आधा दर्जन बढी वाणिज्य बैंकले थाले लाभांश वितरणको प्रक्रिया, कुन बैंकको क्षमता कति ?



काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरुले सेयर लगानीकर्तालाई लाभांश वितरणको प्रक्रिया शुरु गरेका छन् ।

गत आर्थिक वर्षको वित्तीय विवरणको लेखा परीक्षण गराइ राष्ट्र बैंकमा ८ वटा वणिज्य बैंकहरुले स्वीकृतिका लागि पुगेका हुन् ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागले बैंकहरुद्वारा पेश गरिएका वित्तीय विवरणलाई स्वीकृत गरेपछि मात्र सम्बन्धित बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा तय गर्न पाउँछन् । वार्षिक साधारण सभाको मिति तय गर्दा आर्जित नाफाबाट सेयर लगानीकर्तालाई दिइने लाभांश समेत घोषणा सञ्चालक समितिले गर्छ ।

गत वर्षको वित्तीय विवरणको स्वीकृतिका लागि हालसम्म राष्ट्र बैंकमा सिटिजन्स बैंक, नेपाल इन्भेष्मेण्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र नेपाल पूर्वाधार विकास बैंक पुगेको सम्बन्धित बैंकले जानकारी दिएका छन् । यी बैंकहरुले गत आवको नाफाबाट ७ प्रतिशतदेखि साढे २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंकहरुले एक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्न राष्ट्र बैंकले भनेको छ । जसकारणले गर्दा बैंकहरुले पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गराइसक्नु पर्ने हुन्छ । तर, गत वर्ष भने कोरोनाका कारण केही बैंकहरुले पुस मसान्तपछि मात्रै वार्षिक साधारण सभा गरी लगानीकर्तालाई लाभांश वितरण गरेका थिए ।

हाल वित्तीय विवरण राष्ट्र बैंकमा पेश गरेका वाणिज्य बैंकहरुले भने कात्तिकभित्रै वार्षिक साधारण सभा सम्पन्न गरी लगानीकर्तालाई लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

वित्तीय विवरण पेश गरेका बैंकहरुको दशैअघि नै प्रारम्भिक स्वीकृत पाउने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

‘अहिले आएका बैंकहरुको रिपोर्ट भने दशैं अघि नै सकेर फिर्ता पठाउने गरी सम्बन्धित सुपरिवेक्षण विभागले हेरी रहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ‘प्रारम्म्भिक रुपमा पनि वित्तीय विवरणलाई विस्तृत रुपमा हेर्नु पर्छ, दशैं र तिहारपछि अहिले स्वीकृत पाएका बैंकहरुले साधारण सभा गर्न सक्छन् ।’

राष्ट्र बैंकबाट प्रिलिमनरी स्वीकृतको आधारमै बैंकहरुले लाभांश घोषणा गर्ने हुँदा घोषित लाभांश स्वीकृतको प्रकृया भने चाँडै हुने स्रोतको भनाइ छ ।

राष्ट्र बैंकमा गत आवको वित्तीय विवरण पेश गरी स्वीकृतको पर्खाइमा रहेका बैंकहरुमा हिमालयन बैंकले नाफाबाट २०.३१ प्रतिशत लाभांश लगानीकर्तालाई दिन सक्ने देखिन्छ । उक्त बैंकको १० अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी कायम छ भने गत आवमा बैंकले २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो । जसको २०.३१ प्रतिशत लाभांश वितरणको क्षमता बैंकले राख्छ ।

यसैगरी, सानिमा बैंकले गत आवमा १ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । बैंकको हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १७.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सिटिजन्स बैंकले गत आवमा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १३.५४ प्रतिशत लाभांश वितरणको क्षमता छ ।

यस्तै, माछापुच्छ्रे बैंकले गत आवमा १ अर्ब १३ करोड २७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ हुँदा गत आवको नाफाबाट बैंकले १२.५१ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बैंकले राख्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो । बैंकको हाल कायम चुक्तापुँजी १६ अर्ब २५ करोड रुपैयाँ हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १२.२६ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सिद्धार्थ बैंकले गत आवमा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । हाल बैंकको कायम चुक्तापुँजी १० अर्ब ९६ करोड रुपैयाँ हुँदा गत आवको नाफाबाट बैंक ११.११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।

कुमारी बैंकले गत आवमा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ हुँदा बैंकले गत आवको नाफबाट लगानीकर्तालाई ७.८८ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

यी बैंकहरुको वित्तीय विवरणलाई राष्ट्र बैंकले स्वीकृत गरेपनि सञ्चालक समितिले घोषणा गरेको लाभांशलाई पुनः मूल्यांकन गरी राष्ट्र बैकले स्वीकृत गर्छ ।


क्लिकमान्डु