दुर्गा प्रसाईँले ओली र प्रचण्डलाई ख्वाएपछि मार्सी चामलको माग बढ्यो



काठमाडौं । नेपालभर पछिल्लो समय मार्सी चामलको चर्चा बढेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको  तस्बिर सार्वजनिक भएसँगै यो चर्चा चुलिएको हो ।

यो तस्बिर सामाजिक संजालमा भाइरल भयो ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले मेडिकल कलेज व्यवसायीको घरमा मार्सी चामल खाएको कुराले विवाद सिर्जना गरेसँगै सदन र सडकमा यसको चर्चा बढेको छ । यो चर्चाले काठमाडौंमा मार्सी चामलको माग ह्वात्तै बढाएको छ ।

विगत लामो समयदेखि मार्सी चामल बिक्री वितरण गर्दै आएको बानेश्वर स्थित एग्री सेन्टरका कर्मचारी नरेन्द्र अधिकारीले पछिल्लो समय काठमाडौंमा मार्सी चामलको माग बढ्दो क्रममा रहेको बताए ।

२ सय ५० रुपैयाँ प्रति केजीमा मार्सी चामल बिक्री वितरण गर्दै आएको उनले बताए । उनका अनुसार पछिल्लो ४ दिन यता मार्सी चामलको माग बढेको छ । केही समय अघि ५० क्वीन्टल चामल १ महिनामा बल्ल बिक्री हुने गथ्र्याे भने अहिले ४/५ दिनमै सकिने गरेको छ ।

‘अहिले हामीले ४ केजी १ हजार रुपैयाँमा नै बिक्री गरिरहेका छौँ र फ्रि होम डेलिभरीको पनि व्यवस्था गरेका छौँ,’ अधिकारीले भने ।

उनले जुम्लाबाट चामल ल्याउँदा प्रति केजी १ सय रुपैयाँ ढुवानी खर्च लाग्ने जानकारी दिए । आज भोलि दिन मै १ क्वीन्टल बढी चाम बिक्री वितरण भइरहेको उनी बताउँछन् ।

मार्सी चामलको ग्राहकबाट माग आउन थालेपछि भाटभटेनी,बिगमार्ट तथा अनलाइन सपिङ साइट किरानाडटकम यो चामल बिक्रीमा राख्ने तयारीमा छन् ।
पछिल्लो १५ दिनमा मार्सी चामलको माग खोज्दै जाने ग्राहक बढेको बुझाई स्टोरहरुको छ ।

के हो मार्सी चामल ?

मार्सी धानको खेति विशेष गरी जुम्लामा हुने गर्छ । त्यो मार्सी धानबाट तयार गरिने चामल रातो रङ्गको हुने भएकाले यसलाई अंग्रेजीमा रेड राइस पनि भन्ने गरिन्छ ।

यो चामल हिमालको तल्लो भेग र उच्च पहाडी भेगमा फल्ने गर्छ । यो बिमारीहरुका लागि पनि स्वस्थ्यकर मानिन्छ । यो चामल खाँदा धेरै समय भोक नलाग्ने विशेषता समेत रहेको छ ।

मार्सी धानको उत्पत्ति नेपाल मै भएको हो । अत्याधिक चिसो सहन सक्ने र पानीमा फल्ने भएकाले यसको नाम मार्सी राखेको विज्ञहरु बताउँछन् ।

मार्सी धान २ महिनाको ब्याड तयार गरेर हिलोमा रोपिन्छ । यो धानको बिउ रोपेदेखि काट्दासम्म करिब ८ महिना लाग्ने विज्ञ बताउँछन् । चिसो हावापानीमा रोपिने भएकाले यो धान फल्न धेरै समय लाग्ने गर्छ । यसको बोट करिब १ मिटर लामो हुने गर्छ ।

विज्ञका अनुसार जुम्लामा फल्ने मार्सीमा आइरन, स्टार्च, सेलेनियमको मात्रा अरु धानको भन्दा धेरै हुन्छ । यो धानको चामल अरु भन्दा स्वस्थ्कर र स्वादिलोपनि हुने गर्छ ।


क्लिकमान्डु