यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्दै



काठमाडौं । यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्ने भएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण पेश गरेका ३ वटा बैंकलाई राष्ट्र बैंकले प्रिलिमनरी (प्रारम्भिक) स्वीकृत दिएको छ ।

केन्द्रीय बैंकमा ८ वटा वाणिज्य बैंकले गत आवको वित्तीय विवरण लेखा परीक्षण गराइ भदौ तेस्रो साता नै राष्ट्र बैंकमा स्वीकृतिका लागि पुगेको थिए । जसमध्ये असोज ५ गतेसम्म ३ वटालाई प्रारम्भिक स्वीकृति दिइएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागले बैंकहरुद्वारा पेश गरिएका वित्तीय विवरणलाई स्वीकृत गरेपछि मात्र सम्बन्धित बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा तय गर्न पाउँछन् । वार्षिक साधारण सभाको मिति तय गर्दा आर्जित नाफाबाट सेयर लगानीकर्तालाई दिइने लाभांश समेत घोषणा सञ्चालक समितिले गर्छ ।

गत वर्षको वित्तीय विवरणको स्वीकृतिका लागि हालसम्म राष्ट्र बैंकमा सिटिजन्स बैंक, नेपाल इन्भेष्मेण्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र नेपाल पूर्वाधार विकास बैंक पुगेको सम्बन्धित बैंकले जानकारी दिएका छन् ।

पुर्वाधार विकास बैंकले भने गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरी सकेको छ भने अन्य ३ वटा वाणिज्य बैंकहरुले समेत आज/भोलि नै लाभांश घोषणा गर्दैछन् ।

बैंकहरुले एक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्न राष्ट्र बैंकले भनेको छ । जसकारणले गर्दा बैंकहरुले पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गराइसक्नु पर्ने हुन्छ । तर, गत वर्ष भने कोरोनाका कारण केही बैंकहरुले पुस मसान्तपछि मात्रै वार्षिक साधारण सभा गरी लगानीकर्तालाई लाभांश वितरण गरेका थिए ।

वित्तीय विवरण पेश गरेका सबै बैंकहरुको दशैअघि नै प्रारम्भिक स्वीकृत पाउने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकबाट प्रिलिमनरी स्वीकृतको आधारमै बैंकहरुले लाभांश घोषणा गर्ने हुँदा घोषित लाभांश स्वीकृतको प्रकृया भने चाँडै हुने स्रोतको भनाइ छ ।


क्लिकमान्डु