
काठमाडौं । लगातार घाटामा गइरहेको नेपाल आयल निगमसँग इन्धन किन्न समेत पैसा अभाव भएको छ ।
पेट्रोलियम पदार्थका मूल्य निरन्तर बढाए पनि हाल प्रत्येक १५ दिनमा २ अर्ब २३ करोड घाटामा निगम गइरहेको सह-प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।
घाटा पूर्ती गर्न मासिक ४.५ अर्बदेखि ५ अर्ब ऋण लिनुपर्ने अवस्थामा निगम पुगेको उनको भनाइ छ ।
निगमले यसअघि बचतमा भएको रकम, सञ्चिती रकम र मूल्य स्थिरिकरण कोषमा भएको रकम समेत प्रयोग गरिसकेको छ । अब मूल्य स्थिरिकरण कोषमा जम्मा ६ अर्ब रुपैयाँ मात्रै बाँकी छ ।
हाल निगमले पेट्रोलमा प्रतिलिटर १३.२३ रुपैयाँ, डिजलमा प्रतिलिटर ११.१३ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर १८.१२ रुपैयाँ घाटा व्यहोरिरहेको छ ।
साथै, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १०.५० रुपैयाँ, अन्तर्राष्ट्रिय हवाईतर्फ प्रतिलिटर ३२.७२ रुपैयाँ घाटामा छ । त्यसैगरी एलपी ग्यासमा प्रतिसिलिन्डर ५७०.०९ रुपैयाँ घाटा निगमले व्यहोरिरहेको छ ।
‘पेट्रोलियम पदार्थको आपुर्ती सहज बनाइराख्न स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि-२०७१ अनुसार सानो अंश मूल्य समायोजन गरेपछि पनि प्रतिमहिना ४.५ अर्ब रुपैयाँदेखि ५ अर्ब ऋण लिनुपर्ने बाध्यात्मक अवस्था छ,’ निगमको भनाइ छ ।
निगमले मंगलबार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । र, पेट्रोलमा कायम भएको मूल्य हालसम्मकै सबैभन्दा बढी हो । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो । निगमले मंगलबार मूल्य बढाएपछि पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया