
काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा १० करोड डलर वृद्धि भएको छ।
चर्चित म्यागजिन फोर्ब्सका अनुसार सन् २०२६ मा चौधरी ग्रुप ९सीजी०का मालिक चौधरीको सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर पुगेको हो।
गत वर्ष उनीसँग २ अर्ब डलरको सम्पत्ति थियो। सन् २०२१ देखि उनको सम्पत्तिमा लगातार वृद्धि भएको देखिएको छ। उनी सन् २०१७ मा अर्बपति क्लबमा प्रवेश गरेका थिए।
२०१७ मा उनको सम्पत्ति १ अर्ब ३० करोड डलर थियो। त्यसपछि २०१८ मा डेढ अर्ब डलरका मालिक बनेका उनको सम्पत्ति सन् २०१९ मा १ अर्ब ७० करोड डलर पुगेको थियो।
त्यसपछि कोरोनाले विश्व अर्थतन्त्र र व्यवसायमा प्रभाव पार्दा सन् २०२० र २१ मा उनको सम्पत्ति पनि १ अर्ब ४० करोड डलरमा झरेको थियो।
सन् २०२२ मा पुनः बढेर डेढ अर्ब डलर पुग्दा २०२३ मा १ अर्ब ८० करोड डलर पुगेको थियो। २०२४ मा पनि सोही परिमाणमा रहेको उनको सम्पत्तिमा २०२५ मा २० करोड बढेर २ अर्ब डलर पुगेको थियो।
पहिलोपटक २ अर्ब डलरका मालिक भए विनोद चौधरी, २० करोडले बढ्यो सम्पत्ति विश्व अर्बपति वरीयतामा उनी १९८२औँ स्थानमा छन्।
७० वर्ष उमेर पुगेका चौधरीको आयस्रोत विविध छ। काठमाडौंमा बस्दै आएका उनका तीन छोरा छन्। चौधरी सीजी कर्प ग्लोबलका प्रमुख हुन्। उनको धेरै सम्पत्ति नेपालको नबिल बैंक र वाइवाइ उत्पादक सीजी फुड्सबाट आउने गर्छ।
चौधरी ग्रुपले वाइवाइ चाउचाउ भारत, सर्विया र बंगलादेशबाट उत्पादन गर्दै आएको छ। इजिप्टमा यसको कारखाना खुलिरहेको छ। ग्रुपले चाउचाउबाहेक विविध ससेज उत्पादन गर्ने योजना पनि छ।
यसबाहेक सीजीका होटल सम्पत्ति पनि छ। जसमा १४३ आफ्नै स्वामित्व र व्यवस्थापनका रहेका छन्। यसले भारतको ताज होटल चेनसँग मिलेर विलासी होटल सञ्चालन समेत गरिरहेको छ।
चौधरीका छोराहरु निर्वाणले नेपालमा र वरुण तथा राहुलले विदेशमा यसका व्यवसाय हेर्दै आएका छन्। निर्वाण र राहुल चौधरी ग्रुपका प्रबन्धनिर्देशक रहेका छन्।
फोर्ब्सले दैनिक रुपमा सम्पत्ति मूल्य बढेको र घटेको आधारमा विश्वका अर्बपतिहरुको वरीयता निर्धारण गर्ने गर्छ।







प्रतिक्रिया