भक्तबहादुर पुनको प्रतिवेदन धागो उद्योगलाई २४ घण्टा विजुली, उद्योगी भन्छन्: प्रतिवेदन गलत



काठमाडौं । विभिन्न उद्योग प्रतिष्ठानहरुले डेडिकेटेड र ट्रंकलाइन फिडरमार्फत् विद्युत् प्रयोग गरेको भएपनि त्यसको महशुल नतिर्दा उब्जेको विवाद पछिल्लो तीन वर्षदेखि सल्टिन सकेको छैन । उद्योगी व्यवसायीहरुले आफूले डेडिकेटेड र ट्रंकलाइनबाट अतिरिक्त विद्युत् खपत नगरेको जिकिर गर्दै आएका छन् । उनीहरुले प्रयोग नै नगरेको विद्युतको महशुल तिर्न नसकिने बताउँदै आएका छन् ।

तर क्लिकमाण्डूलाई प्राप्त विवरणअनुसार २०७२ असारदेखि २०७५ भदौसम्म सर्वसाधारण ग्राहक दैनिक १५ घण्टासम्म लोडसेडिङको अध्याँरोमा बस्दा ती उद्योगहरुले भने २४सै घण्टा विद्युत् सुविधा लिइरहेको देखिएको छ ।

नेपाल धागो उत्पादक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै डेडिकेटेड र ट्रंकलाइन फिडरको सुविधा लिएका उद्योग तथा प्रतिष्ठानबाट विद्युत् प्राधिकरणले कुनै आधार र प्रमाणबिनै महशुल असुल्न खोजेको आरोप लगाएको थियो । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा अव्यवहारिक र असान्दर्भिक निर्णय गरेको भन्दै संघले लोडसेडिङको समयमा उद्योगहरुले अतिरिक्त विद्युत् खपत गरेको विवरण देखाउन चुनौतीसमेत दिएको थियो ।

धागो उद्योग संघले लोडसेडिङको समयमा उद्योगहरुले अतिरिक्त विद्युत् खपत नगरेको र यदि गरेको भए त्यसको विवरण प्राधिकरणले देखाउनुपर्ने बताएपछि क्लिकमाण्डूले धागो उद्योगहरुले प्रयोग गरेको टीओडी मिटरको प्राविधिक विश्लेषणसहितको विवरण सार्वजनिक गर्न लागेको हो ।

धागो उत्पादक संघमा रिलायन्स स्पिनिङ मिल्स प्रालि, त्रिवेणी स्पिनिङ मिल्स प्रालि, जगदम्बा स्पिनिङ मिल्स प्रालि र जय स्पिनिङ मिल्स प्रालि आबद्ध छन् । यी उद्योगमध्ये रिलायन्सले १ अर्ब ५० करोड, त्रिवेणीले ६९ करोड ७० लाख र जगदम्बा स्पिनिङले ३८ करोड १७ लाख रुपैयाँ बराबरको विद्युत् महशुल बक्यौता तिर्न बाँकी रहेको छ ।

यी उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइन फिडरको सुविधा लिएर पनि त्यसको महशुल तिरेका थिएनन् । समाचारको यो श्रृङ्खलामा हामी त्रिवेणी स्पिनिङ मिलले लिएको विद्युत् सुविधा र आगामी श्रृङ्खलामा अरु उद्योगहरुले प्रयोग गरेको विद्युत् सुविधा र त्यसको महशुल बक्यौताबारे खुलाउने छौं ।

त्रिवेणी स्पिनिङ मिल्सले २४ सै घण्टा विद्युत् प्रयोग गरेको प्रमाण
धागो उत्पादन संघले डेडिकेटेड र ट्रंकलाइन फिडरबाट विद्युत् लिएको र उद्योगहरुले लोडसेडिङको तालिका पालना नगरेको विषयमा मंगलबारको पत्रकार सम्मेलनबाट प्रमाण मागेको छ । संघको सदस्यसमेत रहेको त्रिवेणी स्पिनिङ मिल्सबाट बक्यौता रहेको देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणको ग्राहक नम्बर ०१५.११.५७४ रहेको त्रिवेणी स्पेनिङ मिल्सले ००२२५० नम्बरको टीओडी मिटर प्रयोग गर्दै आएको छ । यो उद्योगले २०६० असार ५ गतेदेखि ५ हजार केभीए लोड ६६ केभीबाट आपूर्ति लिइरहेको थियो । पछि २०६१ साउन १६ मा १ हजार ५०० केभीए लोड थप गरी जम्मा ६ हजार ५०० केभीए विद्युत् लोडका लागि प्राधिकरणबाट स्वीकृती लिएको देखिन्छ ।

हेटौडा ग्रीडको परवानीपुर सर्किट २ बाट विद्युत् आपूर्ति लिइरहेको त्रिवेणी स्पिनिङ मिल्सले लोडसेडिङको समयमा पनि आफ्नो उद्योगमा २४सै घण्टा विद्युत् सुविधा लिइरहेको थियो । उक्त उद्योगको टीओडी मिटर विश्लेषण सम्बन्धी नेपाल विद्युत् प्राधिकरणको विवरण हेर्दा उसले कुनैबेलापनि लोडसेडिङ तालिका पालना गरेको देखिँदैन ।

प्राधिकरणको विवरणअनुसार टीओडी मिटर विश्लेषणका लागि लिएका सबै नमूना तथ्यांकमा २४सै घण्टा विद्युत् प्रयोग गरिरहेको देखिन्छ । त्रिवेणी स्पिनिङको २०७२ मंसिर १४ देखि मंसिर २३ गतेसम्मको डाटा डाउनलोड गरी हेर्दा त्यो बेला सर्वसाधारणले १२ घण्टासम्म लोडसेडिङ भोगिरहेकोमा उक्त उद्योग भने लोडसेडिङ तालिकामा नबसी २४सै घण्टा विद्युत् प्रयोग गरिरहेको देखिएको प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुन संयोजकत्वको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, २०७२ मंसिर २८ र २९ गतेको डाटा डाउनलोड गरी हेर्दा त्यो बेला पनि उद्योग २४सै घण्टा सञ्चालन भइरहेको र विद्युत् प्रयोग गरिरहेको देखिन्छ ।

