आयल निगमले शुरू गर्‍यो इआरपी प्रणाली, व्यवसायीले अनलाइनबाटै रकम भुक्तानी गर्न सक्ने



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) प्रणाली शुरू गरेको छ । करिब एक वर्षको तयारीपछि निगमले आइतबारबाट सो प्रणाली शुरू गरेको हो ।

निगमले आइतबारबाट देशभर रहेको डिपो विराटनगर, अमलेखगन्ज, काठमाडौंको थानकोट, नेपालगन्ज, भैरहवा, धनगढी, सुर्खेतलगायतका डिपोबाट इआरपी प्रणाली शुरु गरी तेल पठाइसकेको छ ।

विश्वका ८० प्रतिशत तेल कम्पनीले प्रयोग गर्दै आएको सफल सफ्टवेयर नेपालमा पनि शुरु भएको छ । सो इरापी प्रणालीबाट आयल निगमका लेखा, प्रशासन, वितरण, सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा जोड्ने भएको छ । साथै, उक्त प्रणालीबाट कारोबारको सम्पूर्ण विवरण र चुहावट नियन्त्रण हुने निगमको विश्वास छ ।

निगमले धेरै ठूलो परिमाणमा कारोबार गर्दै आएको छ । पेट्रोलियम पदार्थको कारोबार हरेक वर्ष १० प्रतिशतको दरले बढीरहेको छ । जसमा वार्षिक २ खर्ब रकम बराबरको आयात भएको अवस्था रहेको छ ।

हालसम्म उक्त रकम बराबर पेट्रोलियम पदार्थको साना सफ्टवेयरको माध्यमबाट कारोबार गर्दै आएको थियो । तर, पछिल्लो समय निगमले पनि डिजिटलमार्फत् कारोबार गर्ने निर्णय गरेर एकीकृत सूचना प्रणालीमा जोड्ने भएको निगमका प्रवक्ता विनिमणी उपाध्याय बताउँछन् ।

उक्त प्रणालीमार्फत् केन्द्र कार्यालयमा बसेर सम्पूर्ण प्रशासनिक कार्य, कारोबारको अवस्था, ढुवानीको अवस्थालगायत अन्य गतिविधि सो माध्यबाट देख्न सक्नेछन् । साथै, उक्त माध्यमबाट आयातदेखि सबै समग्रमा काम गर्दै आएको प्रक्रियालाई डिजिटल सिस्टममा प्रवेश गरेको उनले बताए ।

अनलाइनमार्फत् कारोबार हुने

निगमले सञ्चालनमा ल्याएको इआरपी प्रणालीको धेरै फाइदा रहेको छ । उक्त प्रणाली सञ्चालनमा आएसँगै भौतिक रुपमा उपस्थित भई कारोबार हुने कार्यहरू सम्पूर्ण अनलाइनमार्फत् हुने भएको छ ।

त्यस्तै, विगतको दिनमा इन्धन खरिद गर्दा बैंकमै गएर रकमको भौचर लिएर मात्रै निगममा बुझाउँदा तेल खरिदको स्वीकृति पाउँथ्यो । तर, अबका दिनमा इआरपी प्रणाली लागू भएसँगै बैंकमा जानु पर्ने बाध्यता हट्नेछ । साथै, घरमै बसीबसी मोबाइल बैंकिङ्बाट अर्थात अनलाइनबाटै तेल खरिदको रकमभुक्तानी गर्न सक्नेछन् ।

‘कुनै पनि व्यवसायीले तेल खरिदको लागि आयल निगमको खातामा पैसा ट्रान्सफर गर्न सक्नेछन्,’ उनले भने, ‘यसले गर्दा डिपोमा जानुपर्ने आवश्यक रहेन ।’ यस्तै, पेट्रोल पम्प व्यवसायीहरूले अनलाइनमार्फत् भुक्तानी गरी सहज तरिकाले तेल खरिद गर्न सक्ने उनको भनाइ छ ।

अबका दिनमा तेलको माग पनि अनलाइनबाटै हुने भएको छ । ‘कुनै पनि व्यवसायीले सफ्टवेयरमार्फत् माग गर्न सक्नेछन् । उक्त माग गरेको तेलको हिसाबकिताबमा डिपोले राख्नेछन् । यसले गर्दा डिपोमै गएर यति तेल चाहियो भनेर माग गरिराख्नु पर्दैन,’ उनले भने ।

त्यसैगरी ढुवानी व्यवसायीको पनि ओसारपसार गरेको भुक्तानी भाडा अनलाइनबाटै भुक्तानी पाउने भएको छ । पहिलो प्रशासनिक कार्यहरू म्यानुअल्ली गर्दै आएकोमा अहिले डिजिटल सिस्सटममा जाने भएको छ । साथै, चेक काटेर कारोबार गर्ने सिस्टमलाई हटाएर विस्तारै अनलाइनमार्फत् जाने उनको भनाइ छ ।

निगममा प्रवक्ता उपाध्यायका अनुसार अनलाइनबाट भुक्तानी मात्रै नभएर डिपोबाट निस्केको कुन ट्यांकर कति तेल लिएर जाँदैछ भन्ने पनि थाहा हुने दावी गरे । त्यस्तै बाटोमा समस्या आए पनि तत्काल थाहा हुने उनको विश्वास छ ।

‘विगत लामो समयदेखि तेल ढुवानी गर्नेहरू बीचबाटो मै रोकेर बाह्य मानिसलाई विक्री गर्ने प्रवृत्ति थियो । अब इरापी प्रणालीले सबै गतिविधि थाहा पाउने भएकाले सहज हुनेछ,’ उनले भने ।

त्यसैगरी निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई अनलाइनबाटै रकम भुक्तानी गर्न सक्ने जनाएको छ । जसमा आइओसीबाट लोडिङ भएको तेल निगमको डिपोमा प्रवेश गरेसम्मको सबै गतिविधि थाहा हुन्छ । साथै, आइओसीको सेक्युरिटी सिस्टमसँग जोडिने भएकाले चुहावट नियन्त्रण हुने उनको दाबी छ ।


क्लिकमान्डु