मार्सी चामलको व्यापार उत्साहजनक, ५ सय मेट्रिक टन धान खरिद गर्दै खाद्य संस्थान



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शुरु गरेको मार्सी चामलको बिक्री उत्साहजन देखिएको छ । कम्पनीले यही माघ १५ गतेदेखि जुम्लाको मार्सी चामल खरिद गरी ‘नेपाल फुड’ ब्रान्डको नाममा प्याकिङ गरेर बिक्री शुरु गरेको थियो ।

उपत्यकाका थापाथली, नख्खु, भक्तपुर र रामशाह आउटलेटबाट मार्सी चामल बिक्री गर्न शुरु गरिएको छ । पहिलो चरणमा सुर्खेतबाट २ सय ७० क्विन्टल चामल खरिद गरी बजारमा बिक्री गरिएको कम्पनीको सुचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार कम्पनीले पहिलो चरणमा ट्रायलको रुपमा बिक्री गर्न लागिएको मार्सी चामलको माग र व्यापार उत्साहजनक रहेको बताइन् । बिक्री शुरु गरेकोमा ८ दिनको अवधिमा ९ सय ५१ केजी चामल बिक्री गरिसकेको उनले बताइन् ।

‘कम्पनीले मार्सी चामलले कस्तो बजार लिन सक्ला भन्ने नमुनाका लागि २ सय ७० क्विन्टल चामल ल्याएको थियो,’ उनले भनिन्, ‘तर, शुरुको दिनदेखि नै मार्सी चामलको माग राम्रो आएको छ ।’

हाल मार्सी चामलको त्यतिधेरै बजारीकरण नभए पनि दैनिकजसो चामल बिक्री बढिरहेको उनले बताइन् । कम्पनीले चामलको प्रतिकेजी मूल्य २ सय २५ रुपैयाँमा बिक्री गरिरहेको उनले बताइन् ।

दैनिक सय केजी बढी बिक्री

बजारमा बिक्री शुरु गरेको मार्सी चामल दैनिक एक सय केजीभन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीले गत बिहिबारसम्ममा ७ सय ९५ केजी मार्सी चामल बिक्री गरेको थियो । साथै, बन्द हडतालकै दिनमा पनि ७४ केजी चामल बिक्री गरेको उनले बताइन् ।

दुर्गा प्रसाईँले ओली र प्रचण्डलाई ख्वाएपछि मार्सी चामलको माग बढ्यो

त्यस्तै, कम्पनीले शुक्रबार मात्रै १ सय ५६ केजी मार्सी चामल बिक्री गरेको छ ।

‘हालसम्म कम्पनीले ८ दिनको अवधिमा ९ सय ५१ केजी चामल बिक्री गरिसकेको छ । बजारमा ८ दिनमा उक्त चामल बिक्री हुन भनेको ठूलो उपलब्धि हो । साथै, माग र व्यापार उत्साहजनक रहेकाले धान ल्याउन प्रक्रिया शुरु गरेको छ,’ उनले भनिन् ।

५ सय मेट्रिक टन धान खरिद गर्ने तयारी

बजारमा मार्सी चामलको बिक्री तथा व्यापार उत्साहजनक भएसँगै चालु आर्थिक वर्षका लागि कम्पनीले जुम्लाबाट ५ सय मेट्रिक टन धान खरिद गर्न लागेको सुवेदीले बताइन् ।

अहिले कम्पनीले सिधै चामल खरिद गरी बिक्री गरेको थियो । तर, आगामी दिनमा जुम्लाबाट नै धान खरिद गर्ने भएको छ भने कम्पनी आफैले प्रशोधन गर्ने योजना बनाएको उनको भनाइ छ ।

कम्पनीले धान खरिदको लागि प्रक्रिया पनि अगाडि बढिसकेको उनले बताइन् ।

‘कम्पनीले पहिले नै धान खरिद गर्ने योजना बनाएको थियो, तर बजारको अवस्था के हुन्छ भनेर परिक्षणको लागि ल्याएका हौं,’ उनले भनिन् ।

नेपालका अनौठा रैथाने धानः मार्सी, लैला-मजनुदेखि मोही तल्सिङसम्म

साथै, आगामी दिनमा ल्याउने धानको उपलब्धता, मूल्यलगायत अन्य धेरै कुराले फरक पार्न सक्ने उनको बुझाइ छ ।

हाल ५ क्विन्टल ल्याउने तयारी गरेको छ । जसमा जुमलामा पनि कतिको उपलब्ध हुन्छ त्यही अनुसारको कम्पनीले परिणाम निर्धारण गर्नेछ । कम्पनीले प्रतिकेजी धानको मूल्यको १ सय २ रुपैयाँ तोकेको उनले जानकारी दिइन् ।

यसरी चर्चित भयो मार्सी

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएसँगै मार्सीको चर्चा चुलिएको हो ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले मेडिकल कलेज व्यवसायीको घरमा मार्सी चामल खाएको कुराले विवाद सिर्जना गरेसँगै सदन र सडकमा यसको चर्चा बढेको छ । यो चर्चाले काठमाडौंमा मार्सी चामलको माग ह्वात्तै बढाएको छ ।

मार्सी चामलको ग्राहकबाट माग आउन थालेपछि भाटभटेनी,बिगमार्ट तथा अनलाइन सपिङ साइट किरानाडटकम यो चामल बिक्री गर्न थाले ।

नेगेटिभिटिमै व्यापारको अवसर देख्ने दुर्गा प्रसाईंः फागुनदेखि मार्सी बियर, माफिया ह्वीस्की छिट्टै

मार्सीको लोकप्रियता चुलिए पछि खाद्य संस्थाने नेपाल फुडको नाममा ब्राण्डिङ गरेर बिक्री शुरु गरेको हो ।  दुर्गा प्रसाईंले यही फागुनदेखि मार्सी ब्राण्डको बियर बजारमा ल्याउँदैछन् ।

के हो मार्सी चामल ?

मार्सी धानको खेति विशेष गरी जुम्लामा हुने गर्छ । त्यो मार्सी धानबाट तयार गरिने चामल रातो रङ्गको हुने भएकाले यसलाई अंग्रेजीमा रेड राइस पनि भन्ने गरिन्छ ।

यो चामल हिमालको तल्लो भेग र उच्च पहाडी भेगमा फल्ने गर्छ । यो बिमारीहरुका लागि पनि स्वस्थ्यकर मानिन्छ । यो चामल खाँदा धेरै समय भोक नलाग्ने विशेषता समेत रहेको छ ।

मार्सी धानको उत्पत्ति नेपाल मै भएको हो । अत्याधिक चिसो सहन सक्ने र पानीमा फल्ने भएकाले यसको नाम मार्सी राखेको विज्ञहरु बताउँछन् ।

मार्सी धान २ महिनाको ब्याड तयार गरेर हिलोमा रोपिन्छ । यो धानको बिउ रोपेदेखि काट्दासम्म करिब ८ महिना लाग्ने विज्ञ बताउँछन् । चिसो हावापानीमा रोपिने भएकाले यो धान फल्न धेरै समय लाग्ने गर्छ । यसको बोट करिब १ मिटर लामो हुने गर्छ ।

विज्ञका अनुसार जुम्लामा फल्ने मार्सीमा आइरन, स्टार्च, सेलेनियमको मात्रा अरु धानको भन्दा धेरै हुन्छ । यो धानको चामल अरु भन्दा स्वस्थ्कर र स्वादिलोपनि हुने गर्छ ।


पुष्प दुलाल