सहसचिव हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्राधिकरणका ११औँ तहका प्रदीप अधिकारी नियुक्त भएको जानकारी दिएका छन् । जुन स्वभाविक निर्णय नभएको प्राधिकरणका कर्मचारी बनाउँछन् ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का निर्देशक प्रदीप अधिकारी नेकपा एमाले निकट रहेको पेशागत संगठनबाट नेपाल इन्जिनियर्स एसोसियनको महासचिव उम्मेदवार बनेका थिए । निर्वाचन कांग्रेस निकट उम्मेदवारले जित्यो । निर्वाचनको हारले अधिकारीलाई खासै असर परेन ।

अधिकारी नेकपा एमाले निकट रहेको अर्को प्रमाण हो, अधिकारीको एमाले नेता तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र भानुभक्त ढकालसँगको कनेक्सन ।

‘यी दुई मन्त्रीसँग प्रदीप निकै निकट थिए,’ क्यानका एक अधिकारी भन्छन्, ‘हामीले प्रदीपको काम राम्रो भएन भनेर गुनासो गर्दा मन्त्रीहरु न बोल्थे न सुन्थे ।’

हाल, योगेश र भानुभक्त दुबै एमालेमा छन् । सत्ता परिवर्तन भयो । केपी ओली प्रतिपक्षमा पुगे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादीका प्रेमबहादुर आलेसँग पुग्यो ।

तर, प्रदीप अधिकारीको करिअर ग्राफमा केही असर परेन ।

गत माघ १३ गते प्रदीप अधिकारीले नेतृत्व गरिरहेका ५ वटा आयोजनामा करौडौं रुपैयाँ भ्रष्टाचार भएको आरोप लगाउँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ । भ्रष्टाचार नगर्ने र गर्न नदिने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका मन्त्री आलेले अधिकारीविरुद्धको उजुरी छानबिन गर्नुको साटो उनै अधिकारीलाई अस्वभाविकरुपमा प्राधिकरणको महानिर्देशक बनाएको चर्चा छ ।

मन्त्री आलेले मंगलबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकमा प्रदीप अधिकारी प्राधिकरणको महानिर्देशक भएको जानकारी गराए । तर, सोमबारको मन्त्रिपरिषदको बैठकका सहभागी नेकपा समाजबादीकै तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्री र कांग्रेसका तर्फबाट सहभागी थप दुई मन्त्रीले मन्त्रिपरिषदको बैठकमा अधिकारी नियुक्तका विषयमा छलफल नै नभएको क्लिकमाण्डूलाई जानकारी दिए ।

स्रोतका अनुसार मुख्यसचिव शंकरदास वैरागीले अधिकारी ११औं तहको भएको र प्राधिकरणमा १२औं तहका ६ जना कर्मचारी रहेकाले अधिकारीलाई महानिर्देशक बनाउन नहुने अडान लिएका छन् ।

प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले गर्ने निर्णयलाई मुख्यसचिवले रोक्न नसक्ने भएकाले अधिकारी नियुक्त भएका हुन् वा होइनन् अब बिहीबार स्पष्ट होला । तर, स्रोतका अनुसार नेकपा समाजबादीका अध्यक्ष माधवकुमार नेपालले अधिकारीलाई जसरी पनि महानिर्देशक बनाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

आफूलाई विधि र पद्दतिको मसिहा भएको र सोही कारण केपी ओलीसँग अन्तरसंघर्ष भएको भन्दै पार्टी फुटाएका माधवकुमार नेपालले विधि र पद्दतिकै धज्जी उडाएका छन् । यतिसम्म कि प्रदीप अधिकारीका विषयमा मन्त्रालयमा उजुरी परेको र आले आफै पनि विवादमा रहेका बेलामा आफ्ना पार्टीका अन्य मन्त्रीहरुलाई आलेले जस्तै काम गर्न समेत निर्देशन दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ मा ‘प्राधिकरणको कार्य सञ्चालनको निमित्त कार्यकारी प्रमुखको रूपमा नेपाल सरकारले सामान्यतया नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका कुनै कर्मचारीलाई महानिर्देशकको पदमा नियुक्त गर्नेछ,’ भन्ने व्यवस्था छ ।

