लगातार ६ वर्ष नाफा कमाएको आयल निगम कसरी पुग्यो संकटमा ?



काठमाडौं । ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगम गत वर्ष ४ अर्ब रुपैयाँभन्दा बढी घाटामा गयो ।

पछिल्लो समय इन्धन खरिदका लागि समेत पैसा नहुने अवस्थामा पुगेको निगम यतिबेला आर्थिक संकटको सन्निकटमा छ ।

आयल निगमले आर्थिक वर्ष २०७१/७२ बाट आव २०७६/७७ सम्ममा निरन्तर नाफा कमाएको थियो । आव २०७६/७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको निगमले गत वर्ष भने ४ अर्ब बढी घाटा व्यहोरेको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले निगमले करिब ६ वर्षदेखि निरन्तर नाफा गर्दै आएकोमा गत वर्ष ४ अर्बजति घाटामा गएको बताए ।

उनकाअनुसार विगतको दिनमा नाफाबाट जम्मा रकम प्रयोग गर्दा सजिलो भएको थियो । तर, अहिले भने उक्त रकमको रित्तिएको उनको भनाइ छ ।

निगमले निरन्तर ६ वर्षमा नाफाबाट संचितीमा राखेको १९ अर्ब रुपैयाँ हाल सकिसकेको छ । त्यस्तै, हालै निगमले निगमसँग तेल किन्न पैसा नभएको स्वीकार गरेको छ ।

निगमले आफ्नो सञ्चिति मुनाफा रित्तिएपछि तेल किन्नका लागि पर्याप्त रकम नभएको जनाएको हो । साथै, अबका दिनमा तेल किन्नका लागि ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।

निगमसँग सञ्चित बचत शून्यका अवस्थामा पुगेकोले इण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थिति देखिएको छन् ।

आयल निगम निकै संकटमा पुग्नुको मुख्य कारण मूल्य समायोजन गर्न नसक्नु बताउँदै आएका छन् ।

‘गत वर्षको ६ महिनासम्म हामी करिब १२ अर्ब नाफामा थियौं । तर, सन् २०२१ को नोभेम्बर, डिसेम्बारबाटै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थाल्यो । उक्त बढेको मूल्य नेपालले मूल्य समायोजन गर्न नसक्दा घाटामा गयो,’ उनले क्लिकमाण्डूसँग भने ।

निगमले मूल्य समायोजन नगरेको होइन । तर, समायोजन गरे पनि ब्रेक इभिन जस्तो भएको उनको भनाइ छ । उनकाअनुसार गत वर्षको ६ महिनामा जम्मा भएको १० अर्ब रुपैयाँ सोही वर्ष सकेको उनले बताए ।

गत आवको ६ महिनामा नाफा कमाएको रकम सकेको अवस्थामा यो वर्षको शुरुवातीदेखि नै धेरै घाटामा गएको बताए ।

‘अन्तर्राष्ट्रिय बजारबाट झनै मूल्य बढ्दै आयो,’ उनले भने, ‘६ महिनामा करिब ११ पटक मूल्य बढेको मूल्य पाएपनि निगमले ३ पटक मात्रै मूल्य समायोजन गर्यौं ।’

मूल्य समायोजन गर्न नसक्दा निकै समस्या निम्तिएको उनको भनाइ छ ।

निगमका अनुसार अहिले मासिक २ अर्ब रुपैयाँले घाटामा गइरहेको बताएका छन् । साथै, ६ महिनाको अवधिमा १९ अर्ब २६ करोड रुपैयाँ घाटामा गइसकेको छ । निगमसँग मूल्य स्थिरीकरण कोषमा १४ अर्बसम्म हुनुपर्नेमा पनि उक्त कोषमा भएको रकम प्रयोग भइसकेको छ ।

साथै, उक्त कोषमा रहेको रकम अन्तिम पटक २ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोषबाट चाहियो भनेर मन्त्रालयमा माग गरेको छ ।

हाल मूल्य स्थिरीकरणमा ८ अर्ब मात्रै बाँकी रहेको छ । त्यसमध्ये २ अर्ब रकम माग भएपछि कोषमा ६ अर्ब बाँकी बस्नेछ । अब फेरि १५ फेब्रअरीमा अन्तर्राष्ट्रिय बजारको मूल्य आउँछ । सो बेला पनि मूल्य समायोजन गर्ने वा नगर्ने विषयमा छलफल हुनेछ ।

आगामी दिनमा पनि मूल्य बढाएर आएमा कोषमा भएको रकम नै चलाउनुपर्ने अवस्था आउने उनको भनाइ छ । कोषको रकम चलाउनु पनि ऋण जस्तै रहेको बताउँदै कोषबाट अनुदान लिइरहेको उनले उल्लेख गरे ।

‘निगमले पछिल्लो २ महिनामा कोषको रकम चलाएका छौं,’ उनले भने, ‘आगामी दिनमा नाफा कमायो भने उक्त कोषमा निगमले जम्मा गर्नुपर्छ ।’

उनकअनुसार कोषबाट निगमले अहिले नै ६ अर्ब ऋण निकालिसकेको छ । त्यसैले, मूल्य स्थिरीकरण कोषको रकम पनि चलाउने र मूल्य समायोजन गर्ने मोडालिटीमा गएको उनले बताए ।

एलपीजीको साटो हवाई इन्धनको मूल्यवृद्धि
पछिल्लो पटक निगमले मूल्य समायोजन गर्दा नाफामा रहेको हवाई इन्धनको मूल्य पनि बढाएको छ ।

विगतको दिनमा निगमले अन्य पेट्रोलियम पदार्थमा मूल्य बढाए पनि हवाई इन्धनको मूल्य भने बढाएको थिएन । तर, अहिले निममले नाफामा रहेको हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर रुपैयाँ बढाएको छ ।

उक्त मूल्य बढाउनुको मुख्य कारण क्रस सब्सिडीको पोलिसी रहेको निगमले जनाएको छ । एलपीजी ग्यास सबैको घरघरमा प्रयोग हुने भएकाले कोभिडका कारण आर्थिक मन्दी खेपिरहेकाले मूल्य नबढाएको उनको भनाइ छ ।

‘कोभिडको समयमा थप व्ययभार थप्दा उपभोक्तालाई उपयोगिता हुँदैन भनेर एलपीजीको सट्टा हवाई इन्धनमा मूल्य बढाइएको हो,’ उनले भने ।

उक्त मूल्य समायोजनले केही मात्रामा भरथेक हुने उनको बुझाइ छ । एलपीजीको घाटाको १५ दिनमै १ अर्ब १५ करोड रहेको छ भने हवाई इन्धनमा १५ दिनमा ७, ८ करोड आउने उनको दाबी छ । तथापी, केही न केही व्यवस्थापन हुने उद्देश्यले सो मूल्य बढाएको उनको बुझाइ छ ।


क्लिकमान्डु