२०७२ फागुन ११ गतेदेखि १७ गतेसम्मको तथ्यांक हेर्दा त्योबेला सर्वसाधारण ग्राहकले दैनिक १५ घण्टा लोडसेडिङ भोग्दा त्रिवेणी स्पिनिङ मिल्सले २४सै घण्टा विद्युत् प्रयोग गरिरहेको थियो ।

पुनको अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार २०७२ फागुन २४ गतेदेखि चैत २ गतेसम्मको डाटा डाउनलोड गरी रिपोर्ट हेर्दा सर्वसाधारण ग्राहकले बेलुका ५ बजेदेखि ८ बजेसम्म लोडसेडिङ भोगिरहेका थिए । तर त्रिवेणी स्पिनिङ मिल्सले उक्त समयमा पनि निरन्तर ९ घण्टासम्म विद्युत् लोड लिएको देखिन्छ ।

त्यस्तै, २०७३ साउन १८ गतेदेखि २३ गतेसम्मको तथ्यांक विश्लेषण रिपोर्टअनुसार दैनिक १२ घण्टा लोडसेडिङ रहेकोमा त्रिवेणी स्पिनिङ मिल्सले लोडसेडिङको समयमा पनि ८ घण्टासम्म अतिरिक्त विद्युत् लोड लिएको पुनको प्रतिवेदनमा उल्लेख छ ।

२०७३ मंसिर १० गतेदेखि फागुन २८ गतेसम्मको करिब साढे २ महिनाको अवधिमा त्रिवेणी स्पिनिङ मिल्सले बेलुका साढे ४ बजेदेखि साढे ८ बजेसम्म न्यून लोड (२० केभीए) लिएको देखिन्छ । त्योबेला पनि दैनिक ६ घण्टा लोडसेडिङ भइरहेको थियो ।

yarn-Mills

धागो उद्योग संघको पत्रकार सम्मेलनमा भएको दाबी प्रतिवेदनसँग मेल खाएन
डेडिकेटेड र ट्रंकलाइन फिडर महशुल बिबादबारे धागो उत्पादन संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै डेडिकेटेड र ट्रंकलाइन फिडरको बक्यौता महशुल तिर्नका लागि प्राधिकरणसँग कुनै आधार र प्रमाण नरहेको दाबी गरिएको थियो । तर प्राधिकरणकै विवरणले भने संघको दाबी नमिलेको देखाएको छ ।

‘प्राधिकरणबाट सूचित लोडसेडिङ अवधिमा उद्योगी व्यवसायीले विद्युत् प्रयोग वा उपभोग गरेको तथ्य प्राधिकरणले पुष्टि गरी दिएको खण्डमा जे–जति अवधिमा त्यस्तो अनधिकृत विद्युत् प्रयोग भएको तथ्य प्रमाणले पुष्टि हुन्छ सो अवधिवापतको थप रकम महशुल तिर्न उद्योगी व्यवसायी तयार छन्,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।

अब प्रश्न रहन्छ, सर्वसाधारण ग्राहक १५ घण्टासम्म लोडसेडिङमा बस्दा उद्योगहरुले २४सै घण्टा विद्युत् प्रयोग गरिरहेका थिए । त्यसको प्रमाण प्राधिकरण सञ्चालक समिति सदस्य भक्तबहादुर पुन संयोजकत्वको अध्ययन प्रतिवेदनबाट खुलिसकेको छ ।

यता व्यवसायीहरु भने भक्तबहादुर पुनको प्रतिवेदन नै मान्न तयार छैनन् । संघका अध्यक्ष पवन गोल्यानले लोडसेडिङको समयमा दैनिक निरन्तर २४ घण्टा विद्युत् माग गरिएको, उक्त माग सञ्चालक समितिबाट स्वीकृत भएको र सोअनुसार उद्योग र प्राधिकरणबीच सम्झौता भएपनि उपलब्ध नभएको दाबी गर्छन् ।

‘लोडसेडिङ्गको अवधिमा दैनिक निरन्तर २४ घण्टा विद्युत् प्रदान गरिएको तथ्य प्राधिकरणले प्रमाणित र स्थापित गरिदिए सम्बन्धित उद्योगले विवादित रकमको भुक्तानी तत्काल गर्न तयार रहेको भएपनि प्राधिकरणले सो तथ्य स्थापित गर्न सकेको छैन,’ गोल्यानले पत्रकार सम्मेलनमा भनेका थिए ।

धागो उत्पादक संघका उपाध्यक्ष विष्णु न्यौपाने चोर र पुलिस एउटै बनाएको हुँदा समस्या समाधान नभएको भन्दै टीओडी मिटरलाई मान्ने बताउँछन् । तर, पुनको संयोजकत्वमा गठन भएको समितिले बुझाएको प्रतिवेदनमा भने त्रिवेणी स्पेनिङ मिल्सले भने २४ घण्टा नै विजुली पाएको देखिन्छ ।

‘यो विवाद समाधानका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्छ, प्रयोग गर्ने उद्योगीले विजुलीको बक्यौता रकम तिर्नुपर्यो, नगर्नेले भएन,’ न्यौपानले भने ।

आगामी दिनको श्रृंखलामा अन्य उद्योगको दाबी र प्रतिवेदनमा देखिएको विषय सार्वजनिक हुनेछन् ।