यो कानूनी व्यवस्थामा आधारमा सरकारले आफूले चाहेको व्यक्तिलाई महानिर्देशक बनाउन पाउँछ ।

ऐन कडा कानून हो, जुन बाध्यकारी हुन । अर्काे हुन्छ, नरम कानून । जसलाई हामी पराम्परा भन्ने गछौं । पराम्परा अभ्यासका आधारमा निर्माण हुने गर्छ । पराम्परा तोड्नु पनि कानून विपरीत हो ।

परम्परमा हेर्ने हो भने विगतमा नेपाल सरकारको सहसचिव वा नागरिक उड्डयन प्राधिकरणका १२औं तहका कर्मचारीलाई प्राधिकरणको महानिर्देशन बनाउने गरिएको थियो । सुशासनको गफ दिँदै आएका मन्त्री आलेले प्राधिकरणको २८ वर्षको परम्परा तोड्दै जुनियर कर्मचारीलाई प्राधिकरणको महानिर्देशक बनाउन लागेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा हाल ६ जना १२औं तहका कर्मचारी छन् । अब १२औं तहका कर्मचारीले ११औं तहका महानिर्देशकको अण्डरमा काम गर्नुपर्ने अवस्था आउन लागेको छ ।

‘आलेले देखाएको स्टण्टबाटै उनी कामभन्दा पनि व्यक्तिगत लाभहानी हेर्ने देखियको थियो,’ प्राधिकरणका एक पूर्वमहानिर्देशक भन्छन्, ‘प्रदीपलाई महानिर्देशक बनाउने प्रयास गरेर आलेले क्यानभित्र राजनीतिक हस्तक्षेपको प्रयास मात्र गरेका छैनन् । क्यानभित्र कर्मचारीको अनुशासन कमजोर बनाउनुका साथै पदका लागि हुने फोहरी खेललाई संस्थागत गरिदिएका छन् ।’

यसअघि गत कात्तिक ८ गते राजकुमार क्षेत्री प्राधिकरणको महानिर्देशक बन्दा पनि अधिकारीको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्राधिकरणमा तीन जना १२औं तहका कर्मचारी हुँदाहुँदै अधिकारीलाई महानिर्देशक बनाउने प्रस्ताव तयार गरेको थिए ।

त्यससमय प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका उपमहानिर्देशक प्रताव तिवारीलाई ४ वर्षे कार्यकालिका लागि महानिर्देशक बनाउनु पर्ने प्रस्ताव गरे । मन्त्री आलेले आफ्नो पार्टीले नेतृत्व गरेको मन्त्रालयमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुका साथै समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले नेतृत्व गरेको मन्त्रालयमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाई दबाब दिए ।

त्यसपछि प्रधानमन्त्री देउवाले कनिष्टलाई कुनै पनि हालतमा महानिर्देशक नबनाउने अडान लिएपछि वरिष्ठतामाको पहिलो नम्बरमा रहेका राजकुमार क्षेत्रीलाई महानिर्देशक बनाइएको थियो ।

गत पुस २८ गते ५८ वर्षे उमेरहदले क्षेत्रीले अवकाश पाएपछि महानिर्देशकको म्यूजिकल चियरको खेल फेरि शुरु भयो । क्षेत्रीले आफ्नो कार्यकाल ४ वर्षको भएको र प्राधिकरणको ऐनमा महानिर्देशकको उमेरहद नतोकिएकाले ४ वर्ष नै काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधिन छ ।

यसपटक अधिकारीलाई महानिर्देशक बनाउन माधव कुमार नेपालले तीव्र दबाब दिएपछि प्रधानमन्त्री देउवा गलेका बुझिएको छ । अब भोलि मुख्यसचिवले जारी गर्ने निर्णयबाट अधिकारी महानिर्देशक बने/नबनेको स्पष्ट होला ।

स्रोतहरु भन्छन्, ‘माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेसँग डोल्पा विमानस्थल बनाउने ठेक्का समेत लिएका नेकपा समाजवादीका सांसद धनबहादुर बुढाले पटकपटक भेटाउँदै अधिकारीको पक्षमा लविङ गरेका थिए । त्यसमा आर्थिक चलखेल पनि भएको हुनसक्छ । नत्र १२ तहका ६ जना कर्मचारी हुँदाहुँदै एकैपटक ११औं तहको कर्मचारी कसरी महानिर्देशक बनेको चर्चा चल्थ्यो ?’

