माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४% लाभांश दिने, लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक



काठमाडौं । बैंकहरुमा सबैभन्दा पहिला माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

गतवर्षका नाफाबाट १४ प्रतिशत लाभांश दिने निर्णय गरेको बैंकका एक सञ्चालकले जानकारी दिए ।

बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ बैंकले नाफा गरेको हो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रहेको छ ।

राष्ट्र बैंकले लाभांश स्वीकृति दिएपछि साधारणसभाले पारित गरेमा बैंकको चुक्ता पूँजी १० अर्ब ७६ करोड हुन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाखभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०३ वटा एटीएमहरु संचालनमा छन् ।


क्लिकमान्डु