आत्मनिर्भर अर्थतन्त्रः सरकारले नै उत्पादन गर्छ सन्चो सेनिटाइजर, तर किन हुन सकेन व्यापक ?



काठमाडौं । दुई वर्षअघि कोरोना भाइरस संक्रमण फैलिएपछि मास्क र सेनिटाइजको व्यापार संसारभर बढ्यो ।

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालमा मास्क र सेनिटाइजरको माग ह्वात्तै बढ्यो । त्यो बेलासम्म नेपालमा मास्कको उत्पादन केही थियो । तर, सेनिटाइजर उत्पादन नेपालका लागि नौलो उद्योग थियो ।

मेडिकल क्षेत्रमा चाहिने सेनिटाइजर भारतबाटै आयात हुन्थ्यो । कोरोना संक्रण फैलिँदै जाँदा सेनिटाइजरको माग ह्वात्तै बढेको मौकामा नेपालमा पनि सेनिटाइजर उद्योग स्थापना हुन थाले ।

त्यही मेसोमा नेपालमा उत्पादन शुरु भएको सेनिटाइजर हो, सन्चो सेनिटाइजर । २२ वर्षदेखि सन्चो उत्पादन गर्दै आएको सरकारी स्वामित्वको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले २०७६ जेठ महिनादेखि सन्चो सेनिटाइजर उत्पादन शुरु गरेको हो ।

मुलुकमा सेनिटाइजरको माग ह्वात्तै बढेपछि कम्पनीले आफ्नै उत्पादन शुरु गरेको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले बताए ।

‘मुलुकमा सेनिटाइजरको माग बढ्दो थियो । त्यहीबेला हामीले स्वदशमै उत्पादन गर्नुपर्छ भनेर सेनिटाइजर उत्पादन शुरु गरेका थियौं,’ कार्कीले भने, ‘सन्चोजस्तै यसको गुणस्तर र धेरैले मन पराएका छन् ।’

सन्चो सेनिटाइजर अहिले मुख्यगरी सरकारी मन्त्रालय र निकायहरुमा प्रयोग भइरहेको छ ।

अर्थमन्त्रालय, योजना आयोग, लोकसेवा आयोग, नगरपालिकाहरुमा यही सेनिटाइजर प्रयोग गरिरहेका छन् ।

सरकारी तहमा प्रयोग भइरहेको भए पनि खुला बजारमा भने खासै जानसकेको छैन । अहिले भाटभटेनी र बजारका केही ठाउँमा भने गइरहेको कार्कीले बताए ।

सन्चो सेनिटाइजर १०० एमएल, २०० एमएल, ५०० एमएल, ५ लिटरमा स्यानिटाइजर उत्पादन भइरहेको छ । पकेटमा राख्नको लागि ३० एमएलको स्प्रे पनि छ । अहिलेसम्म झन्डै २ ट्यांकर अल्कोहल सेनिटाइजर उत्पादन गर्न प्रयोग भइसकेको छ ।

डब्लुएचटिओको मापदण्डअनुसार गुणस्तरीय उत्पादन भइरहेकाले बजारमा यसको माग र प्रयोग राम्रो हुने कार्कीको विश्वास छ ।

भारत र कतिपय स्वदेशमै उत्पादन भएका सेनिटाइजर गुणस्तरहीन छन् । सेनिटाइजर आफैमा संवेदनशील वस्तु पनि हो । गुणस्तरहीन भएमा यसले कोरोना संक्रमण रोक्न सक्दैन ।

यस्तो अवस्थामा सन्चो सेनिटाइजर मुलुकको लागि राम्रो उत्पादन हुने कार्की बताउँछन् । अहिले जसरी सन्चोलाई विश्वास गरेर प्रयोग भइरहेको छ, त्यसैगरी यसलाई पनि आम उपभोक्ताले विश्वास गरेको उनको भनाइ छ ।

सरकारी स्वामित्वको कम्पनीले भएकाले सन्चो सेनिटाइजर पूर्णरुपमा विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर गुणस्तरी उत्पादन भइरहेको कार्कीले बताए । बजारमा पाइनभन्दा सस्तो र गुणस्तरीय भएकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनी बताउँछन् ।

मुलुकमा विदेशमा ठूलोमात्रामा सेनिटाइजर आयात भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ७ करोड ५४ लाख ७६ हजार रुपैयाँ बराबरको सेनिटाइजर आयात भएको छ ।

त्यस्तै गत वर्ष ६५ करोड १३ लाख ४९ हजार रुपैयाँ बराबरको सेनिटाइजर आयात भएको थियो । उक्त वर्ष नेपालमा विश्वका १४ देशबाट २० लाख ९६ हजार केजीभन्दा धेरै सेनिटाइजर आयात भएको थियो ।

सबैभन्दा धेरै भारतबाट ४९ करोड १४ लाख ८२ हजार रुपैयाँ बराबरको आयात भएको थियो । त्यसपछि चीनबाट १२ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

नेपालमा पनि निजी क्षेत्रबाट दर्जनौं सेनिटाइजर उद्योग स्थापना भइसकेका छन् । औषधि उद्योगबाहेक साबुन उद्योग चलाइरहेका कम्पनी वा मापदण्ड पूरा गरेका अन्य कम्पनीले पनि सेनिटाइजर उत्पादन गर्ने भएपछि यसमा गुणस्तरी हुन नसकेको गुनासो आइरहेको छ ।

औषधि उत्पादक व्यवसायीहरुले नेपालमा गुणस्तरीय सेनिटाइजर उत्पादन हुन नसकेको बताउँदै आएका छन् । औषधि व्यवस्था विभागको स्वीकृति लिएरमात्र सेनिटाइजरको उत्पादन गर्न पाइन्छ । विभागले नै यी उद्योगको नियमन गर्दै आएको छ ।


पुष्प दुलाल