प्राधिकरणका पूर्वउपमहानिर्देशकहरू अधिकारीलाई महानिर्देशक बनाए विधि र पद्दति विपरीत हुने ब्रिफिङ गर्ने उद्देश्यले माधवकुमार नेपालको घरमा भेट्नसमेत गएका थिए । तर, ती पूर्वउपमहानिर्देशकहरूले माधव नेपालसँग भेट गर्न नै पाएनन् ।

‘माधव नेपालको घरमा केही समय कुर्न लगाइयो,’ तीमध्येका एक पूर्वउपमहानिर्देशकले भने, ‘हामीले प्रदीपले गरेका गल्ती र प्रदीप जुनियर भएकाले महानिर्देशक बनाउनु उपयुक्त हुन्न भन्ने सुझाव दिन खोजेको थियौं। तर, हामीलाई माधव नेपाल बिरामी हुनुहुन्छ भनेर भेट्न नै दिइएन ।’

स्रोतहरु भन्छन्, ‘माधवकुमार नेपालले प्रदीप अधिकारीलाई महानिर्देशक बनाउन निकै जोडबल गरेका थिए । त्यसका पछाडि आर्थिक लेनदेन कारण हुनसक्छ ।’

माधव नेपालले आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई पर्यटन मन्त्रालय पठाएर बारम्बार प्रदीप अधिकारीलाई नै क्यानको महानिर्देशक बनाउन मन्त्री आलेलाई दबाब दिन लगाएका थिए ।

गत पुसमा प्राधिकरणको रिक्त रहेको १२औं तह पदमा बढुवा हुन् मन्त्री आलेले प्रदीप अधिकारीलाई अफर गरेको प्राधिकरण सञ्चालक समितिका एक सदस्य बताउँछन् । तर, अधिकारीले मन्त्री आलेको उपमहानिर्देशक बन्ने अफर अस्वीकार गर्दै आफू ११ औं तहबाट सीधै महानिर्देशक बन्ने बताएका थिए ।

माधवकुमार नेपालले जसरी पनि प्राधिकरणको महानिर्देशक बनाउने भन्दै दिएको बचन दिएकाले उपमहानिर्देशक बन्न अधिकारीले इन्कार गरेको प्राधिकरणका उच्च अधिकारी बताउँछन् । हुनपनि अधिकारीले सोचेजस्तै भएको छ । महानिर्देशक बनेको चर्चा चलेको छ ।

११औं तहबाट अधिकारी महानिर्देशक बन्न चाहनुको कारण हो, उपमहानिर्देशक पदमा भएको ६ वर्ष पदावधि । प्रदीप अहिले ४२ वर्षका भएका भए । यदि गत पुसमा उनी उपमहानिर्देशक भएको भए ४८ वर्षमा सेवानिवृत्त हुने थिए । जसकारण अधिकारीले ११औं तहबाटै महानिर्देशक बन्न खोजेका हुन् ।

प्राधिकरण ऐनमा सरकारले महानिर्देशकमा पुनः नियुक्त गर्न पाउने व्यवस्था छ । अधिकारीले प्राधिकरणका कर्मचारीसँग आफूले कम्तीमा १२ वर्ष महानिर्देशक बन्ने दाबी गर्ने गरेको स्रोतको दाबी छ । केही अवपाद बाहेक आजसम्म अधिकारीले भने र सोचे अनुसार भएको छ ।

जस्तो गत साउनमा प्रदीप अधिकारीले प्राधिकरणको महानिर्देशक बन्ने पहिलो प्रयास गरे । उनले त्यसबखत महानिर्देशक रहेका राजन पोखरेललाई राजीनामा गर्न तीव्र दबाब पनि दिए । तर, पोखरेलले राजीनामा दिएनन् । त्यसपछि कात्तिमा दोस्रो प्रयास गरे । अधिकारी तेस्रो प्रयासमा सफल भएको चर्चा छ । अब अधिकारी तीन कार्यकाल महानिर्देशक बन्छन् वा बन्दैन् त्यो त समयले नै देखाउने छ ।

अधिकारी पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ पढेका हुन् । त्यसपछि ७औं तहको इन्जिनियरका रुपमा उनि प्राधिरकरण प्रवेश गरे । ११औं तहमा भने डिपार्टमेन्ट अफ एरोड्रोम सेफ्टी एण्ड स्ट्यान्डर्डमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका हुन् ।

प्राधिकरणमा कैयौं वरिष्ठ इन्जिनियर हुँदाहुँदै तत्कालीन महानिर्देशक रतिशचन्द्रलाल सुमनको कार्यकालमा अधिकारी ७ तहमा हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख बन्ने अवसर पाए । तर, आयोजना निर्धारित समयमा निर्माण सम्पन्न भएको छैन ।

७औं तहमा इन्जिनियरिङ समूहको कर्मचारी भएपनि ११औं तहमा उनको समूह इन्जिनियरिङ नभई डिपार्टमेन्ट अफ एरोड्रोम सेफ्टी एण्ड स्ट्यान्डर्ड हो । तर, उनका लागि प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमले पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा दिँदै राष्ट्रिय गौरव आयोजना नामको नयाँ कार्यालय स्थापना गरे । अधिकारीले आफू बढुवा भएको डिपार्टमेन्ट अफ एरोड्रोम सेफ्टी एण्ड स्टाण्डर्डमा एक दिन पनि काम गरेका छैनन् ।

२०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा प्राधिरकणका आन्तरिक विमानस्थल बनाउने एरोड्रोम इन्जिनियरिङ विभाग प्रमुखको मृत्यु भएपछि तत्कालीन महानिर्देशक गौतमले अधिकारीलाई नै उक्त विभागको जिम्मेवारी दिएका थिए । जबकी प्राधिकरणमा ११औं तहको इन्जिनियरिङ समूहकै कर्मचारी थिए ।

गौतमपछि महानिर्देशक भएका राजन पोखरेलले पनि अधिकारीको रजगज कम गर्न सकेनन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक पूर्वसचिव भन्छन्, ‘त्यतिधेरै कर्मचारी रहेको प्राधिकरणमा अन्य कोही व्यक्तिमा क्षमता नै नभएको जसरी प्रदीपलाई मात्रै जिम्मेवारी दिने गरिएको छ । यो अन्याय हो ।’

सचिव तहको कर्मचारीले पनि केही गर्न नसक्नुबाट अधिकारी प्रभाव कस्तो छ स्पष्ट हुन्छ ।

महानिर्देशक बन्ने अधिकारीको चाहनामा ब्रेक लगाउँदै करिब अढाई महिना महानिर्देशक बनेका राजकुमार क्षेत्रीलाई त अधिकारीले महानिर्देशक नै नमान्ने घोषणा गरेको थिए ।

क्यानका एक पूर्वमहानिर्देशक भन्छन्, ‘प्राय मन्त्रीज्यूहरुसँग प्रदीपको निकट सम्बन्ध हुन्थ्यो । मन्त्रीज्यूहरु हामीलाई पनि राम्रो मान्नु हुन्थ्यो । तर, प्रदीप मन्त्रीहरुको कान्छो भाई जस्तो हुने गर्दथ्यो । जसकारण हामीले चाहेर पनि प्रदीपलाई कुनै पनि जिम्मेवारीबाट हटाउन सक्ने अवस्था हुन्न थियो ।’

बेथेतिका चाङमाथि उभ्भिएको अधिकारीको आगामी कदम कस्तो हुन्छ, त्यो हेर्न बाँकी नै छ । विगतमा बेथितिको सिँढी चढ्दै उक्लिएका कैयौं पात्र ढलेका थिए ।

‘प्राधिकरणमात्र नभई निजामती सेवा वा कुनै पनि सरकारी सेवामा प्रदीप जस्तो कर्मचारी हुन सक्दैन,’ क्यानका एक उच्च अधिकारी भन्छन्, ‘पैसाले जे पनि गर्न सकिन्छ भन्ने मानक प्रदीपको उदयले स्थापित भएको छ । जुन निकै खरतनाक छ ।’


शरद ओझा